१३ बैशाख २०८१, बिहिबार

टि २० विश्वकप : वार्नरको अर्धशतकसँगै अष्ट्रेलियाको लगातार दोस्रो जित


अष्ट्रेलिया क्रिकेट टीम

एजेन्सी । ओपनर डेविड वार्नरको अर्धशतकको सहयोगमा अष्ट्रेलियाले आइसिसी टि २० विश्वकप २०२१ मा लगातार दोस्रो जित हासिल गरेको छ । हिजो बिहीबार अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले हराउँदै लगातार दोस्रो जित हासिल गरेको हो ।

जितको लागि १५५ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । अष्ट्रेलियाको जितमा ओपनर डेविड वार्नरले ४२ बलमा १० चौका सहित सर्वाधिक ६५ रनको योगदान दिए ।

अष्ट्रेलियालाई ओपनर डेविड वार्नर र आरोन फिन्चले ६.५ ओभरमा ७० रनको साझेदारी गर्दै उत्कृष्ट शुरुवात गरेका थिए । फिन्चलाई स्पिनर वानिन्दु हसरंगाले ३७ रनमा एलबीडब्लू आउट गर्दै पहिलो सफलता दिलाएका थिए । फिन्चले २३ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।

स्टिभ स्मिथ २६ बलमा १ चौका सहित २८ रनमा अविजित रहे भने मार्कस स्टोइनिस ७ बलमा २ चौका र १ छक्का सहित १६ रनमा अविजित रहे । ग्लेन म्याक्सवेल ५ रनमा आउट भएका थिए भने श्रीलंकाका स्पिनर वानिन्दु हसरंगाले २ र दासुन शनकाले १ विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनायो । श्रीलंका चरिथ असालंका र कुशल परेराले सर्वाधिक ३५–३५ रन बनाए । कुशलले २५ बलमा ४ चौका र १ छक्का प्रहार गरे । चरिथले २७ बलमा ४ चौका र १ छक्का प्रहार गरे । भानुका राजपक्षे २६ बलमा ४ चौका र १ छक्का सहित ३३ रनमा अविजित रहे ।

यस्तै प्याट कमिन्सले तेस्रो ओभरको तेस्रो बलमा ओपनर पाथुम निसंकालाई ७ रनमा डेविड वार्नरबाट क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । तर दोस्रो विकेटका लागि चरिथ असालंका र कुशल परेराले ६३ रनको साझेदारी गरेपछि श्रीलंका सम्हाल्लिदै राम्रो योगफलको सम्भावना देखाएका थिए ।

स्पिनर एडम जाम्पाले दशौं ओभरको चौथो बलमा असालंकालाई स्टिभ स्मिथबाट क्याच गराएपछि अष्ट्रेलियाले खेलमा पूनरागमन गरेको थियो । लगत्तै अर्को ओभरमा स्टार्कले कुशललाई बोल्ड आउट गरे । १२ औं ओभरको पाँचौं बलमा जाम्पाले अविष्का फर्नान्डोलाई ४ रनमा स्मिथबाट क्याच आउट गराए ।

१३ औं ओभरको दोस्रो बलमा वानिन्दु हसरंगालाई ४ रनमा क्याच आउट गराएपछि श्रीलंका ९४–५ को कमजोर अवस्थामा पुगेको थियो । तल्लोक्रमका कप्तान दासुन शनकाले १२ र चामिका करुणारत्नेले ९ रन बनाए । स्पिनर एडम जाम्पाले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । तीव्र गतिका बलर प्याट कमिन्सले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । मिचेल स्टार्कले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।

सुपर १२ को समूह ए मा इंग्ल्यान्ड २ खेलमा २ मानै जितका साथ ४ अंक जोड्दै शीर्षस्थानमा छ । अष्ट्रेलिया २ खेलमा समान नतिजाका साथ ४ अंक भएपनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ । अष्ट्रेलियाले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ५ विकेटले हराएको थियो । अव अष्ट्रेलियाले शनिबार इंग्ल्यान्डसँग खेल्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !