नेवारी समुदायमा यस दिन योमरी (चामलको पीठोबाट बनाइएको र भित्र चाकु तथा तिल राखेर विशेष प्रकारले पकाइएको रोटी) पकाएर खाने भएकाले अरु पूर्णिमामध्ये यो महत्वपूर्ण मानिन्छ । यस पूर्णिमालाई नेपाल भाषामा थिल्ला पुन्ही भनिन्छ । यस दिन चामलको पीठो र चाकु तथा तिलको मिश्रण राखिएको विशेष प्रकारको योमरी खाने भएकोले यसलाई योमरी पुन्ही (योमरी पूर्णिमा) पनि भनिन्छ । यहि दिन उपत्यकाका नेवार भित्रकै ज्यापु समुदायले ज्यापु दिवसका रुपमा पनि यो पर्वलाई मनाउने गर्दछन् । मंसीर पूर्णिमालाई धान्य पूर्णिमा पनि भनिन्छ ।
नेवार समुदायमा विशेष किसिमको तिल, चाकु र खुवा राखेर बनाइएको चामलको पिठोबाट बनाइएको विशेष प्रकारको परिकार योमरी खाने चलन छ । धान्य पूर्णिमाको साँझ टोलटोलमा देउसी, भैलो खेले झैं केटाकेटी, युवायुवती जम्मा भई योमरी माग्ने चलन छ । योमरी माग्ने प्रचलन यो दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष हो । नेपाल सम्वत् अनुसार थिंलाथ्व पुन्ही अर्थात् मार्ग महिनाको शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वलाई नेवार भाषामा योमरी पुन्ही भनिन्छ । यस दिन नयाँ भित्र्याइएको धानको चामलबाट बनेको पिठोको विशेष परिकार खाएर योमरी पुन्ही मनाउने चलन छ ।
यस दिन नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा योमरी लगायत लक्ष्मी, गणेश, कुवेर, नांग्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्ति सहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी बनाई पूजा गरि चढाउने गरिन्छ । योमरीलाई भकारी लगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पति र अन्न लाभ हुने जनविश्वास रहिआएको छ । यसरी चढाएको योमरी चार दिनपछि प्रसादको रुपमा परिवारमा बाँडेर खाने चलन छ । यस दिन विवाह भैसकेका चेलीबेटीलाई पनि बोलाएर खुवाउने गरिन्छ । योमरी पुन्हीका दिनदेखि दिन लामो हुने र योमरीको चुच्चो अनुसार दिन लामो हुँदै जान्छ भन्ने जनविश्वाश छ ।
नेवार संस्कृतिमा योमरीको बिषेश महत्व छ । धनसम्पत्ति, बृद्धि र धनधान्यले भरिपूर्ण हुने जनविश्वासले नेवार समुदायमा योमरी पुन्हीका दिन सबैले योमरी सहित विभिन्न देवी देवताको पूजा गरी दान गर्ने गरिन्छ । बच्चाहरुको जन्मदिन मनाउँदा १२ वर्षसम्म योमरीको माला बनाई पूजा गर्नुपर्ने र माला लगाइदिने चलन छ । जन्मदिनमा बच्चालाई दुई वर्षमा दुई वटा, चार वर्षमा चार वटा यस्तै प्रकारले योमरीको माला लगाइदिने चलन छ ।
त्यस्तै छोरीको गर्भावस्थामा बच्चा जन्मिनु केहि समय अघि माइतीबाट दही च्यूरा खुवाउन जाने चलन छ । यसबेला पनि कुनै कुनै समुदायमा १ सय ८ वटा योमरी लैजानुपर्ने चलन रहेको छ । त्यस्तै नयाँ घर वा मन्दिर बनाउँदा अनि मन्दिरमा नयाँ पताका चढाउँदा पनि घर र मन्दिरको धुरीबाट पूजा गरेर योमरी खसाल्ने चलन छ ।
नेवार समाजमा योमरीको साँस्कृतिक एवं धार्मिक महत्व रहेको पाइन्छ । देशभरका नेपालभाषी योमरी बनाएर देवदेवीलाई चढाइसकेपछि प्रसादको रुपमा आफूहरु पनि खान्छन् । योमरी पुन्हीको भोलिपल्ट नेपालभाषीहरु आफ्ना नातागोता, छोरी, छोरीज्वाइँलाई घर बोलाएर योमरी सहितको भोज खुवाउने गर्छन्।