८ पुस २०८१, सोमबार

माघे संक्रान्ति र यसको धार्मिक महत्व


माघे संक्रान्ति

माघे संक्रान्ति र यसको धार्मिक महत्व ! नेपालमा सार्वजनिक विदा दिइने माघ महिनाको पहिलो दिन माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले चिनिने नेपालको एक प्रमुख चाड हो । ज्योतिषशास्त्र अनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेतापनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।

नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई,मगर , लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ । यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन्, मगर समुदायले मुख्य रुपमा धुमधामको साथ् मनाउने यो पर्वलाई माघ्या/सेर्ल्हेस पनि भनिन्छ ।

माघेमासिमहादेवे यो दत्यात् घृतकम्बलम् ।

सभुक्त्वा सकलान् भोगान् अन्ते मोक्षं च विन्दति ।।

ततस्तिल सर्षपैश्च बिल्वपत्रैश्च कोमलैः ।

हेम पद्मैश्च देवेश पूजनीयो महेश्वरः ।।

माघ महिनाभर स्नान गर्दा अर्धोदित सूर्य (आधा सूर्य उदाएको समय)मा गर्नु मुख्य फल बताएको छ । साथै तीर्थहरू गएर श्रीसूर्यमा बसेका हुन्छन् । अर्धोदित सूर्य भएको समयमा स्नान गर्नेहरूको पाप हामी नाश गर्दछौं भनेर तीर्थहरू कराउछन् गर्जन्छन् । मन वचन शरीरले गरेको तीन किसिमको पाप नष्ट गर्दछु भन्ने श्री भगवान्को वचन नारदीय पुराणमा लेखिएको छ ।

संप्राप्ते माघमासे तु तपस्विजन बल्लभे ।

क्रोशन्ति सर्ववारीणि समुद्गच्छति भास्करे ।।

पुनीमः सर्वपापानि त्रिविधानि नसंशय ।।

नविंहृ सेवयेत्स्नातोद्रस्नातोद्र पि वरानने ।।

स्नान गरेर आगो नताप्नु, स्नान नगर्दै पनि आगो नताप्नु, । होमको लागि आगोको सेवा गर्नु, जाडोको निमित्त सेवा नगर्नु । शखर र चाकुमा बनाएको लड्डु दिनदिनै दान गर्नु र खानु । स्नान गर्नका निमित्त पाएसम्म गङ्का प्रयोग गर्नु नपाए कुनै तीर्थ नदीमा वा कुनै जलाशयमा स्नान गर्नु । माघको जाडोमा स्नान गर्नु तपस्या गरे बराबर नै हो ।

माघ स्नान गर्ने मन्त्र

प्रातः स्नानं करोम्यद्य माघे पाप विनाशनम् ।

मकरस्थे रवौ माघे गोविन्दाद्रच्युत माधव ।।

स्नानेनाद्रनेन मे देव यथोक्तफलदो भव ।।

हे गोविन्द हे अच्युत हे माधव हे देव सूर्य नारायण मकर राशिमा प्रवेश भएको माघ महिनामा आज पाप नाशक प्रातः स्नान गर्दछु हे भगवान् यस स्नानद्वारा बताए बमोजिमको फल मलाई दिनुहोस् ।

मकर संक्रान्तिको दिनमा गर्ने कार्य

माघ सङ्क्रान्तिमध्ये जाडोको रमाइलो पर्व हो । यस दिन तेल लगाउने प्रचलन पनि छ अर्थात् यस पर्वका प्रत्येक क्रिया जाडो विरुद्ध गर्मी उत्पन्न गराउने खालका हुन्छन् । यो दिन मकर राशिमा सूर्यको गमन हुने सङ्क्रान्ति हो यस दिनदेखि सूर्य उत्तरायणमा लाग्नुहुन्छ । उत्तरायण छ महिना देवताहरूको दिन हो दक्षिणायण छ महिना देवताहरूको रात   हो । यो सङ्क्रान्तिदेखि देवताको उज्यालो दिन हुनाले यस दिनदेखि ६ महिना सम्म विवाह व्रतबन्ध आदि ठूला ठूला कार्यहरू गरिन्छन् । जस्तो कोटी होम, लक्ष होम, काम्य वृषोत्सर्ग । यो सङ्क्रान्तिलाई अयन सङ्क्रान्ति पनि भनिन्छ । घ्यू चाकु खाने दिन हो पौषमा पकाएको पाक मकर सङ्क्रान्तिमा खाने चलन पनि छ त्यो हो उसिनेको पोलेको तरुल । यो दिन तेल लगायो भने १ वर्ष सम्म शरीर निरोगी हुन्छ । खास गरी यस दिन ब्राéणलाई सिधा, तिलको लड्डू, तरुल, चाकु, मकल, गोल, वस्त्र आदि दान गर्नु पर्दछ । तन्त्रान्तर नेपाल वर्षकृत्यमा लेखिएको छ ।

रवौ मकरसंस्थेतु तिलमिश्रिततण्डुलम् ।

दानंद्विजेभ्यो दत्वा च स्वयं च भोजनं चरेत् ।

सूर्य मकर राशिमा प्रवेश हुँदा तिल, चामल ब्राéणलाई दान दिएर घिउ चाकु तरुल तिलको लड्डू आदि खानुपर्दछ ।

माघे सङ्क्रान्तिको महत्व

माघे सङ्क्रान्ति धार्मिक र आध्यात्मिक रुपमा निकै नै महत्वपूर्ण पर्व हो । यसले देशको भौगोलिकता, जातीयता एवं साँस्कृतिक विविधताको प्रतिनिधित्व गर्दै आएको छ । ज्योतिष शास्त्रअनुसार सौर तिथिका हिसाबले आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यस पर्वलाई मकर सङ्क्रान्ति’ पनि भन्ने गरिन्छ। आजदेखि दिन लामो हुने र रात छोटो हुँदै जाने विश्वास गरिन्छ।  आयुर्वेद र आधुनिक चिकित्साशास्त्रमा पनि यो दिन खाइने परम्परागत खाद्य पदार्थले हाम्रो शरीरलाई आवश्यक पर्ने प्रोटिन, कार्बोहाइड्रेट र क्याल्सियम लगायतका तत्व प्राप्त हुने र तिनले सम्भावित रोगसँग लड्ने क्षमता प्रदान गर्ने उल्लेख गरिएको छ।

सूर्यको उदयबिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरू हुन्छ भन्ने मान्यता छ । उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामा हुने र तापक्रममा बृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्दछ । त्यसैले पनि यस दिनको छुट्टै खगोलीय महत्त्व छ । यस दिनमा तिलको होम र दान गर्नाले वा खानाले अथवा प्रयोग गर्नाले त्यो व्यक्ति कहिल्यै असफल हुँदैन भन्ने धार्मिक विश्वास पनि छ । उक्त दिन नदीका दोभानमा गई शुद्ध भई सिधा दान गर्नाले पुण्य प्राप्त भई रोगब्याधिबाट मुक्त भइने जनविश्वास पनि छ । धार्मिक दृष्टिले मात्र होइन, वैज्ञानिक तबरबाट पनि माघे सङ्क्रान्तिलाई उत्तिकै महत्वपूर्ण मानिएको छ ।

माघे संक्रान्ति पर्व नेपालभर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइन्छ । भविष्यपुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी होइने उल्लेख छ। शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ ।  महाभारतका अनुसार भीष्मले यहि दिन मृत्यु रोजेका थिए भने भगिरथले सोहि दिन गंगालाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए। त्यसैले यस दिन प्रयाग र गङ्गासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ ।

मधुसूदन सुवेदी केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ८० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।

यो पनि पढ्नुहोस्

हिन्दूहरूको महान चाड माघे संक्रान्ति र यसको महत्व


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !