६ पुस २०८१, शनिबार

के हो रासायनिक पदार्थ एमोनियम नाइट्रेट ?


एमोनियम नाइट्रेट

काठमाडौँ, २१ साउन । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार शक्तिशाली विस्फोट भएको छ । सो विस्फोटनमा परी १०० भन्दा बढीको ज्यान गएको छ । करिब २ हजार ७५० टन ‘एमोनियम नाइट्रेट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटमा परी ४ हजार भन्दा बढी घाइते भएका छन् । यस गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइट्रेट’ भण्डारण गरिएको थियो ।

लेबनानमा भएको विस्फोट

अहिले पनि सो विस्फोटपछि धुवाँ उडेका तस्बिरहरु यहाँका सञ्चार माध्यमहरुले दिइरहेका छन् । ती तस्बिरहरु हेर्दा अवस्था निकै क्षतविक्षत देखिएको छ । विस्फोटपछिका धुवाँको विशाल मुस्लो देखिएको छ र यहाँ धेरै क्षति भएका भौतिक संरचनाको अवस्था पनि देखिएको छ । गोदाममा राखिएको एमोनियम नाइट्रेटको अवस्था बारेमा जाँचबुझ गरी ५ महिना अघि नै लेबनान सरकारलाई प्रतिबेदन बुझाइएको पनि संचार माध्यमहरुले जनाएका छन् । प्रतिबेदनमा एमोनियम नाइट्रेटको भण्डारमा सुरक्षा सतर्कता अति जरुरी रहेको औंल्याइएको थियो ।

के हो एमोनियम नाइट्रेट ?

एमोनियम नाइट्रेट एक अकार्बनिक यौगिक हो । यो रासायनिक सूत्र NH4NO3 हो । प्रयोगशालामा एमोनिया र नाइट्रिक एसिड वीच रासायनिक प्रतिक्रिया गराएर एमोनियम नाइट्रेट बनाइन्छ भने औद्योगिक रुपमा पनि यसलाई सावधानी अपनाएर कृत्रिम रुपमा उत्पादन गरिन्छ । यो सामान्य तापक्रममा सेतो रंगको दनेदार ठोस पदार्थ हो जुन पानीमा सजिलै घुल्न सक्छ ।

कृषिमा यसको प्रयोग उच्च नाइट्रोजनयुक्त मलको रूपमा प्रयोग गर्न सकिने अन्य धेरै कामका लागि उपयोगी हुन्छ । एमोनियम नाइट्रेटलाई फरक तर, धेरै काममा प्रयोग गरिन्छ । सबैभन्दा बढी कृषिका लागि मल र विकास निर्माणका लागि विष्फोटक पदार्थको रुपमा प्रयोग गरिन्छ । एमोनियम नाइट्रेट प्राकृतिक रुपमा पाइने अत्यधिक घुलनशील सेतो ठोस पदार्थ हो । यो सबैभन्दा ठूलो मात्रामा चिलीको अटाकामा मरुभूमिमा पाइन्छ ।

एमोनियम नाइट्रेट

तर, यो विष्फोटक पदार्थ भएकाले अत्यन्त जोखिमयुक्त र घातक हुन्छ । यसको मिश्रणलाई खानी उल्खनन् र निर्माण संरचना बनाउन पनि प्रयोग गर्न सकिन्छ । बम बनाउन पनि यसको प्रयोग हुन्छ । यसलाई घातक हतियारको रुपमा प्रयोग गर्न सकिने हुनाले अति खतरनाक मानिन्छ । यो आतंककारीहरुको हातबाट दुरुपयोग हुने संभावना हुन्छ । यसको भण्डारण अत्यन्तै जोखिमयुक्त छ।

यो अति प्रज्वलनशील हुने भएकाले आगोको नजिक पर्यो भने तुरुन्तै विष्फोट हुन्छ । विष्फोटपछि नाइट्रोजन अक्साइड र एमोनिया जस्ता विषालु ग्यास निस्कन सक्छ । यसको भण्डारणका लागि निकै कडा नियमहरु पालना गर्नुपर्छ । भण्डारणस्थल आगो प्रतिरोधक हुनुपर्छ । वस्तीबाट टाढा हुनुपर्छ । त्यहाँ कुनै प्रकारको कुलो, पाइप वा अन्य च्यानल हुनुहुँदैन जसबाट ग्यास चुहिएर विष्फोटलाई मद्दत गर्न सक्छ ।

तर, बेरुतमा भण्डार गरिएको एमोनियम नाइट्रेट शहरभित्रै थियो । त्यसमा सुरक्षाको गतिलो उपाय अपनाइएको थिएन । ६ वर्षदेखि ती सामग्री त्यहाँ असुरक्षित तरिकाले किन राखियो भन्ने जवाफ पनि सरकारले दिएको छैन । एमोनियम नाइट्रेट विष्फोटन यति शक्तिशाली थियो कि २४० किलोमिटर टाढाको टापु साइप्रससम्म महसुस गरिएको थियो । त्यहाँका मान्छेले भूकम्प आएको ठानेका थिए । विष्फोटपछि बेरुतमा ३.३ म्गाग्निच्युडको भूकम्प गएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !