११ आश्विन २०८१, शुक्रबार

नेपालले क्यानडालाई ४ विकेटले हरायो


नेपाली क्रिकेट टीम

काठमाडौं । नेपालले क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको खेलमा लगातार दोस्रो जित हासिल गरेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज शनिबार भएको दोस्रो खेलमा नेपालले क्यानडालाई ४ विकेटले हराएको हो ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको दोस्रो खेल जितमा लागि नेपालका तीन ब्याट्सम्यान कप्तान रोहित पौडेल, देव खनाल र अनिल शाहले अर्धशतक बनाए ।

नेपालले क्यानडाविरूद्धको तीन एकदिवसीय खेलको सिरिज जितेको छ । क्यानडाविरुद्धको आज भएको दोस्रो खेलमा चार विकेट लिएर नेपालले उक्त सिरिजमाथि कब्जा जमाएको हो ।

खेलमा टस जितेर क्यानडाले पहिला फिल्डिङ गर्ने निर्णय गर्यो । आज भएको खेलमा क्यानडाले प्रस्तुत गरेको २८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका तीन खेलाडीले अद्र्धशतकीय पारी खेले । कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ८७ रन बनाए । उनले एक सय एक बल खेल्ने क्रममा चार छक्का र आठ चौका प्रहार गरे । यस्तै देव खनालले ८१ बलमा ७६ रन बनाए । उनले त्यसक्रममा दुई छक्का र सात चौका हाने । यसैगरी अनिलकुमार साहले तीन छक्का र सात चौकासहित ५० रनको योगदान दिए । भीम सार्कीले २३, पवन शर्राफले १४ र आशिफ शेखले १० रन बनाए ।

बलिङतर्फ क्यानडाका हर्ष थाकर र ईश्वरजोत सोहीले दुई–दुई तथा शाद विन जाफर र दिलप्रित बज्वाले एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ८५ रनको योगफल बनायो । क्यानडाका लागि ओपनर आरोन जोन्सनले सर्वाधिक ६५ रन जोडे । उनले ६२ बलमा १० चौका र दुई छक्का हाने । यस्तै नवनित धलिवालले ४६, श्रेयश मोभ्वाले ४०, पर्गत सिंहले ३८, निकोलस कीर्तनले २०, उदय भगवान्ले २०, दिलप्रित बज्वाले १९ तथा शाहिद अहमदजाइलाईले १३ रन बनाए ।

बलिङतर्फ नेपालका लागि रोहितकुमार पौडेल र कुशल मल्लले दुई–दुई तथा सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले एक–एक विकेट लिए । यसअघि बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले क्यानडामाथि रोमाञ्चक जित हासिल गरेको थियो ।

नेपालले क्यानडासँग पहिलो पटक एकदिवसीय सिरिज खेलेको हो । यसअघि बिहीबार खेलिएको पहिलो खेलमा नेपालले क्यानडामाथि ७ रनको रोमाञ्चक जित हासिल गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !