२७ कात्तिक, कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वाणीस्थित मुक्त कमैया बस्तीमा विजयास घरवास (होमस्टे) सञ्चालन गरिएको छ । विपन्न अवस्थाका मुक्त कमैया परिवारको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले घरवास सञ्चालन गरिएको हो ।
जनहित महाकाली सामुदायिक वन उपभोक्ता समिति र केयर नेपालको हरियो वन कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा घरवास सञ्चालनमा आएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई बस्नका लागि सुविधायुक्त पाँच घर निर्माण गरिएका छन् । एउटा घरमा दुईदेखि चार जनालाई राख्न सकिन्छ । प्रत्येक घरमा शौचालयसमेत निर्माण गरिएको छ ।
घरवासमा आउने पर्यटकका लागि बस्ने उचित व्यवस्थासँगै थारू समुदायको परिकारले सत्कार गर्ने व्यवस्था गरिएको सञ्चालक समितिका कोषाध्यक्ष विस्पती चौधरीले बताउनुभयो । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको बस्तीमा घरवास सञ्चालन गरिएकाले पर्यटकको आगमनमा वृद्धि हुने उहाँको विश्वास छ । प्रदेशनी चौधरी, जमुना चौधरी, विसपती चौधरी, वसन्ती राना र राजकुमारी चौधरीले पर्यटकको सत्कारमा जुटेका छन् ।
“घरवासमा पुग्ने पर्यटकलाई थारू समुदायका विशेष परिकार ढिक्री अन्दीको रोटी तथा भात, हरियो तरकारी, घोगी, स्थानीय जातका कुखुराको मासु, पतौलाका परिकार पस्किने व्यवस्था गरेका छौँ” चौधरीले भन्नुभयो । घरवासमा पुग्ने पर्यटकका लागि खानाको मूल्य परिकारअनुसार रु १३० देखि रु ३०० सम्म तोकिएको छ । पर्यटकलाई मनोरञ्जन प्रदान गर्न नृत्य टोलीसमेत गठन गरिएको छ । जनहित महाकाली सामुदायिक वनभित्र रहेको पदमार्ग, चुरेसँगै जोडिएको सिस्ने क्षेत्र र विश्वकै संरक्षणको सूचीमा राखिएको कृष्णसार तथा लोपोन्मुख प्रजाति विजयसाल संरक्षित क्षेत्र घरवासमा आउने पर्यटकले रमाउन सक्ने स्थानसमेत यहाँ छन् । बेदकोट, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र दोधारा–चाँदनीमा रहेको एशियाकै लामो झोलुङ्गे पुल, झिलमिला ताललगायत पर्यटकीय क्षेत्र नजिकै पर्छन् । घरवास कार्यक्रमबाट न्यून आय भएका मुक्त कमैया समुदायका महिला आत्मनिर्भर हुने र लोप हँुदै गएको संस्कृति संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको छ ।
वडाध्यक्ष तरकारी उत्पादनमा
शुक्लाफाँटा नगरपालिका–११ का वडाध्यक्ष दिलबहादुर बुढाको बिहानको समय तरकारी गोडमेल गर्नमा तथा साँझपख तरकारी बेच्न बजार जानमै बित्ने गर्दछ । घरमै तयार गरिएको कम्पोष्टमल डोकोमा बोकेर खेतबारीमा काम उहाँ एक्लैले गर्नुहुन्छ । दिउँको समय वडा कार्यालय पुगेर सेवाग्रहीलाई सेवा दिनुहुन्छ ।
विषादीको बढ्दो प्रयोगलाई निरुत्साहित गर्नका लागि बुढाले जैविक विधि प्रयोग गरी तरकारी उत्पादन गर्दै आउनुभएको छ । “तरकारी बिक्री गर्न सहज छ,” बुढाले भन्नुभयो । उहाँको बारीमा तितेकरेला, काँक्रा, लौका, फर्सी, भिण्डी र गोलभेँडा छ । दुई महीनाको अवधिमै रु दुई लाख ५० हजारको तरकारी बिक्री गरेको उहाँले बताउनुभयो । “प्लाष्टिक घरमा तयार गरिएका काँक्राबाट रु ५० हजार, गोलभेडाबाट रु ५० हजार, तितेकरेलाबाट रु ६० हजार र अन्य तरकारी बिक्री गरी रु दुई लाख ५० हजार आम्दानी भयो,” बुढाले भन्नुभयो । बुढा २०४९ साल, २०५४ र २०७४ सालमा वडाध्यक्षमा निर्वाचित हुनुभएको हो ।(रासस)