६ मंसिर २०८१, बिहीबार

को हो त नेपालको पहिलो वैज्ञानिक ?


गेहेन्द्र शमशेर

पृष्ठभूमि : सामान्य ज्ञानका धेरै पुस्तकहरुमा नेपालका पहिलो वैज्ञानिक गेहेन्द्र शमशेर राणा हुन् भनेर लेखिएको पाइन्छ । तर स्वर्गीय वैज्ञानिक दयानन्द बज्राचार्यको ‘चेतनाको यात्रा : जीवनमा विज्ञान’ नामक पुस्तकको अनुसार गेहेन्द्र शमशेर वैज्ञानिक नभई प्राविधिक मात्र भएको कुरा उल्लेख छ । वैज्ञानिक र प्राविधिक बीच नङ र मासुको  सम्बन्ध हुन्छ । त्यसैले विज्ञान रूख हो भने प्रविधि त्यसमा फल्ने फल ।

रूख नभई फल फल्दैन भनेझैं विज्ञान बिना प्रविधि निर्माण हुँदैन र प्राविधिकको साथ नपाई विज्ञानको विकास पनि हुँदैन । गेहेन्द्रशमशेरले पेस्तोल वा तोप सञ्चालन हुने वैज्ञानिक सिद्धान्त पत्ता लगाएका होइनन् । यसैगरी विश्वमा पेस्तोल वा तोप बनाउने पहिलो व्यक्ति पनि उनी होइनन् । अन्य देशमा आविष्कार भइसकेका वा विकसित प्रविधिलाई नेपाल अनुकूल बनाएर उनले पेस्तोल, तोप र अरू हतियार निर्माण गरेका मात्र हुन् । यो उनको कुनै मौलिक खोज वा आविष्कार थिएन ।

वैज्ञानिक (Scientist) कसलाई भनिन्छ त ?

सामान्यतया बिज्ञान तथा प्रविधिको क्षेत्रमा खोज, आविष्कार, अध्ययन अनुसन्धान गर्ने तथा नयाँ धारणा प्रस्तुत गर्ने ब्यक्तीलाई बैज्ञानिक भनिन्छ । नेपालमा विज्ञान विषयमा उच्च शिक्षा हासिल गरेका सबै व्यक्तिलाई वैज्ञानिक भन्ने चलन भएतापनि विकसित देशमा प्रकृतिका नियमबारे मौलिक अध्ययन र अनुसन्धान गरी त्यसका रहस्य पत्ता लगाएर नयाँ ज्ञानको सिर्जना गर्ने व्यक्तिलाई वैज्ञानिक (Scientist) भन्ने गरिन्छ ।

बिज्ञान तथा प्रविधि मन्त्रालयद्वारा तयार पारिएको फर्क है फर्क बैज्ञानिक कार्यक्रम संचालन कार्यविधि, २०७३ अनुसार वैज्ञानिक भन्नाले कृषि, इन्जिनियरिङ, चिकित्साशास्त्र, वनविज्ञान लगायत विज्ञान तथा प्रविधिका विविध विषयहरुमा कुनै पनि स्वदेशी वा विदेशी विश्वविद्यालयबाट उच्च शिक्षा प्राप्त गरेको नेपाली नागरिक सम्झनुपर्छ भनिएको छ । नेपालमा अझसम्म वैज्ञानिकको सर्वमान्य परिभाषा छैन । अध्ययन र अनुसन्धान गरी प्रमाण सहित त्यसको रहस्य र सही कारण पत्ता लगाउन सक्षम व्यक्तिलाई मात्र वैज्ञानिक भन्न सकिन्छ । तसर्थ, विज्ञानमा उच्च शिक्षा हासिल गर्दैमा सबै स्वतः वैज्ञानिक बनि हाल्दैनन् ।

वैज्ञानिक बन्न निरन्तर खोज, अध्ययन-अनुसन्धान गर्नुपर्छ । बिकसित देशहरुमा कुनै मौलिक विषयमा सिद्धान्त प्रतिपादन गरेपछि मात्र वैज्ञानिकको उपाधिद्वारा सम्मान गरिन्छ । तर नेपालमा वैज्ञानिक र प्राविधिक बीच फरक नछुट्याईकन प्राविधिकलाई पनि वैज्ञानिक नै भनिन्छ र विश्वविद्यालयबाट विज्ञानको कुनै पनि विधामा स्नातक गरेकालाई वैज्ञानिक भन्ने चलन छ ।

वैज्ञानिकले विज्ञानका नयाँ सिद्धान्त प्रतिपादन गर्छ, नयाँ तथ्यको खोज गर्छ त्यसैले ऊ मौलिक हुन्छ । प्राविधिज्ञले त्यस सिद्धान्त वा तथ्यका आधारमा प्रविधिको विकास गर्छ र नयाँ वस्तुको निर्माण गर्छ । तसर्थ वैज्ञानिक र प्राविधिकमा फरक हुन्छ । प्रत्येक बर्ष हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैज्ञानिक सम्मेलनमा प्रस्तुत गरिने शोधपत्रको संख्या विगतको बर्षको तुलनामा उल्लेखनीय रुपमा बढ्ने गरेको छ । यद्यपी, नेपालको कुल वैज्ञानिक जनशक्तिको अनुपातमा खोज, अध्ययन तथा अनुसन्धानमा संलग्न वैज्ञानिकहरुको संख्या भने एकदम कम छ ।

कसलाई भनिन्छ त नेपालको पहिलो बैज्ञानिक ?

आफ्नो समयमा राणाले विभिन्न प्रकारका स्वदेशी पेस्तोल, बन्दुक एवं तोप बनाएका थिए । ती हतियार प्रदर्शनका लागि राष्ट्रिय संग्रहालयमा राखिएका छन् र आज पनि देख्न पाइन्छ । तर वास्तवमा केही घरेलु पेस्तोल र तोप जस्ता हतियार निर्माण गरेकै आधारमा कसैलाई वैज्ञानिक भन्न मिल्दैन । आज पनि गाउँघरमा घरेलु पेस्तोल र बन्दुक निर्माण गर्ने व्यक्ति धेरै छन् तर उनीहरू वैज्ञानिक होइनन् । गेहेन्द्रशमशेर निश्चय पनि एक कुशल प्राविधिक मात्र थिए ।

औपचारिक रूपमा मौलिक वैज्ञानिक अनुसन्धानमा संलग्न हुने पहिलो पुस्ताका नेपालीहरुमा डा. पराशरनारायण सुवाल, डा. बलराम  जोशी, डा. ध्रुवमानसिंह अमात्य, डा. शंकर प्रसाद प्रधान र डा. दिव्यदेव भट्टलाई मान्न सकिन्छ । त्यसैले गेहेन्द्रशमशेर राणा पहिलो वैज्ञानिक नभई एक प्राविधिक मात्र थिए भनी स्वर्गीय बज्राचार्यले आफ्नो किताबमा स्पष्ट पारेका छन् । पहिलोपल्ट विज्ञान विषयमा विद्यावारिधिको उपाधि प्राप्त गर्ने यी नेपालीहरू नै अन्तर्राष्ट्रिय परिभाषा अनुसार सही अर्थमा नेपालका प्रथम वैज्ञानिक हुन् । यसकारण नेपालको वैज्ञानिक इतिहास पुनर्लेखन गर्न आवश्यक छ ।

निष्कर्ष

कुनै पनि देशको मुहार फेर्नको लागि विज्ञान तथा प्रविधिको विकासवाट मात्र सम्भव हुन्छ । विज्ञान तथा प्रविधिको विकास बिना देशको आर्थिक सम्बृद्धिको सोच राख्नु कोरा कल्पना मात्र हुन्छ । विज्ञान तथा प्रविधिको विकासले विश्वभरी मानिसको जीवनमा आमूल परिवर्तन ल्याएको छ । संयुक्त राज्य अमेरिका विज्ञान तथा प्रविधिको विकासले नै संसारको सबैभन्दा शक्तिशाली राष्ट्र बन्न पुगेको हो ।

तर नेपालमा अझसम्म पनि विज्ञान तथा प्रविधिसग सम्वन्धित तत्कालिन विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले बैज्ञानिकको यथार्थ परिभाषा गर्न सकेका छैनन ।  बिश्वब्यापी रुपमा स्थापित बैज्ञानिकको सर्वमान्य परिभाषा अनुसार नेपालमा बैज्ञानिकलाई परिभाषित गर्न नसक्नु बिडम्वनाको कुरा हो ।

तर दीर्घकालिन कार्ययोजना विना नै ब्यक्ति र भागबण्डाका लागि केन्द्रीय सांगठानिक संरचनाहरूमा हेरफेर गर्दा संगठनका लक्ष्यहरू हासिल हुन नसकेकोतर्फ सबैको ध्यान पुग्न जरूरी रहेको छ । व्यक्तिगत आग्रह तथा चाहनामा मन्त्रालय टुटाउने र जोड्ने क्रम जारी रहेसम्म मुलुकले विज्ञान तथा प्रविधिको क्षेत्रमा प्रगति हुन सक्दैन । ब्यक्ति र भागबण्डाका लागि भर्खर मन्त्रालय टुक्रयाईएको परिप्रेक्षमा शिक्षा मन्त्रालयवाट विज्ञान तथा प्रविधि मन्त्रालय छुट्याई स्वतन्त्र रुपमा विज्ञान तथा प्रविधि मन्त्रालय बनाएमा मात्र बिज्ञान तथा प्रविधिको विकास हुन सक्ने देखिन्छ । 

धेरै बिकसित देशहरुमा त्यहाँको सरकारले विज्ञान र प्रविधिको क्षेत्रका अनुसन्धानकर्ताहरु, विज्ञहरु, बैज्ञानिकहरु, प्रोफेसरहरुसँग सल्लाह र सुझावहरु लिएर अघि बढ्ने गर्छ । विश्वका विकसित देशहरुको आर्थिक सम्वृद्धिको र सामाजिक रुपान्तरणको मुख्य इञ्जिन मानिने ‘अनुसन्धान र बिकास’ अवधारणाको महत्वलाई ह्रदयंगम गर्दै नेपालमा विज्ञान तथा प्रविधिको अधिकतम विकास गरी देशलाई आर्थिक सम्बृद्धितर्फ उन्मुख गराउनु टडकरो आवश्यकता देखिन्छ ।

*गोपाल भण्डारी नेपालपत्रका प्रधान-सम्पादक हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

वैज्ञानिक (Scientist) कसलाई भनिन्छ ?

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !