७ मंसिर २०८१, शुक्रबार

कम्युनिष्ट पार्टीमा के को विधि ? के को पद्धति ?


केशव प्रसाद भट्टराई
केशव प्रसाद भट्टराई
केशव प्रसाद भट्टराई

काठमाडौँ, कार्तिक १८ । प्रधानमन्त्रीजी पनि कि मसक्क आँटेर निर्णय गर्नोस् ! सरकार स्थिर र जिम्मेवार छ भन्ने सावित गर्नोस् ! सक्नुहुन्न भने छोडेर जानोस् !

१. नेकपाका केही नेताहरू निरन्तर विधि र पद्धतिको हावादारी कुरा गरिरहेका छन् ।
तर कम्युनिष्ट पार्टीमा नेता नै विधि हुन् र नेतानै पद्धति हुन् ।
लेनिन, स्टालिन, माओ, ब्रेजनेभ, गोर्वाचोभ, सी जिन्पिङ्गदेखि ओली, प्रचण्ड सवैले आफ्नो व्यवहारबाट त्यसलाई सावित गरेका हुन् !

२. नेपालकै उदाहरण पर्याप्त छ – ओलीलाई सरकारको नेतृत्व चाहिएको, प्रचण्डलाई पुरानो एमालेको बलियो सुरक्षा कवच, जनाधार र राजनीतिक शक्ति !
दुई जना बसे आफ्ना आफ्ना मौजाको तर्फबाट निर्णय गरे जस्तै गरेर आपसमा पद बाँडे,
चुनावमा सहकार्य गरे, पार्टी एकता गरे !

दुवै पार्टीका हर्ताकर्ता सवै चुनावमा उठ्ने – चुनाव जित्ने सवाल थियो, सवैको स्वार्थ मिल्यो – कोही चुँक्क बोलेन,
सरकारमा जाने, सत्ता, शक्ति र सुविधामा राज गर्ने लोभ सवैका अघि थियो ।
राज्यको ढुकुटीमा भोग गर्ने र मोज गर्ने सपना पनि थियो ।
देलान र खाउँला भन्ने लोभले पनि काम गर्ने नै भयो ।
दुई जना बसे, मौजा बाँडे जस्तै, विर्ता हाँके जस्तै सवै अधिकार आफूसँग राखेर, आफ्नो पद सुरक्षित राखेर , निर्वाचित, मनोनित सबैकोको पद खोसे ।
कुन विधि र पद्धति थियो त्यो ?

३. कुन विधि र पद्धतिले चुनावी एकता र पार्टी एकीकरण भयो ?
राजनीतिक जीवनमा ठीक बेठीक, न्याय-अन्याय, हत्या, हिंसा सवै गरे होलान ।
ती आफ्न ठाउँमा थिए होलान्, तर हजारौँ हजारको रगत पसिनाले निर्माण भएको पार्टीलाई एकाएक मेट्ने, समाप्त पार्ने र नयाँ पार्टी गठन गर्ने कुराको निर्णय पार्टीको कुनै तहमा पनि छलफल र अनुमोदन भएको त देखिएन ।
प्रमुख नेता मण्डलको स्वार्थ मिल्यो, बस ।
कम्युनिस्ट पार्टीमा नेताले निर्णय गरे पछि सकियो ।
अनि कुन विधिले समान हैसियतका दुई अध्यक्ष बने, बनाइए ?
कुन राजनीतिक र संगठन सिद्धान्त थियो त्यो ?
विधि र पद्धति रे वा !

४. विचारको पार्टी रे, पार्टीलाई मार्ग दर्शन गर्ने विचार र दर्शन कहाँ हो कहाँ, सडक, पुल, ग्यास, जहाज, त्यही होइन , घोषणा पत्र !
स्कूल, कलेज, अस्पताल, सडक बाटो, रेल, कारखाना र पुल त वीर, चन्द्र, जुद्ध शमशेरहरूले पनि बनाए – खोले ।
पंचायतले पनि बनायो – खोल्यो, चलायो ।
सवाल सडक, पुल, स्कूल र अस्पतालको मात्रै होइन,
कुन वैचारिक धरातलमा उभिएर सरकारले, कुन विश्वास र मान्यतामा अडिएर त्यस्तो विकासको काम गर्ने ?
त्यो सवाल महत्वपूर्ण हो ।
सवाल कुन मूल्य स्थापना गर्न सरकारमा जाने ?
कुन मूल्यकोलागि पार्टी खोल्ने चलाउने भन्ने हो ?
कुन मूल्य रक्षाको लागि पार्टी एकीकरण भएको हो ?
त्यो जवाफ सहित सरकारमा गएको हो, पार्टीको वैचारिक आधार निर्माण गरेर पार्टी एक भएको हो ?
पहिला सत्ता र सरकार अनि विचार भन्नेहरूले दिने दल र सरकार यस्तै हो ।

५. पद लिने, शक्तिमा पुग्ने, सत्ता हाँक्ने, राज्यको ढुकुटीमा राज गर्ने, सुख सुविधा भोग्ने स्वार्थले एक भएको पार्टी र नेताहरू यस्तै हुन् !
यस्तो पार्टी फुटे के ?
जुटे के ?
एक वर्षदेखि रडाको गरिरहेका छन् !
यिनको कारण विकास, ठप्प छ ।
जनताको पीडा घट्नु भन्दा बढेको बढ्यै छ ।
यौटै उदाहरण पर्याप्त छ – किनेर पनि जनताले असारमा धानमा मल हाल्न पाएनन् ।
अव गहुँको सिजन आयो त्यस्तै !

६ . यिनको पालामा त बङ्गलादेशसम्मले सापट र पैँचो पनि पत्याएन !
छर छिमेकीले ऐंचो – पैंचो पनि नपत्याउनु भनेको ख्याल ख्याल हो ?
किन पत्याउनु ?
इलमी र पुरुषार्थीलाई पो पत्याउने त हुन् नी सवैले !
हिजो जन्मिएको, नेपाल भन्दा हर हिसाबले तन्नम बङ्गलादेशले मल कारखाना स्थापना गर्यो , देश विदेशमा मल निर्यात गर्दछ ,
अमेरिकाले विशेष राहत सुविधा दिए पछि बंगलादेशले र नेपालले एकै पटक गार्मेन्ट उद्योग शुरू गरे ।
आज ‘मेड इन बङ्गलादेश’ लेखिएका लुगाहरू वेलायत, अमेरिका, लगायत संसारका कुना कुनामा पाइन्छन् , नेपाल ???

७. अपवाद बाहेक यस्तै हुन् कम्युनिष्ट !
नेपालका झन् !
यस्तै हुन्छ कम्युनिस्टले दुई तिहाई पाए पछि !
कम्युनिष्टलाई दुई तिहाईदिए पछि !
कम्युनिष्टले विकास र समृद्धि दिने विश्वास गर्नेले दुख पाउँछन नै ।

८. यिनले राजा सहेनन् ।
हिन्दु राष्ट्र सहेनन् ।
संविधान सहेनन् ,
प्रजातन्त्र र निर्वाचित सरकार सहेनन् ।
राज्यलाई जातीय द्वन्द्वमा हुरेले ।
राज्यको एकताको आधार भत्काए !
विकासको सिद्धान्त र नीति लथालिङ्ग भताभुङ्ग ।
विचारहीन र दृष्टिहीन हुन पुगे ।
राष्ट्र र विशाल युवा जमातलाई पनि त्यस्तै बनाए ।

९. कसैलाई सहन्नन् यिनले !
सवैलाई प्रधान मन्त्री, मूख्यमन्त्री, मन्त्री हुनु छ !
राष्ट्रपति, प्रदेश प्रमुख, राजदुत, न्यायाधिश, संवैधानिक निकाय प्रमुख हुनु छ ।
राज्यको ढुकुटीको मालिक हुनु छ ।
एक छत्र स्वामित्व लिनु छ ।
ढुकुटीमा राज गर्नु छ !

१०. आज प्रधानमन्त्री हटाइन्छ, भोली हटाइन्छ ।
आजै अध्यक्ष हटाउने , भोली हटाउने !
आजै मन्त्री परिषद पुनर्गठन भोली नै पुनर्गठन ।
कसले कसको भरोसामा काम गर्ने ?
कुन विश्वासमा काम गर्ने ?
किन जोखिम लिने ?
किन दीर्घकालीन राष्ट्रिय हितमा तर तत्कालका लागि अलोकप्रिय निर्णय लिने ?
यिनका खेताला हुन् प्रधानमन्त्री र मन्त्रीहरू ?

११. हटाउने हुती पुगे हटाउ न विधि पुर्याएर !
के छ आठ महिनादेखि भैलो खेलिरहेछौ ?
प्रधानमन्त्रीजी पनि कि मसक्क आँटेर निर्णय गर्नोस् !
सरकार स्थिर र जिम्मेवार छ भन्ने सावित गर्नोस् !
कुरा मात्रै होइन कम गरेर देखाउनुस् !
सक्नुहुन्न भने छोडेर जानोस् !
यो गतिछाडा रत्यौली हेर्न जनतालाई वाध्य पार्ने अवस्था अव लम्बिन नदिनोस् !
सर्वशक्तिमान पार्टी अध्यक्ष र दुई तिहाई प्रधानमन्त्री हुँदा पनि न पार्टी पकडमा न सरकार !
अब के भए तपाइँले राम्रोसँग सरकार र पार्टी चलाउनु हुन्छ प्रधानमन्त्रीज्यू ?
के पुगेन तपाइँ मसक्क आँटेर आफ्ना पार्टीका गतिछाडा नेता र मन्त्रीलाई विदा गर्न !
कस्तो राजनीतिक लाचारी र कायरता हो हो ?
यसरी किन प्रधानमन्त्री रहिरहनु पर्यो ।

*केशव प्रसाद भट्टराई लेखक तथा राजनीतिक विश्लेषक हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !