७ पुस २०८१, आइतबार

प्रख्यात क्रिकेटर ब्रायन लारा नेपालमा


ब्रायन लारा

काठमाडौँ । वेष्टइण्डिजका प्रख्यात क्रिकेटर ब्रायन लारा नेपाल आएका छन् । उनी आज बिहान काठमाडौँ ओर्लिएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीले स्वागत गरे ।

लारा क्यानको निमन्त्रणामा काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण हेर्न नेपाल आएका हुन् । वेष्टइन्डिजका पूर्वकप्तानसमेत रहेका उनले एनपिएलका केही खेल हेर्ने र खेलाडीहरुसँग साक्षात्कार गर्ने क्यानले जनाएको छ ।

क्रिकेटर लाराले वेष्टइण्डिजका लागि सन् १९९० देखि २००७ सम्म राष्ट्रिय टोलीबाट खेलेका थिए । उनले वेष्टइण्डिजका लागि एक सय ३१ टेष्ट खेल खेलेका छन् । एक सय ३१ खेलबाट लाराले ११ हजार नौ सय ५३ रन बनाएका थिए । उनले टेस्ट क्रिकेटमा ३४ शतक प्रहार गरेको छ भने ४८ अर्धशतक प्रहार गरेका छन् ।

उनले टेस्ट क्रिकेटमा एक खेलमै चार सय रन प्रहार गरेर विश्व रेकर्डसमेत बनाएका छन् । लाराले सन् २००४ अप्रिल १२ मा इङ्ग्ल्यान्डविरुद्धको टेस्ट क्रिकेटमा अविजित रहँदै चार सय रन बनाएका थिए ।

त्यसैगरी लाराले वेष्टइण्डिजका लागि दुई सय ९९ एक दिवसीय खेल खेलेका छन् । एक दिवसीय क्रिकेटमा १९ शतक र ६३ अर्धशतक प्रहार गर्दै उनले १० हजार चार सय पाँच रन जोडेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !