१२ पुस २०८१, शुक्रबार

इलाम चिनाउन व्यवसायी बने माधव


कन्याम

इलाम,२८ भदौ । सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका योगेन्द्र सुबेदी(माधव)को दुई दशक भलिबल खेलमा बित्यो । कहिले खेलाडी बनेर त कहिले प्रशिक्षक भएर । जुनसुकै पद र मर्यादामा रहेरपनि माधव भलिबलमा समर्पित रहनुभयो ।

चाहे गाउँको धुलोमा होस् वा सदरमुकामको अब्बल मैदान । भलिबलको सुइको पाउने वित्तिकै माधव हानिनु हुन्थ्यो । विद्यालयमा पढ्दा नै माधवको मनमा भलिबलले मन तानेको थियो । कक्षा ६ देखि भलिबल खेल्न शुरु गरेका उहाँ १० कक्षामा पुग्दा त माधव अब्बल खेलाडी बन्नुभयो । उच्चस्तरीय अध्ययनका लागि सदरमुकाम पसेपनि विदाको समय गाउँ पुगेर माधव भलिबलमा सामेल भएरै छाड्नुहुन्थ्यो ।

जबजब माधवको कक्षा बढ्दै गयो । तबतब, भलिबलको मोह पनि उचिलिदै गयो । स्नातक अध्ययनका लागि सदरमुकामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पस माधव भर्ना त हुनुभयो तर पढाइमा ध्यानै गएन । क्याम्पसको पढाइले भन्दा प्राङ्गणको भलिबलले तानेपछि पढाइ कसरी उभो लाग्थ्यो र !

माधवले क्याम्पस अध्ययनकै समयमा अन्तरक्याम्पसदेखि अन्तरजिल्लासम्मका प्रतियोगिताको कप्तानी समाल्नुभयो । भलिबलमा लत बसेपछि माधवले रेफ्री कोर्ष गर्नुभयो । दुई दशक भलिबलमा गुजार्दा पनि माधवले भविष्य भेट्नुभएन ।

पछि पारिवारिक सल्लाहअनुसार माधवले घरमै बसेर चियाबारीको काम गर्न थाल्नुभयो । दुई वर्ष गाउँमा समय गुर्जादा माधवलाई नयाँ काम गर्नुपर्छ भन्ने ‘हुटहुटी’चल्न थाल्यो । इलामे पहिचान बोकेका वस्तु गाउँमा नबिकेको देख्दा माधवलाई चित्त बुझेन । गाउँमा फल्ने अकबरे बजार नपाएर कुइएको र दूध नबिकेको देख्दा माधवको मनै खिन्न भयो ।

यतिकैमा माधव सदरमुकाममा पसल खोल्ने मोडमा पुग्नुभयो । “गाउँमा फलेको चिया र गाउँकै छुर्पी र खुर्सानी बेच्न सदरमुकाम सरे” सदरमुकाम सरेर माधवले चिया र छुर्पी मात्र बुच्नुभएन । सदरमुकाम छेउछाउकै किसानबाट दूध किनेर नगरबासीलाई दूध र दही बेच्न थाल्नुभयो । अहिले माधवले ५०÷६० किसानबाट दूध किनेर बजार क्षेत्रमा दूध र दही बेच्ने गर्नुहुन्छ ।

शुरुआतमै इलामे पहिचान चिया, अकबरे, छुर्पी) बेच्नुभएका उहाँलाई देशका शहर÷शहरमा यस्ता वस्तु बेच्न मन छ । अहिले पसलबाट काठमाडौं, चितवन र पोखरामा माधवले यी सामग्री पठाउनुहुन्छ । उहाँको व्यवसाय इलाम सदरमुकामस्थित माइपोखरी अर्गानिक एग्रिकल्चर सप्लार्यसबाटै इलाम चिनाउने योजना पूरा भएको छैन । उहाँलाई इलाममा उत्पादन भएको घ्यु खारेर देशका कुनाकुनामा लगेर चखाउने मन छ । “हाम्रा अर्गानिक प्रोडक्ट कसैले चिन्दैन । देशमै पनि इलामको चिया भनेर दाना (सिटिसी) चिया बेच्छन्” माधव भन्नुहुन्छ,“म देशका उत्कृष्ठ शहरहरुमा यस्ता वस्तुको प्रवद्र्धन गर्न खोज्दैछु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !