५ आश्विन २०८१, शनिबार

सगरमाथाको उचाइ बढ्यो, अब नयाँ उचाइ ८८४८.८६ मिटर


सगरमाथाको उचाइ

काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८६ सेन्टिमिटर बढेको छ । नेपाल र चीनले मंगलबार भर्चुअल माध्यममार्फत एक विशेष कार्यक्रम गर्दै एकसाथ सगरमाथाको नयाँ उचाइ घोषणा गरेका हुन् । जसअनुसार सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको छ ।

यसअघि सगरमाथाको उचाइ ८८४८ मिटर थियो भने अहिले ८८४८.८६ पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । यसअघि सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरेको सगरमाथाको उचाई ८८४८ मिटरलाई नेपालले मान्यता दिँदै आएको थियो भने चीनले भने सगरमाथाको उचाइ ८८४५ भएको बताउँदै आएको थियो ।

नयाँ घोषणासँगै अब सगरमाथाको उचाइमा एकरुपता कायम भएको छ । मन्त्रिपरिषद्को हालै बसेको बैठकले सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न स्वीकृति दिएपछि नेपालले चीनसँग समेत समन्वय गर्दै उचाइ घोषणा गरेको हो ।

आर्थिक वर्ष २०७५/७६ बाट सुरु गरिएको सगरमाथाको उचाई मापन गर्न करोडौं रुपैयाँ खर्च भएको छ । २०७२ सालको भूकम्पले सगरमाथाको उचाईमा असर पारेको हुनसक्ने नापी विभागको अनुमानपछि सरकारले करोडौं खर्चेर उचाई मापन गरेको हो ।

नेपालले नापी विभागका दुई अधिकारी सम्मिलित टोलीले सन् २०१९ मा सगरमाथाको चुचुरोमा पुगेर नयाँ उचाइ मापन गरेको थियो । यसको लागि सुशिल डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो । दुबै देशले छुट्टाछुट्टै स्रोत र साधन प्रयोग गरेर सगरमाथाको उचाइ मापन पूरा गरेका हुन् ।

सन् २०१९ मा चीनका राष्ट्रपति सी चिङफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाई सयुक्त रुपमा घोषणा गर्ने सहमति भएको थियो । सोहीबमोजिम सगरमाथाको उचाई नाप्ने काममा नेपाल र चीनका सरकारी टोली खटिएका थिए ।

सन् १८४७ मा तत्कालीन भारतीय सर्वेयर जनरल कर्णेल जर्ज एभरेष्टको नाममा विश्वको सर्वोच्च हिमशिखरलाई अङ्ग्रेजीमा माउन्ट एभरेष्ट नामाकरण गरिएको हो । विगतमा कैयौँ पटक सगरमाथाको उचाइ मापन गरिएपनि हालसम्म नेपाल र अन्तराष्ट्रिय स्तरबाट सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन अनुसार ८८४८ मिटर उचाईलाई नै आधिकारीक मान्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !