३० आश्विन २०८१, बुधबार

तीन वैज्ञानिकले पाए यसवर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार


तीन वैज्ञानिकले पाए यसवर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

काठमाडौं । सन् २०२४ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार विजेताको घोषणा गरिएको छ । रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले यसवर्षको रसायनशास्त्र तर्फको नोबेल पुरस्कार डेभिड बेकर, डेमिस हसबिस र जोन एम जम्पर गरी तीन जना वैज्ञानिकलाई दिइने भएको हो ।

कम्प्युटेशनल प्रोटिन डिजानका लागि डेभिड बेकरलाई, प्रोटिन संरचनाको भविष्यवाणीका लागि डेमिस हसाबिस र जोन जम्परलाई सन् २०२४ को रसायन शास्त्रतर्फको पुरस्कार दिइएको हो ।

रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसले यस वर्षको रसायनशास्त्रको नोबेललाई दुई भागमा प्रदान गरिने बताएको छ । आधा पुरस्कार डेभिड बेकरलाई दिइएको छ भने अर्को आधा डेमिस हसबिस र जोन एम. जम्परलाई संयुक्त रूपमा दिइएको छ ।

बेकर र जम्पर अमेरिकी वैज्ञानिक हुन् भने हसाबिस बेलायती वैज्ञानिक हुन् । बेकर सिएटलको वासिङ्टन विश्वविद्यालयमा काम गर्छन् भने डेमिस हसबिस र जोन जम्पर लन्डनमा गुगल डीपमाइन्डमा काम गर्छन् ।

आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर प्रोटिनको संरचनाको पूर्वानुमान गर्ने कामका लागि रसायनशास्त्री बेकर, जम्पर र हसाबिसलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको हो ।

यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रोटिनसम्बन्धी अनुसन्धानका लागि प्रदान गरिएको हो । बेकरले पूर्णतः नयाँ प्रकारको प्रोटिन सिर्जना गर्ने लगभग असम्भव उपलब्धि हासिल गरेको छ । हासाबिस र जम्परले प्रोटिनको जटिल संरचनाको भविष्यवाणी गर्ने ५० वर्ष पुरानो समस्या समाधान गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडल बनाएका थिए ।

बेकरको अनुसन्धान समूहले धेरै प्रोटिनहरू उत्पादन गरेको छ जुन औषधि, खोप, न्यानोमटेरियल र साना सेन्सरहरूमा प्रयोग गर्न सकिने रोयल स्वीडिश एकेडेमीले जनाएको छ । आफ्नो एआई मोडलमार्फत हसबिस र जम्पर सबै २० करोड प्रोटीनहरूको संरचनाको भविष्यवाणी गर्न सक्षम भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !