पृष्ठभूमि : कुनै पनि देशको मुहार फेर्नको लागि विज्ञान तथा प्रविधिको विकासवाट मात्र सम्भव हुन्छ । विज्ञान तथा प्रविधिको विकास बिना देशको आर्थिक सम्बृद्धिको सोच राख्नु कोरा कल्पना मात्र हुन्छ । विज्ञान तथा प्रविधिको विकासले विश्वभरी मानिसको जीवनमा आमूल परिवर्तन ल्याएको छ । संयुक्त राज्य अमेरिका विज्ञान तथा प्रविधिको विकासले नै संसारको सबैभन्दा शक्तिशाली राष्ट्र बन्न पुगेको हो ।
विज्ञान तथा प्रविधि नेपाल र नेपालीको लागि “जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पको बीड” भनेको जस्तै भएको छ । आर्थिक विकासको इञ्जिन मानिने विज्ञान प्रविधिको क्षेत्रलाई अत्यन्त उपेक्षा गरिएको छ । यसको ज्वलन्त उदाहरण भनेको शुशिल कोइराला प्रधानमन्त्री भएको आठ महिनासम्म विज्ञान मन्त्री नियुत्त हुन नसक्नुलाई मान्न सकिन्छ । त्यस्तै पछिल्लो समयमा वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले बिज्ञान तथा प्रविधि मन्त्रालयलाई शिक्षा मन्त्रालयलमा गाभेर यसको अस्तित्वबिहिन बनाएको छ ।
विज्ञान र प्रविधि मन्त्रालयलको इतिहास
विज्ञान र प्रविधि क्षेत्रको समुचित विकास र उपयोग विना मुलुकको विकास समृद्धि तथा शुसासन सम्भव नहुने तथ्यलाई मनन गरी विगत तीन-चार दशकदेखि संस्थागत, नीतिगत तथा कार्यगत प्रयासहरू हुदै आएका छन । यसै क्रममा वि.सं. २०३३ सालमा राष्ट्रिय विज्ञान तथा प्रविधि परिषद्को स्थापना भएको थियो । विज्ञान तथा प्रविधि क्षेत्रको उचित विकासका लागि अनुकुल वातावरण सिर्जना गरी देशको समुन्नती र विकासका लागि विज्ञान तथा प्रविधि सम्बन्धी कार्य गर्न वि.सं. २०३९ मंसिर २० गते नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको स्थापना भएको थियो ।
विज्ञान र प्रविधिको क्षेत्रमा कृयाशील सबै निकायहरू वीच समन्वय ल्याउन र सो सम्बन्धी कृयाकलापहरूलाई प्रभावकारी रूपमा अघि बढाउन प्रथम पटक वि.सं. २०५३ साल जेष्ठ २ गते विज्ञान तथा प्रविधि मन्त्रालयको गठन भएको हो । वि.सं. २०६१ साल चैत्र १८ गते जनसंख्या तथा वातावरण मन्त्रालय खारेज भई सो मन्त्रालयको वातावरण महाशाखा विज्ञान तथा प्रविधि मन्त्रालयमा गाभिएर वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय पुनर्गठन भएको थियो ।
पछि यसको नाम परिवर्तन भएर विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय नाम रहन गएकोमा नेपाल सरकारको मिति २०७२।९।९ को निर्णयबाट साविकको विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय दुइ वटा मन्त्रालयमा विभाजन भइ जनसंख्या तथा वातावरण मन्त्रालय र विज्ञान तथा प्रविधि मन्त्रालय कायम भएको छ । पछिल्लोपटक २०७४।१२।०१ पुनः केपी शर्मा ओली नेतृत्वको सरकारले विज्ञान तथा प्रविधि मन्त्रालयलाई शिक्षा मन्त्रालयसँग गाभियो ।
फुट्ने जुट्ने इतिहास
२० वर्षे इतिहासमा कहिले जोडिने अनि कहिले फुट्ने अवस्थाबाट गुज्रिएकाले विज्ञान तथा प्रविधि मन्त्रालय गतिहीन भएर बिलाएको छ । विज्ञान तथा प्रविधि मन्त्रालय २०५३ साल जेठ २ गते स्थापना भएपछि पटक-पटक जोडिने र फुट्ने क्रम चलेको छ । २०६१ सालमा यो मन्त्रालयमा जनसंख्या तथा वातावरण पनि जोडियो । यसको ४ वर्षपछि २०६५ सालमा वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय गठन गरिएको थियो । २०६६।०२।२९ देखि २०६९।०२।०५ सम्म वातावरण मन्त्रालय र विज्ञान तथा प्रविधि मन्त्रालय छुट्टाछुट्टै अस्तित्वमा रहे । फेरि, ४ वर्षपछि बाबुराम भट्टराई सरकारको पालामा विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय नामाकरण गरियो ।
२०७२ साल पुस ९ गते केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रालय टुक्र्याई विज्ञान तथा प्रविधि बनाएको थियो । पछिल्लोपटक २०७४।१२।०१ पुनः केपी शर्मा ओली नेतृत्वको सरकारले विज्ञान तथा प्रविधि मन्त्रालयलाई शिक्षा मन्त्रालयसँग गाभियो । संक्षेपमा मन्त्रालयको गठन तथा पुनर्गठनको विवरण यस प्रकारको रहेको छ :
सि.नं. | निकाय | मिति | कैफियत |
१ | विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान | वि.सं.२०३९।०८।२० | स्थापना (तत्कालिन ने.रा.प्र.प्र.) |
२ | विज्ञान तथा प्रविधि मन्त्रालय | वि.सं.२०५३।०२।०२ | स्थापना |
३ | वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय | वि.सं.२०६१।१२।१८ | वातावरणसँग गाभियो |
४ | विज्ञान तथा प्रविधि मन्त्रालय | वि.सं.२०६६।०२।२९ | वातावरण मन्त्रालय छुट्टै गठन भएको |
५ | विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय | वि.सं.२०६९।०२।०५ | वातावरणसँग गाभियो |
६ | विज्ञान तथा प्रविधि मन्त्रालय | वि.सं.२०७२।०९।०९ | जनसंख्या तथा वातावरण मन्त्रालय छुट्टै गठन भएको |
७ | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय | वि.सं.२०७४।१२।०१ | शिक्षा मन्त्रालयसँग गाभियो |
विज्ञहरूको धारणा
बाबुराम भट्टराई सरकारको पालामा भविष्यमा पनि नटुक्र्याउने भन्दै विज्ञान तथा प्रविधिमा वातावरण जोडेर विज्ञान, प्रविधि र वातावरण मन्त्रालय बनाइएकोमा ओली सरकारले राजनीतिक भागबन्डा मिलाउन टुक्र्याएर विज्ञान तथा प्रविधि मन्त्रालय बनाएको थियो । तर दीर्घकालिन कार्ययोजना विना नै ब्यक्ति र भागबण्डाका लागि केन्द्रीय सांगठानिक संरचनाहरूमा हेरफेर गर्दा संगठनका लक्ष्यहरू हासिल हुन नसकेकोतर्फ सबैको ध्यान पुग्न जरूरी रहेको छ । व्यक्तिगत आग्रह तथा चाहनामा मन्त्रालय टुटाउने र जोड्ने क्रम जारी रहेसम्म मुलुकले विज्ञान तथा प्रविधिको क्षेत्रमा प्रगति हुन नसक्ने विज्ञहरूको भनाई छ ।
भागबन्डा मिलाउन मन्त्रालय फुटाउँदा त्यसले मन्त्रालयको कामकारबाहीमा दीर्घकालीन रूपमा असर परेको विज्ञहरूको धारणा छ । त्यतिमात्र नभई टुक्र्याइएपछि तत्कालीन जनसंख्या तथा वातावरण मन्त्री विशेन्द्र पासवानको सक्रियतामा वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रलाई वातावरण मन्त्रालयमा राखिएको थियो । व्यक्तिगत आग्रह तथा चाहनामा मन्त्रालय टुटाउने र जोड्ने क्रम जारी रहेसम्म मुलुकले विज्ञान तथा प्रविधिको क्षेत्रमा प्रगति हुन नसक्ने पनि विज्ञहरूको भनाई छ ।
निष्कर्ष
धेरै बिकसित देशहरुमा त्यहाँको सरकारले विज्ञान र प्रविधिको क्षेत्रका अनुसन्धानकर्ताहरु, विज्ञहरु, बैज्ञानिकहरु, प्रोफेसरहरुसँग सल्लाह र सुझावहरु लिएर अघि बढ्ने गर्छ । विश्वका विकसित देशहरुको आर्थिक सम्वृद्धिको र सामाजिक रुपान्तरणको मुख्य इञ्जिन मानिने ‘अनुसन्धान र बिकास’ अवधारणाको महत्वलाई ह्रदयंगम गर्दै नेपालमा विज्ञान तथा प्रविधिको अधिकतम विकास गरी देशलाई आर्थिक सम्बृद्धितर्फ उन्मुख गराउनु टडकरो आवश्यकता देखिन्छ ।
अन्त्यमा, दुई तिहाई बहुमतको शक्तिशाली कम्युनिष्ट सरकारले बिज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा मन्त्रालयमा गाभेर बिज्ञानको विकासको परिकल्पना गर्नु र बिज्ञानको व्यापक रुपमा अनुसन्धान गर्ने वातावरण सिर्जना भई अन्तर्राष्ट्रिय स्तरका बैज्ञानिक नेपालमा बन्लान भन्ने सोच्नु वर्तमान अवस्थामा कोरा कल्पना मात्र हुने देखिन्छ । यो बिषयमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण हुन् जरुरी छ ।
नेपालमा बिज्ञान तथा प्रविधिको विकास गर्न शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयवाट छुट्याई स्वतन्त्र रुपमा विज्ञान तथा प्रविधि मन्त्रालय बनाएमा मात्र बिज्ञान तथा प्रविधिको विकास हुन सक्ने देखिन्छ । विज्ञान तथा प्रविधिलाई अधिकतम उपयोग गरी मुलुकलाई विकास र आर्थिक समृद्धिको मार्गमा अघि बढाउनैपर्छ ।
स्रोत : निबर्तमान विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरवार, काठमाडौं, नेपाल
*गोपाल भण्डारी नेपालपत्रका प्रधान-सम्पादक हुनुहुन्छ ।
यो पनि पढ्नुहोस्