१३ बैशाख २०८१, बिहिबार

घाइते सावित्राले बाँकी खेल गुमाउने


सावित्रा भण्डारी

काठमाडौँ । खेलका क्रममा घाइते हुनुभएपछि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबका महत्वपूर्ण खेलाडी सावित्रा भण्डारीले बाँकी खेल गुमाउनु हुने भएको छ । एपिएफलाई राष्ट्रिय महिला लिग फुटबलको उपाधि नजिक पुर्याउन भूमिका निर्वाह गर्नुभएकी भण्डारी सोमबार नेपाल पुलिस क्लबविरुद्धको खेलमा घाइते हुनुभएको थियो ।

खेलको ६९औँ मिनेटमा पुलिसका गोलकिपर उषा नाथसँग ठोक्किँएपछि उहाँ घाइते हुँदै मैदानबाट बाहिरिनुभएको हो । उहाँको खुट्टामा चोट लागेको छ । एमआरआई रिपोर्ट आएपछि मात्रै कति समय मैदानबाहिर बस्ने भन्ने बोरेमा थाहा हुने एपिएफका मुख्य प्रशिक्षक भगवती थापाले जानकारी दिनुभयो ।

हरेकजसो खेलमा गोल गर्दै आउनुभएकी भण्डारीले सोमबार भने गर्न सक्नुभएन । उहाँले हालसम्म १० खेलमा ४३ गोल गर्नुभएको छ । महिला लिगमा हालसम्म कुनै पनि खेलाडीको यही नै उत्कृष्ट खेल प्रदर्शन हो । एपिएफले हालसम्म शतप्रतिशत नतिजा निकाल्दै १० खेलमा ३० अङ्क जोडेको छ ।

एपिएफ लिगको शीर्ष स्थानमा रहँदै उपाधि नजिक पुगेको छ । अब एक खेल जितेमा उपाधि जित्ने देखिन्छ । त्रिभुवन आर्मी क्लबले १० खेलबाट २५ अङ्क जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा छ । एपिएफले अब बुधबार विराटनगरसँग प्रतिस्पर्धा गर्ने छ । सोमबारको खेलमा एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !