७ जेष्ठ २०८१, सोमबार

निलम्बित अस्ट्रेलियाली कप्तान स्मिथ क्यारेबियन लिगमा


steve_smith

१० साउन, ब्रिजटाउन, बारबाडोस ।   निलम्बित अस्ट्रेलियाली क्रिकेट कप्तान स्टीभ स्मिथ क्यारेबियन प्रिमियर लिगमा समावेश बारबाडोस ट्राइडेन्ट्स टिममा आबद्ध भएका छन् । उनले बंगलादेशी अलराउन्डर शकिब अल हसनको स्थानमा खेल्नेछन् ।

दक्षिण अफ्रिकासँग गत मार्चमा खेलिएको टेस्ट क्रिकेटमा बल बिगारेको आरोप लागेपछि क्रिकेट अस्ट्रेलियाले स्मिथलाई १२ महिनाका लागि निलम्बन गरेको थियो ।

ब्याटिङतर्फ विश्व बरियताक्रममा नं. १ मा रहेका स्मिथमाथि आफ्नो मुलुक वा आफ्नो प्रान्तका लागि पहिलो श्रेणीको क्रिकेट समेत खेल्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ, तर उनलाई क्लब स्तरका खेल खेल्ने अनुमति छ । हालैमात्र उनले क्यानडामा सम्पन्न टि२० क्रिकेट खेलेका थिए ।

बारबाडोस ट्राइडेन्ट्सले छ टोली सहभागी टी२० क्रिकेटमा स्मिथले खेल्ने पक्का भएको र हस्ताक्षर पनि भइसकेको घोषणा गरेको छ । यो क्यारेबियन क्रिकेट सिरिज सन् २०१३ बाट सुरु भएको छ ।

ट्राइडेन्ट्सका प्रशिक्षक रोबिन सिंहले बंगलादेशी अलराउन्डर शकिब अल हसन खेल्न नपाउँदा दुःख लागेको भन्दै स्मिथलाई ल्याउन पाउँदा आफ्नो टिम सशक्त बनेको प्रतिक्रिया दिए ।

ट्राइडेन्ट्सले अगस्ट १२ मा गुयनाको अमेजन वारियर्ससँग पहिलो खेल खेल्नेछ । (एपी/रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !