६ जेष्ठ २०८१, आइतबार

घरबास सञ्चालनमा दरै समुदाय


Nepalpatra

२६ चैत, दमौली । तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारमा अझैसम्म पनि विद्युत्को सुविधा नपुगेका कारण स्थानीयवासी वर्षौदेखि सोलार र टुकीका भरमा बस्न बाध्य छन् । खानेपानी, बिजुली र खानेपानीको अभावकै बीचमा पनि दरै समुदाय भने घरबास सञ्चालनका लागि जुटिरहेको छ । यामकुमारी दरैको अध्यक्षतामा समिति गठन गरी बोटे समुदायको ४५ घरधुरी रहेको यस ठाउँमा ११ घरमा घरबास सञ्चालनमा आएको छ ।

गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ३०० घरबासलाई प्रवद्र्धन गर्ने घोषणा गरेबमोजिम दरै समुदाय घरबास सञ्चालनका लागि कस्सिएको समितिका अध्यक्ष दरैले बताउनुभयो । उहाँले भन्नुभयो, “घरबास सञ्चालनका लागि दरै समुदायमा उत्साह जागेको छ ।” उहाँका अनुसार गाउँमा बिजुली नभए पनि घरबास सञ्चालन भएका प्रत्येक घरमा सौर्यबत्ती जडान र खानेपानीको धाराका लागि मूलबाट पानीको जोहो गरिएको छ । खानेपानीका लागि दैनिक २०÷२५ मिनेट हिँड्नुपर्ने हुन्छ । उहाँले भन्नुभयो, “घरबास सञ्चालन गरिसकेपछि अझ धेरै खानेपानी चाहिन्छ, त्यसका लागि पनि व्यवस्था मिलाएका छौँ ।”

समितिका कोषाध्यक्ष वसन्ती दरैका अनुसार प्रत्येक घरमा तीन जना बस्न मिल्ने गरी कोठा व्यवस्थापन गरिएको छ । घरबासमा बास बस्न आउने पर्यटकलाई साँझ स्वागत गरेपछि खाजाका रुपमा बटुक, साकरुङ (कोदोको रक्सी), गुन्द्रुकको आचारलगायत दिइने र राति खाना खाइसकेपछि दरै जातिको सांस्कृतिक नृत्य प्रस्तुत गरिने उहाँले बताउनुभयो । घरबास व्यवस्थापन समितिका सदस्य नारायण दरैका अनुसार बास बसेको रु ३५०, सादा खानाको रु १०० तथा कुखुरा र खसीसहितको मासुको रु २०० शुल्क निर्धारण गरिएको छ ।

यो घरबास गण्डकी प्रदेश सरकारको अनुदान पाउने घरबासका रुपमा छनोट भएको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको खैरेनीटारबाट सात किमी भीमाद र भीमादबाट ३४ किमी कच्ची यात्रा तय गरेपछि दरै घरबासमा पुगिन्छ ।

गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले घरबासलाई पर्यटनसँग जोड्नुपर्ने बताउँदै पर्यटक आकर्षित गर्न घरबासमा खाना र बासको राम्रो प्रबन्ध हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “ग्रामीण भेगमा होटल खोल्न तत्कालका लागि असम्भव रहेकाले घरबास सञ्चालन गरी गाउँमा पर्यटक भित्र्याउनुपर्छ ।”

कालीगण्डकीमा जलविहारका लागि आउने पर्यटकलाई घरबासमा आकर्षित गर्नुपर्ने सुझाव पनि मन्त्री गुरुङले दिनुभयो । मन्त्री गुरुङले दुई वर्षभित्र प्रदेशका सबै गाउँमा बिजुली र खानेपानीको सुविधा पु¥याइने बताउनुभयो । मन्त्री गुरुङले घरबास व्यवस्थापन समितिका अध्यक्ष दरैलाई घरबास प्रवद्र्धनवापतको रु १० लाखमध्ये पहिलो किस्ताको तीन लाखको चेक हस्तान्तरण गर्नुभयो । सो रकमले सांस्कृतिक भवन निर्माण गरिने जनाइएको छ ।

डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालका अनुसार तनहुँका ३३ घरबासले रु दश लाखको दरले अनुदान पाउनेछन् । सोमध्ये २२ घरबास समितिलाई पहिलो किस्तावापतको रु तीन लाख प्रदान गरिसकिएको छ ।

पुल निर्माणमा ढिलाइ

ठेकेदारको लापरवाहीले तनहुँ, भानु नगरपालिका–६ र ७ जोड्ने चुँदीखोलामाथि निर्माणाधीन पुल ढिलाइ भएको छ । विसं २०७५ वैशाख २८ गते निर्माण भइसक्नुपर्ने पुल ठेकेदारको लापरवाहीले अलपत्र परेको हो । तत्कालीन जिल्ला विकास समितिमार्फत आर्थिक वर्ष २०७२÷७३ मा पुल निर्माणका लागि रु दुई करोड ८७ लाखमा ठेक्का लागेको थियो । निर्माणको ठेक्का पाएको स्वच्छन्द÷मनाजेभी प्रालिको लापरवाहीको कारण समयमै पुल निर्माण हुन नसकेको स्थानीयवासी कृष्णराज ढकालले बताउनुभयो ।

उहाँका अनुसार ठेकेदारले तत्कालै पुल निर्माणको काम अगाडि नबढाए कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको छ ।

स्थानीयवासी समेत रहनुभएका भानु नगरपालिकाका कार्यकारिणी सदस्य देवबहादुर भुजेलका अनुसार पुल निर्माणमा ठेकेदारले चासो देखाएका छैनन् भने ठेकेदारलाई काम गराउनका लागि सम्बन्धित निकायले समेत दबाब दिएको छैन । उहाँले भन्नुभयो, “पुल निर्माणमा भएको ढिलाइबारे यसअघि पनि सम्बन्धित निकायमा ध्यानाकर्षण गराएका हौँ । तैपनि काम अगाडि बढ्न सकेको छैन ।”

पुल निर्माण नहुँदा वर्षायाममा सर्वसाधारणलाई आवतजावत गर्न समस्या पर्ने गरेको उहाँको गुनासो छ । “पुल कहिले सम्पन्न होला भनेर स्थानीयवासीले कुर्न थालेको धेरै भयो । अब वर्षायाम शुरु हुने बेला भयो”, उहाँले भन्नुभयो ।

स्थानीयवासीले पुल निर्माणमा ढिलाइ भएको बारे सोमबार जिल्ला समन्वय समिति तनहुँको समेत ध्यानाकर्षण गराएका छन् । समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेसँग भेट गर्दै उहाँहरुले आगामी वैशाख ५ गतेभित्र ठेकेदारले काम नगरे त्यसपछि आन्दोलनका कार्यक्रम सञ्चालन गरिने चेतावनी दिनुभयो । प्रमुख वाग्लेले वैशाख ५ गतेभित्र पुल निर्माणको काम शुरु गर्न ठेकेदारलाई आग्रह गरिएको जानकारी दिनुभयो । “त्यसपछि के गर्ने भन्ने विषयमा थप छलफल गर्छौँ”, उहाँले भन्नुभयो, “ठेक्का बदर गर्नुभन्दा ठेकेदारलाई नै फकाएर काम लिनु उत्तम हुने देखिन्छ ।”

निर्माण व्यवसायी महेन्द्र अधिकारीले वैशाख ५ गतेभित्र पुल निर्माणको काम शुरु गरिने बताउनुभयो । “निर्माण भएको कामको बिलअनुसारको भुक्तानी हुन ढिलाइ भएकाले काम अगाडि बढ्न समस्या परेको हो”, उहाँले भन्नुभयो, “ कामदार बिदामा घर गएको र नआइपुगेकाले पनि केही समस्या परेको छ ।”

जनप्रतिनिधिको तलब शिक्षकलाई

व्यास नगरपालिका वडा नं ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले सोही वडाको शुक्र आधारभूत विद्यालयमा शिक्षक राख्न पारिश्रमिकवापतको रकम सहयोग गर्नुभएको छ । आगामी शैक्षिक सत्रमा सोही विद्यालयमा अङ्ग्रेजी शिक्षक राख्नका लागि वडाध्यक्ष श्रेष्ठले आफूले प्राप्त गर्ने पारिश्रमिकवापतको रु दश हजारका दरले एक वर्षको रु एक लाख बीस हजार सहयोग गर्नुभएको हो ।

विद्यालयमा अङ्ग्रेजी शिक्षक नहुँदा पठनपाठनमा समस्या परेपछि पारिश्रमिकबाट एक वर्षका लागि शिक्षकको तलबका लागि सहयोग गरिएंको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “निजी स्रोतमा शिक्षक राख्न विद्यालयलाई अर्थ अभाव भएको थाहा पाएपछि मैले सहयोग गरेको हुँ ।”

वडाध्यक्ष श्रेष्ठले सामुदायिक विद्यालयप्रति समुदायको विश्वास घट्दै गएकाले सामुदायिक विद्यालयमा समुदायको आकर्षण बढाउन वडाका तर्फबाट समेत सधैँ सहयोग रहने बताउनुभयो । यसैगरी वडाध्यक्ष श्रेष्ठले बारा र पर्सामा आएको हावाहुरीबाट पीडित व्यक्तिको परिवारलाई सहयोग गर्न एक महिनाको तलब रु १९ हजार ८ सय सहयोग गर्नुभएको छ । उहाँले उक्त रकम प्रदेश नं २ का मुख्यमन्त्री राहत कोषमा जम्मा गरिने जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !