कास्की । विभागीय नेपाल आर्मीले गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक तालिकामा अन्तर फराकिलो बनाउँदै लगेको छ । आर्मीले आज बिहानसम्मको अद्यावधिक विवरणानुसार ६१ स्वर्ण, ३९ रजत र २८ कास्यसहित एक सय २८ पदक जितेर पदक तालिकाको शीर्षस्थानमा छ ।
आर्मीले सुरुआतदेखि नै आफ्नो अग्रता बनाएकामा पछिल्लो समय यसलाई फराकिलो बनाउँदै लगेको छ । पदक तालिकाको द्वितीय र तृतीय स्थानमा पनि विभागीय टोली अगाडि छन् । प्रदेशहरूले विभागीय टोलीलाई पछ्याइरहेका छन् ।
विभागीय नेपाल पुलिस क्लबले २३ स्वर्ण, १७ रजत र २५ कास्य सहित ६५ पदक जितेर आर्मीलाई पछ्याइरहेको छ । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले १६ स्वर्ण, २५ रजत र ३३ कास्यसहित ७४ पदक जितेर तृतीय स्थानमा छ ।
बागमती प्रदेश पदक तालिकाको चौथो स्थानमा छ । बागमती प्रदेशले १४ स्वर्ण, २२ रजत र २३ कास्य सहित ५९ पदक जितेको छ । आयोजक गण्डकी प्रदेशले हालसम्म १० स्वर्ण, आठ रजत र २० कास्य गरी ३८ पदक हात पारेको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले छ स्वर्ण, छ रजत र चार कास्यसहित १६ पदक जितेको छ ।
यसैगरी प्रदेश नं १ ले तीन स्वर्ण आठ रजत र २१ कास्यसहित ३२ पदक जित्दा मधेस प्रदेशले दुई स्वर्ण, तीन रजत र सात कास्यसहित १२ पदक जितेको छ । सुदूरपश्चिम प्रदेशले दुई स्वर्ण, एक रजत र ११ कास्यसहित १४ पदक जित्दा लुम्बिनी प्रदेशले एक स्वर्ण, नौ रजत र १२ कास्यसहित २२ पदक र कर्णाली प्रदेशले एक स्वर्ण, एक रजत र दुई कास्यसहित चार पदक ल्याएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यही असोज २८ देखि प्रतियोगिताका ३६ वटा खेल भइरहेका छन् । राष्ट्रिय खेलकुद आगामी कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ ।
उसु सान्सौमा २४ खेलाडी क्वाटरफाइनलमा
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सान्सौ र थाउलो दुवै विधाका खेल जारी छन् । आइतबार उद्घाटन भएको प्रतियोगितामा सोमबारदेखि खेल सुरु भएका हुन् । हालसम्म सान्सौतर्फ २४ खेल भएका छन् । पुरुषतर्फ १६ र महिलातर्फ आठ खेलाडी क्वाटरफाइनल प्रवेश गरेको कास्की जिल्ला उसु सङ्घका वरिष्ठ उपाध्यक्ष वीरन्द्र गहतराजले जानकारी दिए ।
महिला ४८ केजीमा सशस्त्र प्रहरीकी गौरी घर्तीमगर र सुदूरपश्चिम प्रदेशकी अस्मिताकुमारी गाहामगर क्वाटरफाइनलमा पुग्नुभयो । उहाँहरुले क्रमशः बागमती प्रदेशका सञ्जिता ग्लान र मधेस प्रदेशका कञ्चन पाललाई पराजित गरे ।
थाउलोमा पुरुष र महिलातर्फ समान स्वर्ण चार, रजत चार र कास्य चारका लागि खेल हुनेछ । प्रतियोगिताका विभिन्न इभेन्टमा करिब तीन सय ४० खेलाडी सहभागी छन् । उसुमा सात प्रदेशका सात टिम र तीन विभागीय गरी १० टिमको सहभागिता छ । एनआरएनएको खेलाडी उसुमा सहभागी छैन ।