२३ पुस २०८१, मंगलबार

हुम्लामा कर्णाली नदी तर्न तुइनकै भर


हुम्लामा कर्णाली नदी तर्न तुइनकै भर

सिमकोट । सडक यातायातले हालसम्म नजोडिएको हिमाली जिल्ला हुम्लामा हालसम्म यहाँका स्थानीयवासीलाई कर्णाली नदी तर्न तुइन चढ्नुपर्ने बाध्यता छ । वर्षौँदेखि स्थानीयवासीले नदीमा भोलुङ्गे पुल बनाउन अनुरोध गर्दा पनि कोही कसैबाट माग पूरा नहुँदा सर्केगाड गाउँपालिका-२ रिपगाउँका नागरिकले तुइन तर्नुपरेको हो ।

पुल नहुँदा बर्सेनि तुइन तर्नु परिरहेको सर्केगाड–२ रिपगाउँका स्थानीयवासी जुनदेवी फडेराले बताउनुभयो । हिउँदयाममा नदीको बहाव कम भएका कारण तुइन तर्न कम जोखिम भए पनि बर्खायाममा भने त्रासका बीच तुइन तर्नु परिरहेको फडेराले गुनासो गर्नुभयो । उक्त गाउँका २०० घरधुरीका बासिन्दा दाउरा, घाँसका लागि दैनिकरूपमा तुइन तर्ने गरेका छन् । घाँस र दाउरा पनि तुइनमै तार्नुपर्ने भएका कारण धेरै भारी नदीमा खसेको फडेराले बताउनुभयो ।

यस्तै खार्पुनाथ गाउँपालिका–४ मा रहेको कर्णाली नदीमा समेत तुइनकै भर पर्नु अवस्था छ । गाउँपालिकामा काम पर्दा तुइन तरेर जानुपर्ने बाध्यता नहटेको खार्पुनाथ–४ छिप्रागाउँका स्थानीयवासी बबरजङ्ग हमालले बताउनुभयो । उक्त स्थानमा झोलुङ्गे पुल बनाउने योजना भए पनि निर्माण कम्पनीले हालसम्म नबनाएका कारण स्थानीयवासीलाई तुइनकै भर पर्नुपर्ने बाध्यता रहेको हमालले बताउनुभयो ।

उक्त तुइन तर्दा धेरै स्थानीयवासीका हातमा चोट लागेको भन्दै केही महिना अगाडि एक जना स्थानीयवासी तुइनबाट खसेर घाइते भएको उहाँले बताउनुभयो । खार्पुनाथ शिवालयबाट गाउँपालिका केन्द्रमा जाँदा बाटो लामो पर्ने भएका कारण स्थानीयवासी सबै तुइन नै तर्ने गर्छन् ।

त्यसैगरी खार्पुनाथ–२ बोक्चेगौंडा क्षेत्रमा पनि तुइनबाटै स्थानीयवासी आवतजावत गर्ने गरेको बटुवा हिक्मत शाहीले बताउनुभयो । पुलको योजना परे पनि निर्माण नहुँदा यसै आर्थिक वर्ष गाउँपालिकाले कर्णाली नदी वारपार गर्न दुई स्थानमा सिमेन्टको पिलरसहितको तुइन निर्माण गरेको गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताउनुभयो ।

स्थानीयवासीको ज्यान जोखिममा पर्ने भएका कारण तुइन निर्माण गर्नुपरेको बताउनुभयो । सरकारले तुइन विस्थापन गर्ने भनेको भए पनि हुम्ला जिल्लाभरि कर्णाली नदीमाथि आधा दर्जन तुइन निर्माण भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !