११ पुस २०८१, बिहीबार

पर्यटनमन्त्रीको छड्के निरीक्षण, काम नगर्ने कर्मचारीलाई हटाउने चेतावनी


योगेश भट्टराई

काठमाडौँ, १६ असार । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज मन्त्रालयमा छड्के निरीक्षण गर्नुभएको छ । मन्त्रालय मातहतका काम कारवाहीलाई परिणाममुखी बनाउन मन्त्री भट्टराईले आज मन्त्रालयका विभिन्न महाशाखाको छड्के निरीक्षण गर्नुभएको हो ।

पर्यटनमन्त्री भट्टराईले यही असार १४ गते मन्त्रालय मातहतका प्रमुखलाई बोलाएर आगामी आवको योजना कार्यक्रमबारे छलफल गर्दै कामलाई नतिजामुखी बनाउन र काम नगर्ने कर्मचारीलाई हटाउने चेतावनी दिनुभएको थियो ।

निरीक्षणको क्रममा केही शाखामा कर्मचारीको अनुपस्थिति रहेकोे पाइएपछि मन्त्री भट्टराईले कर्मचारी महाशाखाका प्रमुख रुद्रसिंह तामाङलाई कर्मचारी के कारणले उपस्थित हुन नसकेको हो, सो बुझी कर्मचारी नियमितरुपमा कार्यालय समयमा उपस्थिति हुने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । मन्त्री भट्टराईले कार्यालयको सरसफाइ र कार्यालयको लेआउटमा ध्यान दिनसमेत कर्मचारीलाई आग्रह गर्नुभयो ।

नेपाल सरकारको मन्त्री परिषद्को निर्णयबमोजिम कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न आवश्यक तयारी गर्नका लागि पनि मन्त्री भट्टराईले विभिन्न शाखाका प्रमुखलाई निर्देशन दिनुभएको छ । निरीक्षणपछि मन्त्री भट्टराईले पर्यटन मन्त्रालय मातहतमा रहेका सबै कार्यालयको क्रमैसँग निरीक्षण गर्ने बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !