५ जेष्ठ २०८१, शनिबार

नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य


रोहितकुमार पौडेल

काठमाडौं । आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको हो ।

कप्तान गुल्सन झा र रोहित पौडेलको अर्धशतकप्रेरित नेपालले आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनलमा ओमानविरुद्ध १८५ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

गुल्शनले सर्वाधिक ५४ रनको योगदान दिए । उनले २५ बलमा चार छक्का र पाँच चौकाको मद्दतमा ५४ रन बनाए । नेपालले पाँचौँ विकेटका रुपमा गुल्शनलाई गुमाएको थियो । त्यस्तै कप्तान पौडेलले अविजित ५२ रन बनाए । उनले ३७ बल खेल्दै पाँच चौका र दुई छक्काको मद्दतमा ५२ रन बनाए ।

नेपालले पहिलो विकेटका रुपमा आशिफ शेखलाई गुमायो । छ बल खेलेको आशिफले एक छक्का प्रहार गरे । बिलाल खानको तेस्रो ओभरको चौथो बलमा आसिफ शेख कश्यप प्रजापतिबाट क्याच आउट भए ।

त्यस्तै नेपालले दोस्रो विकेटका रुपमा सन्दीप जोरालाई गुमायो । सन्दीपले १० रन बनाए । उनले १३ बलमा एक चौका प्रहार गरे । जिसन मक्सुदको बलमा सन्दीप आउट भएका हुन् ।

यसैगरी कुशल भुर्तेललाई नेपालले तेस्रो विकेटका रुपमा गुमायो । कुशलले ३१ रन बनाए । उनले २२ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । उनी अकिब इलियासको बलमा आउट भए । चौथो विकेटका रुपमा अकिब इलियासले कुशल मल्ललाई तीन रनमा आउट गरे ।

त्यसैगरी विवेक यादवले तीन रन बनाएर आउट भए भने करन केसिले अविजित २० रन जोडे । बलिङतर्फ ओमानका बिलाल खानले तीन विकेट लिए भने अकिब इलियासले दुई विकेट लिए । त्यस्तै जिसन मक्सुदले एक विकेट लिए । यसअघि भएको समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो । अहिले ओमान जवाफी ब्याटिङमा उत्रेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !