८ पुस २०८१, सोमबार

हिन्दु कसलाई भन्ने ?


ॐ_हिन्दु
मधुसूदन सुवेदी
मधुसूदन सुवेदी

हिन्दु कसलाई भन्ने ? हिन्दु शब्द वारे सबैलाई स्पष्ट हुनु जरुरी छ । वेद, पुराण, स्मृति, धर्मग्रन्थ एवं सूत्रहरुमा “हिन्दु” शब्द प्रयोग भएको देखिदैन । प्राचीन ग्रन्थहरूमा यस शब्दको प्रयोग भएको नदेखिदा यो शब्दको प्रयोग कहिले देखि भएको हो निश्चित भन्न गाह्रो पर्दछ । शास्त्रहरूमा सबैभन्दा पुरानो मानिने वेद नै हो । वेद भनेको धर्मको मूल हो । “वेदो–खिलो–धर्म–मूलम्” अर्थात् धर्मको मूल जरो नै वेद हो । विश्वको उत्पत्ति तथा शब्द ब्रम्हाको वेदले प्रतिपादन गर्दछ । हिन्दू दर्शनमा सबै ज्ञानको स्रोत वेदलाई नै मानिन्छ । वेद प्राकृतिक शक्तिको उदगम स्थलहरूको आराधना र स्मरण गर्न आर्यहरूले मन्त्रहरूको उच्चारण-गर्ने गरेको अलौकिक ईश्वरीय देन भएकोले वेदलाई अवलम्वन गर्ने सबै मानव-समुदायलाई हिन्दू मानिएको छ ।

हिन्दू दर्शनमा सबै ज्ञानको स्रोत वेदलाई नै मानिन्छ । वेद प्राकृतिक शक्तिको उदगम स्थलहरूको आराधना र स्मरण गर्न आर्यहरूले मन्त्रहरूको उच्चारण-गर्ने गरेको अलौकिक ईश्वरीय देन भएकोले वेदलाई अवलम्वन गर्ने सबै मानव-समुदायलाई हिन्दू मानिएको छ ।

विदेशीहरूको भनाइ अनुसार प्राचीनकाल देखिनै विशिष्ट किसिमको दर्शन तथा जीवन व्यवस्था अपनाउने भारतीयहरूलाई वा वेद, स्मृति एवं सूत्रहरूद्वारा निर्दिष्ट व्यवस्था अवलम्वन गर्नेलाई आफूभन्दा भिन्न किसिमको देखाउन “हिन्दू” शब्दद्वारा सम्वोधन गरिएको हो । पारसीहरूको पवित्र धर्मग्रन्थ “अबेस्था”मा सिन्धु नदीको निकटवर्ती प्रदेश र त्यहा“का निवासीहरूलाई “हेन्दू” भनेको पाइन्छ । डेरियस नाम गरेका प्रसिद्व पारसी राजाले पर्सपोलिसको नजिकै स्थापना गरेको ऐतिहासिक स्मारकको रूपमा उपलब्ध ई.पू. ४८६ को एउटा लेखमा आफूले पर्सियाको अतिरिक्त “हिन्दूइश देश अर्थात् हिन्दुहरूको देश” माथि पनि कब्जा गरेको कुरा पनि उल्लेख गरेका छन् ।

भारतवर्षको लागि “हिन्दुस्थान” र भारतवासीहरूको लागि “हिन्दू” शब्दको प्रयोग असंदिग्ध रूपमा सर्वप्रथम मुसलमानहरूद्वारा गरिएको थियो भनी प्राचार्य डा. अच्छैलालले आफ्नो दृष्टिकोण व्यक्त गर्नु भएको छ । प्राचीन एवंं मध्यकालीन अरबी तथा फारसी साहित्यमा भारतवासीहरूलाई “हिन्दू” शब्द प्रयोग गरेको पाईन्छ । सुप्रसिद्ध युनानी इतिहासकार हिरोडोटसले पनि भारतीयहरूलाई “हिन्दू” शब्द प्रयोग गरेका छन् । विदेशी इतिहासकार एवं साहित्यकारहरूले भारतीयहरूलाई “हिन्दू” शब्दले सम्बोधन गरी उल्लेख गर्दा संयुक्त परिवारमा रहने तथा जाति पाति व्यवस्था भएका विशिष्ट जीवन पद्धति अन्तर्गत गाई तथा मूर्तिपूजामा विश्वास राख्ने जाति भनी हिन्दूहरूको विशिष्ट आचार एवं व्यवहारको विवेचना गरेको पाईन्छ ।

धर्मशास्त्रसंग सम्बन्धित आधिकारिक संस्कृत ग्रन्थहरूमा आफ्ना अनुयायीहरूलाई “हिन्दू” शब्दले सम्बोधन गरिएको देखिदैन । हिन्दू कुनै एक धर्मको मात्र होइन, यो भौगोलिक इकाइको पनि द्योतक हो । प्राचीन संस्कृत ग्रन्थहरूमा भारतवर्षलाई “यज्ञिय देश वा वैदिक भूमि वा कर्मभूमि वा पुण्य भूमि” भनिएको छ । वैदिक यज्ञहरूको अनुष्ठान नहुने र वेद स्मृति एवं सूत्रहरूमा वर्णित व्यवस्थाको प्रतिकूल आचरण गर्ने देशलाई “म्लेच्छ भूमि” यवन भूमि वा भोग भूमि जस्ता शब्दहरूद्वारा सम्बोधन गरिएको पाईन्छ । विश्वमा एकमात्र हिन्दू–राष्ट्र–नेपाल हिमाल, गुफा, कन्दरा, वन जंगल, पवित्र–नदिहरूले ओत–प्रोत भएको हुंदा देवता, ऋषिमुनि र राक्षसहरू समेतले यस “तपोभूमिमा” तपस्या गरी वरदान समेत प्राप्त गरेको कुरा श्रीमद्भागवत महापुराण आदिले निर्दिष्ट गरेको हुंदा नेपाललाई “पुण्यभूमि” तपोभूमि र मोक्ष भूमिको संज्ञा दिइएको थियो ।

हिन्दू कुनै एक धर्मको मात्र होइन, यो भौगोलिक इकाइको पनि द्योतक हो । प्राचीन संस्कृत ग्रन्थहरूमा भारतवर्षलाई “यज्ञिय देश वा वैदिक भूमि वा कर्मभूमि वा पुण्य भूमि” भनिएको छ ।

धर्मशास्त्रीय ग्रन्थहरूमा भारतवर्षका निवासीहरूलाई “वर्णाश्रम धर्म” को अवलम्वन गर्ने मानिसहरूको रूपमा लिइएको छ । तर तन्त्र सम्बन्धी दुई स-साना ग्रन्थहरूमा भने “हिन्दू” शब्द उल्लेख भएको पाईन्छ । “गेरुतन्त्र” भन्ने ग्रन्थमा हीनकर्मलाई दोषयुक्त मान्ने हिन्दू हुन्छन् भनी हिन्दूहरूलाई सुसंस्कृति, उत्कृष्ट संस्कृति वा जीवन पद्धति अपनाउने मानव हुन् भन्ने संकेत गरिएको पाइन्छ भने “पुरश्चर्यार्णव तन्त्र” भन्ने ग्रन्थमा भविष्य–वर्णनीको रूपमा वर्णन गर्दा अनेक मुसलमान नरेशले देश माथि शासन गर्नेछन् र उनीहरूले हिन्दू धर्म नष्ट गर्ने प्रयत्न गर्नेछन् भन्ने उल्लेख भएको देखिन्छ । यी दुई ग्रन्थहरूका अतिरिक्त केही पुराणहरूमा पनि “हिन्दू” शब्द उल्लेख भएको देखिन्छ ।

अंग्रेज शासकहरूले गरेको विस्तृत अध्ययन एवं सर्वेक्षणबाट भारतमा जाति व्यवस्था, संयुक्त परिवार एवं स्वायत्त ग्राम प्रशासन भारतीयहरूको प्रमुख सामाजिक संस्था हो भन्ने थाहा पाए । अनि इस्लाम, इसाई पारसी र यहुदी समाजका बाहेक अरु सबै जातिहरू तथा उपजातिहरू “हिन्दू” वर्ग भित्र पर्दछन् । हिन्दूहरूमा वैयक्तिक कानून लागू हुन्छ भन्ने कुरा अंग्रेज शासकलाई स्पष्ट भयो ।

हिन्दू भन्नाले भगवान् र उहांकै अंश राजा (जसमा इन्द्र, पवन, यम, सूर्य, अग्नि, वरुण, चन्द्र, कुवेर, यी आठको अंश विद्यमान छ), गुरु, गायत्री, गीता, गाई, गड्डामा आस्था राख्ने, ॐ लाई मूलमन्त्र मान्ने अनि पूर्वजन्म र पूनर्जन्ममा पत्यार गर्ने व्यक्ति बुझिन्छ । भारतीय विधानमण्डलले बनाएको कानूनहरूमा मुसलमान, इसाई, पारसी, एवं यहूदी वाहेक अरू सबै हिन्दू हुन् भनी वीरशैब लिंगायत (भक्तपुरका जंगमहरू), अथवा ब्रम्हा-समाज, प्रार्थना–समाज वा आर्य समाजका अनुयायीहरू धर्मतः हिन्दू, धर्मतः जैन, बौद्ध वा सिक्ख समेतलाई हिन्दू भित्र समाविष्ट गरेको छ ।

हिन्दू भन्नाले भगवान् र उहांकै अंश राजा (जसमा इन्द्र, पवन, यम, सूर्य, अग्नि, वरुण, चन्द्र, कुवेर, यी आठको अंश विद्यमान छ), गुरु, गायत्री, गीता, गाई, गड्डामा आस्था राख्ने, ॐलाई मूलमन्त्र मान्ने अनि पूर्वजन्म र पूनर्जन्ममा पत्यार गर्ने व्यक्ति बुझिन्छ ।

(क) धर्मतः हिन्दू

कुृनै हिन्दूले आफ्नो हिन्दू धर्मको आचरण अक्षरसः अनुशरण नगरेकोमा अहिन्दू घोषित गर्न सकिंदैन । हिन्दू धार्मिक संस्कारहरूमा अविश्वास वा यसका केही सिद्धान्तहरूमा शंका गर्दैमा कुनै पनि हिन्दू धर्मबाट हट्न सक्दैन । हिन्दू धर्म अदभूत् रूपले कठोर एवं उदार छ । योनै यस धर्मको विशेषता हो । अनि निजि पूजाको स्वतन्त्रता करीव–करीव असीमित छ । यसको सामाजिक संहिता ज्यादै कठोर छ । यसका विभिन्न जातिहरू एवं समुदायहरूमा व्यावहारिक रूपमा ज्यादै भिन्नता देखिन्छ । अतः धर्मतः हिन्दू भन्नाले जुनसुकै हिन्दूहरू कुनै पनि रूपमा, शाखा वा पन्थका आर्य समाजी, कवीर पन्थीहरू सबै धर्मतः हिन्दूभित्र पर्न आउदछन् ।

यदि कुनै हिन्दूले अन्य धर्म स्वीकार गरेको भए पुनः आफ्नो हिन्दू धर्ममा फर्कन सक्दछ । नेपालमा पनि वि.सं. २०४९ सालमा मुलुकी ऐन अदलको १ नम्बर संशोधन हुनु अघि मुलुकी ऐनमा नेपाल भित्र हिन्दू जातिमा चलि आएको धर्ममा खलल हुने गरी इसाई, इस्लाम इत्यादि मतहरू कसैले प्रचार गर्न वा सो मतहरूमा हिन्दू धर्म परिवर्तन गराई लैजान हुंदैन । धर्म परिवर्तन भएकोमा सो वदर भई त्यस्तो व्यक्ति आफ्नो हिन्दू धर्ममै रहन्छ भन्ने कायम भएको व्यवस्था हामीले विर्सन हुदैन । आठौं शताब्दीमा लेखिएको “देवल स्मृति” मा भने हिन्दू मुसलमान भएमा “शुद्धिमण्ढल’’ को अनुष्ठान गरी पुनः हिन्दू धर्ममा फर्कन सक्ने प्रावधान छ । नेपालमा त्यस्तो अनुष्ठान गर्नु पर्ने कानूनी प्रावधान नभएपनि धर्मशास्त्रीय उपरोक्त व्यवस्थालाई पालन गर्नु नगर्नु हिन्दू धर्ममा फर्किने व्यक्तिको स्वेच्छामा छाडिएको छ ।

(ख) जन्मतः हिन्दू

माता पिताबाट जुन सन्तान जन्मन्छ सो व्यक्ति जन्मतः हिन्दू हुन्छ । चाहे त्यो सन्तान वैध वा अवैध जेसुकै होस् । माता वा पिता मध्ये कुनै एक हिन्दू भएमा र निजको पालन पोषण हिन्दू रीति बमोजिम भएको छ भने त्यस्तो व्यक्ति पनि जन्मतः हिन्दू हुन्छ ।

(ग) मुस्लिम, इसाई, पारसी र यहुदी वाहेक अन्य व्यक्ति कुनै व्यक्ति जो मुस्लिम, इसाई, पारसी र यहूदी होइन त्यो व्यक्ति हिन्दू हुन्छ । यसरी हिन्दूको परिभाषा व्यापक हुन गएको छ ।

यस प्रकार वेदमूलक बर्णाश्रम धर्मानुयायीहरूको लागि प्रयुक्त हुने “हिन्दू” शब्दको परिभाषा विधानमण्डल र न्यायिक निर्णयबाट परिभाषित एवं व्याख्या भै बिस्तृत एवं स्पष्ट हुन गएको छ । संक्षेपमा भन्ने हो भने कुनै पनि हिन्दूमा तलका लक्षणहरू समावेश हुनु पर्दछः
(१) ५ वटा “ग” कार गुरु, गायत्री, गीता र गाईलाई श्रद्धापूर्वक मान्ने,
(२) ॐ कारलाई मूल मन्त्र मान्ने,
(३) परमात्मालाई पूर्ण विश्वास राख्ने,
(४) सम्पूर्ण प्राणीहरूको पूर्व–जन्म र पूनर्जन्ममा विश्वास राख्ने,
(५) मनुष्य जीवनको परम पुरुषार्थ ज्ञानद्वारा मुक्ति प्राप्त गर्नु भन्ने भावना राख्ने,
(६) पूर्व जन्मको सञ्चित–कर्म र यस जन्मको प्रारब्धबाट यस अमूल्य मनुष्य चोलाबाट मात्र निश्शेष बोध गर्न सकिन्छ भन्ने विश्वासमा दृढ अटल आस्था राख्ने,
(७) मनुष्य योनिबाट मात्र कर्म वन्धन र जन्म मृत्युको दुखःद चक्रबाट मुक्त हुन सकिने छ भन्ने विश्वास लिने ।

*मधुसूदन सुवेदी केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ८० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।

यो पनि पढ्नुहोस्

मर्यादा पुरुषोत्तम भगवान् श्रीराम

माघे संक्रान्ति र यसको धार्मिक महत्व

होली पर्व र योसँग जोडिएको पौराणिक लोककथा

महाशिवरात्री र भगवान् श्री पशुपतिनाथको महत्व 

महाशिवरात्री र भगवान् श्री पशुपतिनाथको महत्व

रामनवमी र यसको धार्मिक तथा सांस्कृतिक महत्व

हिन्दु सनातन धार्मिक पक्षहरूभित्र लुकेको बैज्ञानिकता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !