११ पुस २०८१, बिहीबार

धान्य पूर्णिमाको सांस्कृतिक तथा धार्मिक महत्व


धान्य पूर्णिमा

हरेक वर्ष मंसीर शुक्ल पूर्णिमाका दिन मनाइने धान्य पूर्णिमा मनाईन्छ । नयाँ धान भित्र्याएको खुसीयालीमा ‘धान्य पूर्णिमा’ मनाउने परम्परा छ । यो पर्वमा धानको विशेष महत्व हुन्छ । धानलाई लक्ष्मीका रूपमा पूजा गर्ने परम्परा छ । भकारीमा भरेको धान कम नहोस् र धनधान्यले भरिभराउ होस् भन्ने उद्देश्यले मनाइने भएकाले यो पूर्णिमालाई ‘धान्य पूर्णिमा’ भनिएको हो ।

मंसीर शुक्ल पूर्णिमाका दिन धानको विधिपूर्वक पूजा आजा एवं दान गरी धान्य पूर्णिमा पर्व मनाइँन्छ । मंसीरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मी लगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।

नयाँ खाद्यान्न आफूले उपभोग गर्नुअघि सबैभन्दा पहिला कुल देवता, पितृ देवता र देवी-देवताहरुलाई अर्पण गरेपछि मात्र आफूले खाने परम्परा छ । कुलदेवतालाई नयाँ अन्न चढाएर, होम गरेर नयाँ धानबाट चामलको खीर भोग लगाउने गरिन्छ । यसअघि नव अन्नप्राशन नगरेकाले आजै नवान्नप्राशन गर्नुपर्ने हुन्छ । यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, चम्पादेवी लगायत स्थानमा मेला समेत लाग्दछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !