१३ बैशाख २०८१, बिहिबार

आइसीसी लिग–२ : यूएईले नेपाललाई दियो ३११ रनको चुनौतिपूर्ण लक्ष्य


चुनौतिपूर्ण लक्ष्य

काठमाडौँ । आइसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाललाई ३११ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रनको योगफल तयार गर्यो । विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपालले ३११ रनको लक्ष्य पाएको हो ।

आसिफ खानको आक्रामक शतकमा नेपालले पहिलोपटक ३०० भन्दा बढीको चुनौतिपूर्ण लक्ष्य पाएको हो । यूएईका लागि आसिफ खानले शतकिय पारी खेले । आसिफले ४२ बल खेल्दै ४ चौका र ११ छक्काको सहयोगमा १०१ रन बनाए ।

कप्तान मोहमद वसिम र भिर्टिया अबिन्द्रले अर्धशतकीय पारी खेले । यस्तै वसिमले ४९ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ६३ रन बनाए । अबिन्द्रले १३८ बल खेल्दै ८ चौका र २ छक्काको सहयोगमा ९४ रन बनाए । यूएईका रोहन मुस्तफाले २० रन बनाए ।

नेपालका लागि दीपेन्द्रसिं ऐरीले ८ ओभरमा १९ रन खर्चेर दुई मेडनसहित दुई विकेट लिए । यस्तै ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले एक–एक विकट लिए । सन्दीपले १० ओभरमा ८०, सोमपाल कामीले ९ ओभरमा ७४ र गुल्शन झाले ६३ रन खर्चेका थिए ।

सन् २०१९ देखि सुरुआत भएको आइसीसी लिग–२ को अन्तिम खेल नेपालका लागि निर्णायक मानिएको हो । यस खेलमा नेपाल विजयी भए शीर्ष तीनमा रहँदै आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट खेल्न पाउने छ । यदि नेपाल युएईसँग पराजित भएको खण्डमा यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने छ । नेपाल पराजित भए नामिबियाले विश्वकप छनोट खेल्न पाउने छ ।

नेपाल लिग–२ मा ३५ मध्ये १८ मा जित र १५ मा हारसहित ३८ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । त्यस्तै नामिबिया ३९ अङ्क जोड्दै तेस्रो स्थानमा छ भने ३५ अङ्क जोडेको अमेरिका पाँचौँ स्थानमा छ । युएई ३५ खेलमा ३३ अङ्कका साथ छैटौँ स्थानमा छ ।

स्कटल्यान्ड ५० अङ्कका साथ शिर्ष र ओमान ४४ अङ्कका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगिसकेका छन् । पपुवा न्युगिनी ११ अङ्कका साथ तालिकाको अन्तिममा छ । नेपालले केहिबेरपछि जवाफी ब्याटिङ गर्ने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !