११ बैशाख २०८१, मंगलबार

अन्तत: यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा


नेपाली क्रिकेट टीम

काठमाडौँ । अन्तत: आइसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको छ ।

आज र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा नेपालले डकवर्थ लेविस पद्धतिका आधारमा यूएईलाई ९ रनले पराजित गर्दै जिम्बावेमा आयोजना हुने एकदिवसीय विश्वकप प्रतियोगितामा छनोटको यात्रा तय गरेको हो ।

युएईले दिएको ३११ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले ४४ ओभरमा ६ विकेटको २६९ रन बनाएको थियो । त्यसपछि पर्याप्त प्रकाश नभएका कारण अम्पायरले खेल रोकेपछि नेपाल विजयी भएको हो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले छ विकेटको क्षतिमा ३११ रन विशाल लक्ष्य नेपालसामु प्रस्तुत गरेको थियो । युएईका लागि आशिफ खानले ४२ रनमा १०१ रनको योगदान दिए भने वृृत्य अरविन्दले ९४ र कप्तान मोहम्मद वासिमले ६७ रनको योगदान गरे ।

नेपालका लागि कुशल भुर्तेल, आरिफ शेख, भीम सार्की र गुलशन झाले अर्धशतकीय इनिङ खेले । कुशलले ५० रन बनाए भने आरिफले ५२ रन तथा भीमले ६७ रनको योगदान दिए । गुलशन ५० रनमा अविजित रहे ।

त्यसैगरी कप्तान रोहित पौडेल १६ रनमा आउट हुँदा कुशल मल्लले पाँच रन जोडे । दीपेन्द्रसिंह ऐरी १० रनमा अविजित रहे । युएईका जुनेद सिद्दिकीले तीन विकेट लिए । त्यस्तै आयान अफजल खानले दुई तथा जाहोर खानले एक विकेट झारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर तीन सय १० रन बनाएको थियो । युएईका लागि आसिफ खानले शतकीय इनिङ खेले । विस्फोटक ब्याटिङ गरेका उनले ४२ बलमा ११ छक्का र चार चौकासहित अविजित एक सय एक रन बनाए ।

यस्तै वृत्य अरविन्दले ९४ रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान मुहमद वासिमले ६३ रन बनाए । त्यसैगरी रोहन मुस्तफा २०, सिपी रिजवान सात, आर्यन लाक्रा छ र आयन अफजल खान तीन रनमा आउट भए । नेपालका दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । ललित राजवंशी, सन्दीप लामिछाने र सोमपाल कामीले समान एक–एक लिए ।

सन् २०१९ देखि सुरुआत भएको आइसीसी लिग–२ को निर्णायक मानिएको अन्तिम खेलमा नेपाल विजयी भएर शीर्ष तीनमा रहँदै आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट खेल्न पाउने भएको हो । नेपाल ३६ खेलमा १९ मा जित र १५ मा हारसहित ४० अंकका साथ तेस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !