६ बैशाख २०८१, बिहिबार

कोजाग्रत पूर्णिमाको धार्मिक र सांस्कृतिक महत्व


कोजाग्रत पूर्णिमा

दशैं सकिने पूर्णिमाको रातलाई कोजाग्रत पूर्णिमा भनिन्छ । यस दिनलाई शरद पूर्णिमा पनि भनिन्छ । दशैंको प्रतिपदाबाट आजको कोजाग्रत पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष पनि भनिन्छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) का दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैं पर्व कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । प्रतिपदाको दिन, घटस्थापनामा जम्मा गरेको माटाहरु र उमारेका जमराहरुलाई विधीपूर्वक कुनै नदी या जलाशयमा सेलाउने दिन पनि कोजाग्रत पूर्णिमाकै दिन हो ।

कोजाग्रत पूर्णिमाको दिनमा सम्पन्नताकी देवी महालक्ष्मीले आजको रात पृथ्वीको भ्रमण गरी ‘को जागेको छ ?’ भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा-आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण यस रात गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजा-आराधना गर्दछन् । आज कोजाग्रत पूर्णिमा, आकाशमा राती पूर्णचन्द्र उदाउनेछन र काठमाडौको स्वयम्भू लगायतका चैत्यहरुमा राती महादीप ज्योती प्रज्जवलन गरिनेछ ।

अर्कोतर्फ कोजाग्रत पूर्णिमालाई दशैको अन्त्य र तिहारको शुरुवाती संकेतका रुपमा पनि लिइन्छ । विहानै सम्पूर्ण परिवारका सदस्यहरु भेला भएर भवानीको प्रसादका रुपमा टीका र जमरा लगाएर अनि जमराहरुलाई सेलाउने चलन छ । कोजाग्रत पूर्णिमा पछि सुरिलो वाँसलाई काटेर त्यस्को टुप्पामा रंगीन कागजको सानो दियो घर बनाएर त्यसभित्र हरेक साँझ कार्तिक शुक्ल पूर्णिमाको दिनसम्म आकाशे वत्ति वाल्ने चलन छ, खुल्ला निलो आकाशमा ओर्लदै गरेको चन्द्रमा अनि वाँसको टुप्पामा वलेको आकाशे वत्ति एकदमै आकर्षक दृश्य हुने गर्दछ ।

त्यस्तै कोजाग्रत पूर्णिमाको अवसरमा पोखराको प्रसिद्ध धार्मिक एवं पर्यटकीय महत्व बोकेको तालबाराही मन्दिरमा दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्छ । मनोरम फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा कोजाग्रत पूर्णिमाको अवसरमा दर्शन गर्नाले मनोकांक्षा पूरा हुने एवं दुःखदर्द नास हुने विश्वासका साथ टाढा-टाढाबाट समेत दर्शनार्थीहरू आउने गर्छन ।

यो पनि पढ्नुहोस्

बडादशैँ र यसको महत्व

वडादशैँको सांस्कृतिक तथा सामाजिक महत्व


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !