१३ बैशाख २०८१, बिहिबार

रासस समाचार प्रभाव : चेपाङ गाउँमा क्याप्टेन श्रेष्ठको पहलमा राहत वितरण


चेपाङ गाउँमा क्याप्टेन श्रेष्ठको पहलमा राहत वितरण

धादिङ । तिन महिनादेखि अनिकाल र भोकमरीमा परेका धादिङको बेनिघाटरोराङ गाउँपालिका–८ स्थित चेपाङ बस्तीमा आज राहत वितरण गरिएको छ । यति एयरलाइन्सका पाइलट क्याप्टेन रमेश श्रेष्ठको पहलमा सो गाउँका १२० परिवारलाई स्थलमै पुगेर चामल दाल, नुन र तेल वितरण गरिएको हो ।

सो गाउँमा खानेकुरा अभावपछि कोही जंगलमा गिट्ठा खोज्न जाने, कोही खोलातिर माछा मार्न जाने तथा कोही टाँकीको मुन्टा र सिस्नु टिपेर छाक टार्न बाध्य भएको समाचार यही जेठ २२ गते राससमा सम्प्रेषण भएको थियो । समाचार पढेर सहयोगीहरुबाट खाद्यान्न संकलन गरी वितरणका लागि ल्याइएको क्याप्टेन श्रेष्ठले बताए ।

गत वर्षको बन्दाबन्दीको समयमा पनि श्रेष्ठको पहलमा विभिन्न विमान चालक र समाजसेवीको सहयोगमा काठमाडौँमा विभिन्न स्थानका मजदुरलाईकरीब रु ३५ लाख बराबरको राहत वितरण भएको थियो । कार्यक्रममा नेपाल चेपाङ चेपाङ सङ्घ, धादिङका अध्यक्ष भीमबहादुर चेपाङ, वडाध्यक्ष वीरबहादुर श्रेष्ठलगायतले राहत वितरण गर्दै गाउँपालिकाले समेत चेपाङ गाउँमा खाद्यान्न वितरण गरेको र दाताहरुको सहयोगले स्थानीय सरकारलाई सहयोग पुगेको बताए ।

कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण मजदुरी गर्न जाने अवस्था नभएको र घरमा खाने अन्न समेत नभएपछि गाउँबासी तिनचार दिनमा एक छाक खोले वा ढिँडो खाने गरेको अध्यक्ष चेपाङको भनाइ छ । गाउँपालिकाले वर्षभरी आफ्नो उत्पादनले खान नपुग्नेका लागि उचित व्यवस्थाको योजना बनाउन नसकेकोले यस किसिमको अवस्था आएको चेपाङ अगुवाहरुले जनाएका छन् ।

सो वडाभरमा ३ सय ५० चेपाङ परिवारले गिठ्ठा, टाँकी,सिस्नुको सागले गत चैतदेखि साउनसम्म छाक टार्ने गरेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । गत वर्ष महामारीकै कारण रसायनिक मल अभाव हुँदा चेपाङहरुले मकैमा मलसमेत हाल्न पाएका थिएनन् । मल नहालेका कारण मकै उत्पादन कम भयो । यस वर्ष पनि मल ल्याउन नसकेपछि अर्को वर्ष झनै समस्या हुने अवस्था रहेकाले गाउँपालिकाले यसतर्फ ध्यान दिएर पहल गर्नुपर्ने अध्यक्ष चेपाङको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !