१४ बैशाख २०८१, शुक्रबार

रोजगारी गुमाएका कारण चुलो बाल्न बालुवा गिट्टीमा आश्रित


रोजगारी गुमाएका कारण चुलो बाल्न बालुवा गिट्टीमा आश्रित

डडेल्धुरा, ११ कात्तिक । कोरोना महामारीका कारण रोजगारी गुमाएका महिला तथा पुरुष नदी किनारको बालुवा र गिट्टीमा आश्रित बन्दै गएका छन् । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं. २ र ३ का अधिकांश महिला र पुरुष रडुवा खोला र सकायल खोलाका किनारहरुमा बालुवा, ढुङ्गा र गिट्टी बेचेर घर खर्च चलाइरहेका छन् । नेपाल तथा भारतका विभिन्न शहरहरुमा काम गर्दै आएका पुरुषहरु कोरोनाका कारण रोजगारी गुमाएर घर आएपछि नदीका बालुवा तथा गिट्टीमा आश्रित भएका छन् ।

बिहान ६/७ बजेदेखि नै नदी किनारमा बालुवा, गिट्टी र ढुङ्गा सङ्कलनका बालुवा प्रतिट्र्याक्टर रु तीन हजार, गिट्टी प्रतिट्र्याक्टर रु दुई हजार ५०० र ढुङ्गा रु एक हजार ३०० दरले बिक्री गर्ने गरेको स्थानीय सागर ठगुन्नाले बताउनुभयो । भारतमा होटेलमा काम गर्दा मासिक भारु २० हजार कमाउने गरेको भए पनि कोरोनाले रोजगारी गुमेपछि घर परिवार पाल्नका लागि बालुवा तथा गिट्टी सङ्कलन गरी बिक्री गर्दै आइरहेको उहाँले बताउनुभयो ।

कोरोनाले रोजगारी गुमेको भए पनि नदीको बालुवा गिट्टीले साँझ बिहानको जोहो गर्न सजिलो भएको गन्यापधुरा–३ का इन्द्र दमाईले बताउनुभयो । उहाँले भन्नुभयो, “भारतमा काम गर्ने होटेल बन्द भएपछि घर आएको हू,ँ घर खर्च चलाउनका लागि अहिले वालुवा गिट्टी बेच्ने गरेको छु ।” तीन÷चार दिनमा एक ट्र्याक्टर बालुवा तथा गिट्टी बिक्री गरी मासिक रु २५÷३० हजार आम्दानी गर्ने गरेको उहाँको भनाइ थियो ।

गाउँपालिकाले पालिकाभित्र रहेका बेरोजगारहरुको तथ्याङ्क सङ्कलन गरिहेको र उनीहरुको सीपअनुसारे रोजगारी सिर्जना गर्ने गन्यापधुरा गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बताउनुभयो । पालिकाले गर्ने विकास निर्माणका काममा स्थानीय व्यक्तिलाई मात्रै प्रयोग गर्ने र व्यावसायिक तथा सामूहिक कृषि खेती गर्न पालिकाले विशेष अनुदान दिने नीति ल्याएको अध्यक्ष मल्लले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !