भनिन्छ बिकास नै जीवन हो । बिकासले परिपक्वता र अनुभवको परिणाम स्वरुप आउने प्रगातिशील क्रमिक परिवर्तनलाई बुझाउछ । खानी तथा भूगर्भ विभाग नेपाल सरकारको एक एकाई हो जसले सम्पूर्ण भौगोलिक सर्वेक्षणहरू खानी उत्खनन खोज, व्यवस्थापन तथा यस सम्वन्धी नियम र कानूनको विकास, भू–वैज्ञानिक अन्वेषण र अध्ययन सम्वन्धी सम्पूर्ण कार्यको जिम्मेदारी लिएको संस्था हो । अन्य देशको तुलनामा खानी तथा भूगर्भ विभागको इतिहास निकै छोटो ६०/६५ वर्ष मात्र भएको छ । हाम्रो छिमेकी देश भारतमा भौगर्भिक अध्ययन, अनुसन्धानको १५० वर्षभन्दा बढी भइसकेको छ । संयुक्त राज्य अमेरिकामा ३०० वर्षभन्दा बढी भएको पाइन्छ । ती मुलुकमा अहिले पनि भौगर्भिक अध्ययन, अनुसन्धान जारी राखी नयाँ-नयाँ कुरा पत्ता लागिरहेका छन् । यो निरन्तर चलिरहने प्रक्रिया हो ।
खानी तथा भूगर्भ विभागले अलि व्यवस्थित रूपमा अध्ययन अनुसन्धान शुरू भएको ३०/३५ वर्ष मात्र पुगेको छ । विभागले अध्ययन, अनुसन्धान गरी जेजति उपलब्धि प्राप्त गरेको छ, त्यो भौतिक पूर्वाधारको कमी र विभिन्न निकायका ऐननियम बाझेका कारण राष्ट्रले त्यसको पनि पूर्ण सदुपयोग गर्न सकेको छैन । भौगर्भिक अध्ययन अनुसन्धान गर्न सम्वन्धीत भूगोलमा पुग्नैपर्छ । अहिलेसम्मको भौगर्भिक अध्ययन, अनुसन्धानले के देखाउँछ भने खनिज पदार्थका हिसाबले प्रत्येक भूभागको आ-आफ्नै महत्व छ । प्रत्येक भूभागमा महत्वपूर्ण खनिज पदार्थ भेटिएका छन् र भविष्यमा पनि भेटिने सम्भावना छ । खाँचो छ, नयाँ प्रविधि, नयाँ सोच, भौतिक पूर्वाधार र धैर्यको माध्यमबाट पत्ता लागेका खनिज पदार्थको सदुपयोग गर्नुका साथै नयाँनयाँ भण्डार पनि पत्ता लगाउन सकिन्छ ।
जलसम्पदाकै हाराहारीमा देशमा खनिज पदार्थको प्रचुर सम्भावना रहेपनि हालसम्म १२ प्रकारका खनिज पदार्थमात्र उत्खनन भइरहेको पाइएको छ । देशका विभिन्न ९५ स्थानबाट हाल चुनढुङ्गा, कोइला, फलाम, काइनाइट, म्याग्नेसाइट, मार्बल, क्वार्ज, क्वार्जाइट, रेड क्ले, खरी, टुमालिन र जिङ्क उत्खनन भइरहेको छ । विभागमा ८४ वटा खानीजन्य उद्योग दर्ता भए पनि दुई दर्जन मात्र सञ्चालित छन् । दाङ, रोल्पा, सल्यान, प्युठान र पाल्पामा कोइला तथा पर्वतमा फलाम खानी सञ्चालित छन् भने राष्ट्रका अन्य भागमा उपलब्ध तामा, सिसा, अभ्रक, गन्धक, स्लेट, गेरु र ग्रेफाइट उत्खनन हुन सकेको छैन । गरगहनामा प्रयोग हुने बहुमूल्य धातु टुर्मालाइन जाजरकोटमा पाइए पनि उत्खनन गर्न बाँकी नै छ ।
नेपालमा भौगर्भिक अध्ययन, अनुसन्धान तथा खनिज सम्पदाको प्रबर्धन एवं बिकासको लागि एक मात्र सरकारी निकायका रुपमा खानी तथा भूगर्भ विभाग क्रियाशील रहेको छ । नेपालको संभवत सबैभन्दा पुरानो बिभागहरु मध्ये एउटा विभागको रुपमा आफ्नो परिचय बनाउन सफल यस विभागको विकासक्रमको ऐतिहासिक पृष्ठभूमि केलाएर हेर्ने हो भने बि. सं. १९८६ मा नहर तथा जियोलजि अड्डा, बि. सं. १९९९ मा खानी अड्डा, बि. सं. २०२४ मा भौगभिक सर्भेक्षण बिभाग हुंदै बि. सं. २०३३ मा आएर यसको नामाकरण खानी तथा भूगर्भ विभाग हुन पुगेको हो ।
खानी तथा खनिजजन्य उद्योगहरूको प्रशासनिक, प्राविधिक, आर्थिक लगायत अनुगमन सहित सबै अधिकार प्राप्त खनिज मन्त्रालय नै स्थापना गर्नुपर्ने हुन्छ । खानी तथा खनिज अन्वेषण सम्बन्धी नीति तथा कार्यक्रम, यस क्षेत्रको विकास सम्बन्धी अध्ययन, तालिम, अन्वेषण, सर्वेक्षण तथा प्रविधि विकास एवम् हस्तान्तरणको जिम्मेवारी खानी तथा भूगर्भ विभागको भएपनि बेग्लै ऐन बनाउन नसकिएको अवस्था छ । राजनीतिक सङ्क्रमणका कारण आवश्यक ऐन नियम बनाउन नसकिएको अवस्थामा खानी तथा खनिजजन्य उद्योगको प्रवद्र्धनलाई सरकारले उच्च प्राथमिकता दिनुपर्छ । खानी, पानी, पर्यटन र मानव संशाधनको समूचित विकास एवम् दोहनबाट राष्ट्रलाई समृद्धिको बाटोमा अघि बढाउने संकल्प राजनीतिक नेतृत्वले नगरेसम्म आर्थिक क्रान्ति कोरा कल्पना मात्र हुन्छ ।
यो पनि पढ्नुहोस्