१५ असार २०८१, शनिबार

नेपाललाई जितका लागि १३५ रनको लक्ष्य


सन्दीप लामिछाने

काठमाडौँ । पपुवा न्युगिनी विरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले जितका लागि १३५ रनको सामान्य लक्ष्य पाएको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा आज शुरु भएको खेलमा पपुवा न्युगिनीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने निर्णय गरेको हो । पपुवा न्युगिनीले निर्धारित ५० ओभरको खेलमा ३३ ओभरमा सवै विकेट गुमाएर १३४ रन बनायो । पपुवा न्युगिनीका लागि लेगा सिकाले सर्वाधिक ३० रन बनाउनुभयो । यस्तै चाल्र्स अमिनीले २३, गौडी टोकाले २२, किप्लिन डोरिगाले १५, चाड सोपरले अविजित १७, सेसे बाउले १४ र कप्तान असाद भालाले ४ रन मात्र बनाउनुभयो । टोनी उरा र नोसिना पोकाना एक एक रनमा समेटिनुभयो भने जासन किला र डामिन राभु रन नबनाइकनै पेभेलियन फर्किनुभयो ।

पपुवा न्युगिनीको पारीलाई न्यून स्कोरमा खुम्च्याउने क्रममा नेपालका लेग स्पिनर सन्दीप लामिछाने एक्लैले चार विकेट लिनुभयो । यस्तै आजको खेलमा डेब्यू गर्नुभएका विक्रम सोबले दुई विकेट लिनुभयो । कुशल मल्लले दुई तथा सोमपाल कामीले एक विकेट लिनुभयो ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेल्न लागेको हो । नेपालले अहिले जवाफी व्याटिङ गरिरहेको छ । नेपालले केहीबेर अघिसम्म ६ ओभरमा बिनाकुनै विकेट २९ रन बनाएको छ । प्रारम्भिक ब्याटस्म्यानद्वय कुशल भुर्तेल र आशिफ शेखले अहिले ब्याटिङ गरिरहनुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !