१४ माघ २०७९, शनिबार

हत्कण्डा, मृगमरिचिका र यथार्थता


हत्कण्डा, मृगमरिचिका र यथार्थता

काठमाडौँ । नेपालमा भर्खरै भएको संसदीय चुनावमा देखापरेको मतदान रुझानले एउटै प्रवृत्ति र मनोविज्ञानको प्रतिनिधित्व गर्दैन किनभने मतदानमा निकै ठूलो विविधता छ । विशेषगरी शहरिया र ग्रामीण क्षेत्रको मनोबैज्ञानिक धरातलमा निकै ठूलो अन्तर देखापरेको छ । तर मतदानको प्रवृत्तिलाई सामान्यीकरण गर्दा यससंग केहि यस्ता सामाजिक, मनोबैज्ञानिक एवं भू–राजनीतिक प्रवृत्तिहरु विकास हुन सक्ने देखिएका छन्, जसको गहिरिएर अध्ययन गर्न र यसबाट शिक्षा लिन निकै जरुरी देखिन्छ ।

नेपालमा भर्खरै भएको संसदीय चुनावमा देखापरेको मतदान रुझानले एउटै प्रवृत्ति र मनोविज्ञानको प्रतिनिधित्व गर्दैन । मतदानमा निकै ठूलो विविधता छ ।

बाहिर देखिएको तस्विर ……..

१. परम्परागत दलहरुप्रति शहर-बजारमा जुन स्तरको आक्रोस र घृणा छ, यसको तुलनामा ग्रामीण जनजीवन स्थिर देखिन्छ । शहरी क्षेत्रमा दलका उम्मेदवारहरुका विरुद्धमा मतदान सोझिनु र यो तहको आक्रोस गाउँमा नदेखिनुबाट यो विरोधाभाष देखिएको छ । यसका पछाडि खासगरी ३ प्रकारका कारणहरु रहेका छन् । पहिलो कारण ग्रामीण क्षेत्रमा प्रतिक्रिया दिन सक्ने सक्रिय युवा जनसंख्याको न्यूनता हो । दोश्रो र तेश्रो कारणमा चेतनास्तरको अन्तर तथा प्रविधि उपयोगको व्यापक प्रभाव देखापरेका छन् ।

२. मतदानको दोश्रो रुझान आक्रोस र घृणाको मनोविज्ञानमा आधारित रहेको छ । राष्ट्रियता, देशको सुरक्षा र भौगोलिक अखण्डता लगायतका मुद्दाहरुमा नेपाली जनमत हेर्ने हो भने यसको ९० प्रतिशत भन्दा ठूलो हिस्सा स्पष्ट छ । जन्मको आधारको नागरिकता, एमसीसी, एसपीपी, खुला सीमाना, ईण्डियाद्वारा भूमि अतिक्रमण, १२ बुँदेका नाममा विदेशीहरुद्वारा थोपरिएको व्यवस्था आदिका विरुद्धमा नेपालीहरु एक ठाउँमा छन् तर मत चाहिं यी मुद्दाहरुमा बोल्न नचाहेका वा पक्ष लिएका व्यक्तिहरुमा गएको छ ।

नेपाल संकट त्यहि पतनशील शक्तिको विश्व रणनीतिसंग जेडिएको संकट हो । यो यथार्थतालाई नबुझ्ने दलालहरुको सपना मूर्खताको पराकाष्ठा हो ।

यसबाट २ वटा कुराहरु बुझिन्छन् । पहिलो कुरा के हो भने शहरिया वर्गले यतिबेला स्थापित परम्परागत दलहरुसंग बदला मात्र चाहेको छ, यो भन्दा अगाडिको कुरा अहिले सोंच्दैन । दोश्रो कुरा हो, दिग्भ्रम । यो जमातको कुनै दृष्टिकोण र गन्तव्य छैन । यी मानिसहरु सामुन्नेका तामझाममा बहकिएका छन् । राम्रो हो कि नराम्रो, समस्यामा केन्द्रित हो कि नाराबाजी, ठोस आन्दोलन हो कि उत्तेजना, संघर्ष हो कि उपयोग भन्ने कुराहरुमा ध्यान दिने रुची भएको देखिंदैन । चेतनास्तर र निराशा दुबैले यसमा काम गरेका छन् ।

३. अहिलेका मानिसहरु नितान्त यान्त्रिक र प्राविधिक भइसकेका छन् । मानिसहरु अनुभव, अध्ययन र विचार मन्थनबाट सिक्ने कुरामा निकै कमजोर छन् । मानवीय चेतनाका ठाउँमा प्राविधिक श्रेष्ठताको सिद्धान्त स्थापित गरिएको शिक्षा प्रणालीले नयाँ पुस्तालाई पूरै कामचलाउ बनाइदिएको छ । चतुरहरुले मानिसका यी कमजोरीहरुको भरपुर उपयोग गरेका छन् । मानिसलाई प्रभावित गर्नका लागि लाखौंको संख्या मानिसहरु संगठित गरिएका प्राविधिक प्लेटफर्महरु प्रयोग गरिएका छन् र पैसा हुनेहरु यसमा सफल भएका छन् ।

४. नेपालीहरुले देश र आफुमाथिको संकटलाई ठिक ढंगले बुझ्न सकिरहेका छैनन् । नेपाली समाज राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, नैतिक, मनोबैज्ञानिक सबै क्षेत्रमा संकटग्रस्त छ । सबै चिजका जगहरु भत्किएका छन् । देशलाई यतिबेला समग्र क्षेत्रको एकमुष्ठ समाधान चाहिएको छ । यसका लागि स्वदेशी चिन्तन, विचार, मूल्यसंग जोडिएको लक्षको खाँचो छ तर चर्मराउँदैै गएको व्यवस्था जोगाउन दलाल वर्गले पुस्ता, शासकिय स्वरुप, जातीय क्लस्टर जस्ता बेतुकका मुद्दाहरुमा घुमाउन खोजिरहेको छ ।

नेपाली समाज राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, नैतिक, मनोबैज्ञानिक सबै क्षेत्रमा संकटग्रस्त छ । सबै चिजका जगहरु भत्किएका छन् । देशलाई यतिबेला समग्र क्षेत्रको एकमुष्ठ समाधान चाहिएको छ ।

राम्रो काम गर्ने उमेरले होइन, दिमागको सोंचले हो । सोंचको प्रतिनिधित्व देशभक्ति र जिम्मेवारीबोधले गर्छ । विदेशीहरुले थोपरेको सारतत्वमा मानिसहरुको ध्यान केन्द्रित नहोस् भनेर औचित्यहिन मुद्दामा घुमाईरहने तिनीहरुको रणनीति हुन्छ । कहिले बहुदलीयता, कहिले शान्ति प्रक्रिया, कहिले राज्य पुनर्संरचना, कहिले संविधान, कहिले संघीयतामा घुमाउँदै अहिले दलालहरु पुस्ता, शासकीय स्वरुप र व्यवस्था कि अवस्था जस्ता वाहियातमा मुद्दामा ओर्लेका छन् । संकट नबुझ्नेहरु यसको शिकार भइरहेका छन् ।

दलालहरुको छट्टुगिरी र अवसानको चरण …..

दलाल वर्ग छट्टु हुन्छ । त्यसका लागि पर्याप्त श्रोत–साधनहरु जुटाईएको हुन्छ । पुष्पकमल र बाबुरामले जनवादको सपनामा हजारौं अबोध नेपालीहरुको शिकार गरेर संसदीय व्यवस्थालाई नै जनवादको एउटा चरणका रुपमा प्रस्तुत गरी आफ्नो अपराधिक चरित्र लुकाउन खोजेझैं भ्रष्टाचारको चर्को विरोध गरेर मत बटुलेकाहरुले माओवादीका जस्तै अमूर्त कुरा गर्नेछन् । भ्रष्टाचारको विरोध गरिनेछ तर कुनै पनि भ्रष्टाचारीहरुको नाम किटान गरेर कार्वाहीका लागि ठोस प्रक्रिया अगाडि बढाइने छैन ।

चुनावमा जोसुकैले जितुन्, व्यक्तिगत रुपमा एकाध अपवाद छोडेर दलीय रुपमा कसैले पनि देशको भू–राजनीतिक संकटको पछाडि रहेका कारणहरुका बारेमा स्पष्ट कुरा गर्ने छैनन् । आर्थिक रुपमा देश अधोगतितिर जानुको एकमात्र कारण खुला बजार अर्थनीति हो र देश विकासका लागि राज्य संरक्षित स्वदेशी अर्थतन्त्र अपरिहार्य छ भन्ने छैनन् । नक्कली जन्मको आधारमा विदेशीहरुलाई दिईएका नागरिकताहरु खारेज गर्ने प्रस्ताव कसैले पनि लग्ने छैनन् । न त दलाल व्यवस्थाको विरोध हुनेछ ।

आर्थिक रुपमा देश अधोगतितिर जानुको एकमात्र कारण खुला बजार अर्थनीति हो र देश विकासका लागि राज्य संरक्षित स्वदेशी अर्थतन्त्र अपरिहार्य छ भन्ने छैनन् ।

सौदाबाजीमा कुरा नमिलेको अवस्थामा बाहेक कसैले इमान्दार प्रतिपक्षको भूमिका खेल्ने छैनन् । सत्तामा जानका लागि सबैका वीचमा लेनदेन हुनेछ । अमूर्त र अस्पष्ट रुपमा भ्रष्टाचारको विरोध गर्नु बाहेक किटान गरेर कसैले कसैलाई भ्रष्टाचारी भन्ने छैनन् । स्वदेशमा काम गर्न नपाएर विदेश पलायन हुनेहरु कोही पनि घर फर्किने वातावरण बन्ने छैन । न त शिक्षा र स्वास्थ्य सेवाको राष्ट्रियकरण गर्ने कुरा उठ्नेछ न सबै मन्त्रालयका नीतिहरु एनजिओहरुले बनाउने विदेशी शासनको अन्त्य हुनेछ ।

देश भाँडिएको सत्तामा रहेका दलालहरुको कारणले मात्र होइन । व्यक्ति त ब्यवस्थाको कचरा (बाई प्रोडक्ट) हो । व्यक्तिलाई राज्यको यन्त्र संरचना (मेकानिज्म) ले चलाएको हुन्छ । यस्ता धेरै यन्त्र संरचनालाई एउटा ढाँचा (मेसिनरी) ले नियन्त्रण गरेको हुन्छ । ढाँचालाई व्यवस्थित गर्ने पद्धति हुन्छ र त्यो पद्धतिलाई ठोस सोंच, विचार र मूल्यले निदेर्शित गरेको हुन्छ । कुनै पनि राज्य प्रणालीको जगमा यहि सोंच, विचार र मूल्य हुन्छ । मानिस यसको टुप्पो हो । टुप्पोलाई छाँटेर मात्र जरो सुक्दैन । त्यसको ठाउँमा अर्को निस्कन्छ ।

दलाल तप्काले हामीलाई टुप्पो, पात र हाँगामा घुमाइरहेको छ । राज्य प्रणालीको मोडेलमा फसाइरहेको छ । समाधानको लडाईं यसको जरोसंग हो । राज्य व्यवस्थाको अन्तर्वस्तुसंग हो, मोडेल र पात्रसंग मात्र होइन । नव–उदारवाद र खुला बजार अर्थतन्त्र भनेकै भ्रष्टाचार हो । चुनाव माफियाहरुको कब्जामा कसरी पुग्यो ? शिक्षा, स्वास्थ्य जस्ता नागरिकहरुका जन्मसिद्ध अधिकारको यस्तो व्यापारीकरण किन भयो ? किन लुटेराहरु दण्डबाट मुक्त छन् ? यी सबै समस्याको बिउ राज्य व्यवस्थाको सिद्धान्तमा छ, व्यक्तिमा होइन ।

संकटमा अँध्यारो पाटो मात्र हुँदैन, उज्यालो पाटो पनि हुन्छ । समाधान नभएको कुनै कुरा समस्या बनेर आउँदैन । कुरुपको अस्तित्व भएपछि मात्र सुन्दरताको भाव विकास हुने हो । स्त्रीलिंगको प्रसव वेदना नयाँ जीवनसंग जोडिएको हुन्छ । दलीयता, लोकतन्त्र जस्ता फाल्तु पदावलीहरुलाई ढाल बनाएर देश भाँड्ने दलाल वर्ग उत्थानको उत्कर्षमा पुगेर अवसानको चरणमा प्रवेश गरिसकेको छ । यस पटकको चुनावमा पुस्ता र भ्रष्टाचार विरोधको नाममा जुन तामझाम देखियो, यो साम्राज्यवादको अन्तिम प्रयोग हो ।

संकटमा अँध्यारो पाटो मात्र हुँदैन, उज्यालो पाटो पनि हुन्छ । समाधान नभएको कुनै कुरा समस्या बनेर आउँदैन । कुरुपको अस्तित्व भएपछि मात्र सुन्दरताको भाव विकास हुने हो ।

साम्राज्यवादले आफ्ना दलालहरुलाई प्रयोग गरेर कहिले यो दल कि त्यो दल भनेर घुमायो । कहिले राजतन्त्र कि गणतन्त्र भनेर घुमायो । कहिले सिंहदरबार कि प्रदेश भनेर घुमायो । जातीयता, भाषा, धार्मिक आस्था, क्षेत्र, लिंग सबै हतियार प्रयोग भए । तर इण्डो–पश्चिमा साम्राज्यवादले बनाएको रणनीति सर्लक्क अघि बढेन । संविधान जारी गराउँदा पनि सोंचे जस्तो वातावरण नबन्दा आफ्नो अनुकूलको समीकरण बनाउनका लागि रातारात कसैलाई जोड्ने र कसैलाई फोर्ने कदमहरु चालिए । तर पनि घ्यु निस्केन ।

यसबाट शिक्षा लिएर साम्राज्यवादीहरुले नयाँ प्रयोग सुरु गरेका छन् । यो प्रयोगमा नेपालीहरुलाई पुस्ताको बहस, शासकीय स्वरुपको विवाद, व्यवस्था कि अवस्थाको परिवर्तन, सेलिब्रिटी प्रोजेक्ट, अक्सफोर्डमा पढेको हो कि होइन जस्ता बेतुकका जार्गनहरुका वरिपरी विभाजन गर्न खोजिएको छ र २०६३ सालपछि उठाउन लगाईएका साम्प्रदायिक र विखण्डनवादी मुद्दाहरुलाई सम्बन्धित समुदायभन्दा बाहिरका व्यक्तिहरुबाट उठाउन लगाउने प्रपञ्च मिलाइएको यथार्थता स्पष्ट रुपमा देख्न सकिन्छ ।

दलीयता, लोकतन्त्र जस्ता फाल्तु पदावलीहरुलाई ढाल बनाएर देश भाँड्ने दलाल वर्ग उत्थानको उत्कर्षमा पुगेर अवसानको चरणमा प्रवेश गरिसकेको छ । यस पटकको चुनावमा पुस्ता र भ्रष्टाचार विरोधको नाममा जुन तामझाम देखियो, यो साम्राज्यवादको अन्तिम प्रयोग हो ।

तर नेपाल र नेपाली विरोधि कुतत्वहरुको यो अन्तिम र असफल प्रयास हो । सत्ता विदेशी शक्तिहरुले बोकेका भ्रष्टाचारी दलालहरुको कब्जामा छ । बाहिर देखिने यो रुपलाई मात्र हेर्ने हो भने यिनीहरु निकै बलवान जस्ता लाग्छन् । संक्रमणकालीन तरलताको छिनोफानो बाहिर देखिने रुप र आकारले गर्दैन यसको निर्धारण भित्रभित्र अगाडि बढिरहेको समाजको विकास प्रक्रियाले गर्छ । मानिसको इच्छा वा आकांक्षालाई सञ्चालन गर्ने मनोगत नियमभन्दा बाहिरको वस्तुगत संसारलाई सञ्चालन गर्ने नियमहरु बलवान हुन्छन् ।

नेपालको वर्तमान भू–राजनीतिक अवस्थामा २ वटा कारणले विदेशी दलालहरु असफल भएर समाप्त हुनेछन् । पहिलो कारण देशको समस्याको प्रकृति हो । अहिलेको समस्या सामान्य समस्या नभएर संकट हो । संकट भनेको राज्य प्रणालीको जगै भत्किएको अवस्था हो । यसको जगै भत्किएको हुनाले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, नैतिक एवं मनोबैज्ञानिक सबै क्षेत्र अस्तव्यस्त भएका हुन् । यसको समग्र र एकमुष्ट समाधानको खाँचो छ, भ्रष्टाचार र सुशासन जस्ता अधकल्चा पपुलिष्ट नारामा यसको समाधान छैन ।

त्यसैले, जसले बुझ पचाएर नेपालीहरुलाई तपशिलका अंशहरुमा बरालेर व्यवस्था जोगाउने दुस्वप्न देखिरहेका छन्, ती केही महिना कमण्डलु बोक्ने फुस्रा जोगीहरु हुन् । यस्तै उट्पट्याङ कुरा गरेर पहिलो संविधानसभामा अप्रत्यासित सिट संख्या ल्याएपछि आगामी ४० बर्षसम्म कसैले सरकार बनाउने सपना नदेख्न घुर्की लगाएका वावुराम अहिले अस्तित्व रक्षाका लागि पुष्पकमलका टाङमुनी आश्रय लिन पुगेका छन् । व्यवस्थाको संकटलाई लुकाउन अवस्थाको गफ चुट्नेहरुको आश्रय कांग्रेसको टाङ हो ।

नेपालको वर्तमान भू–राजनीतिक अवस्थामा २ वटा कारणले विदेशी दलालहरु असफल भएर समाप्त हुनेछन् । पहिलो कारण देशको समस्याको प्रकृति हो । दलालहरुको अवसान भइछाड्ने दोश्रो कारण हो, विश्वको भू–राजनीति ।

दलालहरुको अवसान भइछाड्ने दोश्रो कारण हो, विश्वको भू–राजनीति । जुन साम्राज्यवादी शक्तिहरुले आफ्नो रणनीति कार्यान्वयन गर्नका लागि नेपालको भू–राजनीति गिजोलेका छन्, तिनीहरु मरणासन्न दिशामा धकेलिएका छन् । युक्रेन संकटपछि तिनीहरुको एक ध्रुवीयता समाप्त भएको मात्र छैन कि अस्तित्व रक्षाको चुनौति पनि खडा भएको छ । ती शक्तिहरु युुक्रेनमा रुससंग मात्र नभई चीन, उत्तर कोरिया, इरान, सर्विया, सिरिया, लेवनान सबैतिर फस्दै गएका छन् तर जित्न कतै सकिरहेका छैनन् ।

तिनीहरुमा पहिलेको सामर्थ्य बाँकी रहेको भए युक्रेनमैं जित्थे, चीनसंग भिड्थे, इरानमा हान्थे । आर्थिक मन्दीका कारणले पनि अब मनलाग्दो रकम बगाउने हालतमा पनि छैनन् । विश्वको समिकरण बहु–ध्रुवीयता र मौलिकतातिर अगाडि बढिसकेको छ । पश्चिमा विचार र व्यवस्था प्रणालीमाथि विश्वभरी चुनौती बढ्दै गएको छ । सिंगो पश्चिमा शक्तिहरुमाथि एक्लो रुस भारी भएको छ । कता कता निहुँ खोज्ने ? कता कता लगानी गर्ने ? नेपाल संकट त्यही पतनशील शक्तिको विश्व रणनीतिसंग जेडिएको संकट हो । यो यथार्थतालाई नबुझ्ने दलालहरुको सपना मूर्खताको पराकाष्ठा हो ।

नेपाल संकट त्यहि पतनशील शक्तिको विश्व रणनीतिसंग जेडिएको संकट हो । यो यथार्थतालाई नबुझ्ने दलालहरुको सपना मूर्खताको पराकाष्ठा हो ।

पतनको रफ्तारमा दौडिरहेकाहरु भन्दा ठूला समस्या भनेका हामी हौं, जो लक्ष्य र योजनाविहिन भएर असंगठित रुपमा बाँचिरहेका छौं । तिनीहरु प्रभावशाली भएर बलिया देखिएका होइनन्, हामी कमजोर हुँदा बलिया भएका हुन् । हाम्रो कमजोरी तिनीहरुको बल हो । विदेशीहरुको विचार र स्कूलिङले हामीभित्रको आत्मविश्वास गुमेको छ । आत्मविश्वास गुमेको मानिसमा विश्वास हुँदैन । जससंग विश्वास हुँदैन, त्यसले केहि गर्न सक्दैन । नेपालीहरुको मूलभूत समस्या यही हो, चुनावमा पुस्ता र अवस्थाको प्रहसन देखाउनेहरु एकाध दिन पाहुना भएर विदा हुन्छन् ।

*लेखक भरत दाहाल राजनीतिक विश्लेषक हुन् ।

यो पनि पढ्नुहोस्

हाम्रो देश र हामी भत्किंदै जानुका कारणहरुका बारेमा हामीले बहस किन गर्दैनौं ?

विश्वको भू–राजनीति युगान्तकारी उथलपुथलको दिशामा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !