काठमाडौं । नेपालको राजधानी काठमाडौँमा २.५ किलो युरेनियमसहित ४ जना अभियुक्त पक्राउ परेका छन् । युरेनियम-२३८ को गैरकानुनी कारोबार भइरहेको विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले हिजो फागुन २७ गते टुसाल-६ बाट पक्राउ गरेको हो ।
युरेनियमसहित पक्राउ पर्नेहरुमा रामेछापका ४० वर्षीय नारायणसिंह तामाङ, लिखु तामाकोशी गाउँपालिकाकी ४० वर्षीया जानुका तामाङ, रामेछापकै २० वर्षीया प्रकाश चौहान र सिन्धुलीका २० वर्षीय मनोज न्यौपाने रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई अहिले ५ दिनको म्याद लिएर काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको पनि प्रहरीले बताएको छ ।
एआईजी हरिबहादुर पालका अनुसार नेपालमा युरेनियम बरामद भएको यो पहिलो घटना हो । बरामद भएको वस्तु प्रशोधन नगरिएको युरेनिययम भएको परीक्षणबाट पुष्टि भएको उनले जानकारी दिए । उनीहरुलाई विस्फोटक पदार्थ सम्बन्धी ऐन अनुसार कारबाही हुने प्रहरीले बताएको छ । बरामद भएको बस्तु युरेनियम नै भएको कुरा खुमलटारस्थित नास्टको प्रयोगशालाबाट प्रमाणित भएको पनि एआईजी पालले बताए ।
पक्राउ पर्नेहरुविरुद्ध विस्फोटक पदार्थ ऐन २०१८ बमोजिम छानबिन र अनुसन्धान अघि बढाइने पनि पालले बताए । यति ठूलो परिमाणमा युरेनियम कहाबाट आयो भन्नेबारे अनुसन्धान थालिएको प्रहरीले बताएको छ । नेपालमा युरेनियम बरामद भएको सम्भवत: पहिलो पटक हो ।
युरेनियम परमाणु संख्या ९२ भएको एक रासायनिक तत्व हो । युरेनियम प्रकृतिमा पाईने तत्वमध्ये सबैभन्दा बढी २३८ पारमाणविक भार भएको रेडियोधर्मी धातु हो । युरेनियम मुख्यतया दुई प्रकारका पाइन्छन : युरेनियम-२३८ र युरेनियम-२३५ । प्राकृतिक रुपमा युरेनियम-२३८ पाइन्छ र त्यसलाई आणविक प्रशोधन केन्द्रमा लगी प्रशोधन गरिएपछि युरेनियम-२३५ बनाइन्छ ।
प्रहरीका अनुसार काठमाडौँमा बरामत भएको २.५ किलो युरेनियम-२३८ भएको बुझिएको छ । यसको बजार मूल्य प्रतिकिलो लगभग १० अर्व मान्ने हो भने यसको मूल्य २५ अर्व पर्न जान्छ ।
ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा युरेनियमको उपयोग हुन्छ । युरेनियमलाई अत्यन्त बहुमूल्य धातु मानिन्छ । युरेनियम आणविक भट्टीहरुका लागि अत्यावश्यक कच्चा पदार्थ हो । युरेनियमको अभावमा आणविक बम तथा परमाणु परीक्षण सम्भव हुँदैन । प्रायः युरेनियम खानी भएका सबै देशमा एल्लो केक बनाइन्छ ।