१४ बैशाख २०८१, शुक्रबार

मध्यपुरथिमिमा आजदेखि एकमहिने लिग फुटबल प्रतियोगिता सुरु हुँदै


मध्यपुरथिमि नगरपालिका

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाको आयोजनामा पहिलो पटक आजदेखि एकमहिने मध्यपुरथिमि वडाव्यापी लिग फुटबल प्रतियोगिताको सुरु हुँदैछ ।

नगरपालिकाले हिजो खेल मैदानमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै मध्यपुर युथ एसोसिएशनको संयोजनमा प्रतियोगिता असोज ८ देखि कात्तिक ७ गतेसम्म सञ्चालन हुने नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले नगरपालिकाले अब हरेक वर्ष वडा लिगको आयोजना गरेर फुटबल खेलको ‘हव’का रूपमा नगरपालिकालाई विकास गर्ने नगरपालिकाका उपप्रमुख विजय श्रेष्ठले जानकारी दिए ।

मध्यपुरथिमिका स्थायी बासिन्दाले मात्रै सहभागिता जनाउन पाउने गरी प्रत्येक वडाबाट एकएकवटा टोली सहभागी हुने प्रतियोगिता राउन्ड रोबिन लिगअनुसार खेलाइनेछ । प्रतियोगितामा कूल ३६ खेल हुनेछ भने प्रत्येक टोलीले आठ खेल खेल्ने प्रतियोगिताका संयोजक एवं मध्यपुर युथ एसोसिएशनका उपाध्यक्ष अष्टकुमार कवेँले बताए ।

कार्यक्रमका सभापति एवं एसोसिएशनका अध्यक्ष उपेन्द्रमान सिंहले प्रतियोगिताको विजेतालाई आकर्षक ट्रफीका साथै रु दुई लाख ५० हजार, दोस्रो हुनेलाई रु एक लाख २५ हजार र तेस्रो हुनेलाई रु ६० हजार पुरस्कार तथा प्रतियोगिताको अनुशासित टोलीलाई नगद रु २५ हजारसहित फेयरप्ले अवार्ड प्रदान गरिने जानकारी दिए ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले रु २० हजार, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर र स्ट्राइकरले जनही रु १० हजार पुरस्कार प्रदान गरिने बताउँदै उनले प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई ‘म्यान अफ दी म्याच’को ट्रफी प्रदान गरिने जानकारी दिए ।

प्रतियोगिताको कूल अनुमानित लागत रु २५ लाख रहेकामा नगरपालिकाले रु २० लाख उपलब्ध गराएको छ भने बाँकी रकम स्थानीय बैंकहरुले सहयोग गर्ने भएको प्रतियोगिताका प्रचारप्रसार संयोजक हरिदास प्रजापतिले जानकारी दिए । उनले सहभागी प्रत्येक टोलीलाई जर्सी र फुटबल उपलब्ध गराएको र खेलाडीहरुको दुर्घटना बीमा गरिएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !