काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्वन गर्ने निर्णय गरेको छ । क्यानको कार्यसम्पादन समितिको आज बिहीबार बसेको बैठकले लामिछानेलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको हो ।
जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई पक्राउ पूर्जी जारी गर्न अनुमति दिएपछि क्यानले लामिछानेलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको हो । प्रहरीले अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो ।
एक १७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी थिइन् । जिल्ला अदालत, काठमाडौंले पक्राउ गर्न अनुमति दिएसंगै अब प्रहरीले लामिछानेलाई पक्राउ गर्ने बाटो खुलेको छ । अव उनलाई प्रहरीले कुनै पनि बेला पक्राउ गर्न सक्छ ।
महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने सन्दीपले बालिकालाई यही भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप लागेको छ ।