७ बैशाख २०८१, शुक्रबार

मैत्रीपूर्ण फुटबल : अञ्जनको एक गोलले नेपाल विजयी


अञ्जन विष्ट

काठमाडौँ । नेपाल र पाकिस्तानबीच त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी भएको छ । अञ्जन विष्टले नेपालको लागि एक गोल गरेसंगै नेपालले पाकिस्तानलाई पराजित गरेको हो ।

खेलको दोस्रो हाफको ८३ औं मिनेटमा बिष्टले नेपालको लागि गरेको एक गोल नै नेपालको लागि निर्णायक गोल सावित भयो । सुनिल बलको पासलाई सदुपयोग गर्दै अन्जनले गोल गरेका थिए ।

नेपालले घरेलु मैदानमा पाकिस्तानलाई १–० गोलअन्तरले पराजित गरेर विजयी भएको हो । यस जितसँगै नेपालले दशरथ रङ्गशालामा ५० औँ खेल पूरा गरेको छ । यसअघि दशरथ रङ्गशालामा सन् १९८४ मा आयोजना भएको पहिलो दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले औपचारिक खेल खेलको थियो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । अञ्जनको एक गोलसंगै पाकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको हो । उनको यो ११ औँ अन्तर्राष्ट्रिय गोल हो ।

नेपालका फुटबल खेलाडीहरुमा सर्वाधिक गोलकर्ताको सूचीमा बराबरी गर्न अञ्जनलाई अब दुई गोल मात्रै बाँकी रहेको छ । अहिलेसम्म सर्वाधिक १३ गोलको कीर्तिमान हरि खड्का र निराजन रायमाझीको नाममा रहेको छ ।

विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले प्रतिबन्ध फुकाएपछि झण्डै साँढे तीन वर्षपछि मैदान फर्किएको पाकिस्तान यो खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको हो ।

नेपालले पछिल्लो पटक पाकिस्तानसँग सन् २०१८ मा खेलेको थियो । बङ्गलादेशको ढाकामा भएको साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग २–१ गोलअन्तरले पराजित भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !