१३ बैशाख २०८१, बिहिबार

बडादशैँ र यसको महत्व


दशैंमा टीका

नेपालमा पछिल्लो तथ्यांक अनुसार हिन्दू धर्म मान्नेहरुको सख्या ८१.३४% रहेको छ भने राष्ट्रिय पर्वको रुपमा मानिने दसै पर्वलाई हिन्दू बाहेक बौद्ध, किरात, इस्लाम, क्रिश्चियन र अन्य धर्ममा आस्थावान भएका समुदायहरुले पनि दसै पर्वलाई महत्व दिने गरेको पाइन्छ ।

दसैंलाई बडा दशैं, दशहरा, विजया दशमी आदि नामले प्रचलित छ । यो नेपालीहरुको प्रमुख पर्व पनि हो । शास्त्रमा उल्लेख भए अनुसार  भगवान रामले यसै दिन रावणको वध गरेका थिए । यसलाई असत्य माथि सत्यको विजयको रुपमा हिन्दूहरुले विजया दशमीको पर्व मनाउने प्रचलन रहदै आएको छ । प्राचीन कालमा राजाहरु यस दिन विजयको प्रार्थना गरेर रण-यात्राको लागि प्रस्थान गर्दथे भन्ने भनाई रहेको छ ।

आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्री आरम्भ हुन्छ । यसै दिन जमरा राखिन्छ र घट कलशको स्थापना गरी देवी–देवताको आह्वान गरिन्छ । यस दिन बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दसै घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ । जौ को आकुरा मात्र जमरा हो । भाषा बोल्ने क्रममा यमङकुर-जवङकुर-जम्कुर-जवर हुँदै जमरा भएको हो । भाषा परिस्कृत हुँदै जमरा शब्द बन्नको लागि करिव ८०० बर्ष लागेको अनुमान छ । त्यसैले जमराको महत्व भाषिक रुपले पनि पौराणिक मानिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तुको रुपमा मानिन्छ ।

माता भगवतीलाई मनपर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । त्यसैस्थान नजीकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौंवटा देवीको स्वरुपको प्रतिमूति मानी गाईको गोबरले नौंवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि छरिन्छ। अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाई अनन्त शक्तिस्वरुपकी महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाआजा गरिन्छ ।

हाम्रो धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवीदेवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरु निहित छन भन्ने कुरामा विस्वास गरिन्छ । जुन कुरा कालिकापुराण भन्ने ग्रन्थमा उल्लेख  गरिएको छ । यसका अतिरिक्त घटकलश अष्टमंगलका शुभ चिन्हहरुद्वारा समाहित गरिएको पाइन्छ । त्यसै दिन अर्थात् घटस्थापनाको दिनबाटघट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम नदी नाला, सप्त सागर, सप्तद्वीप आदि सबैलाई समाहित गरी दसै पूजाको थालनी गर्ने हाम्रो संस्कृती रहेको छ ।

यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरुका घरघरमा र देवीका मन्दिरहरुमा भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ र शंख, डमरु घण्टी आदि बजाई दुर्गासप्तसती चण्डी, स्त्रोत्ररत्नावली, कालिकास्तोत्र, दुर्गाकवच, श्रीमद् देवीभागवत आदि पाठ पनि पढिन्छ । पूजा गरिसकिएपछि प्रत्येक दिन बलि चाही अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ ।

वलीशब्दको अर्थ हो अर्पण गर्नु अथवा चढाउनु वा उपहार दिनु ! रागो रुपि–क्रोध, भेडारुपि–मोह, वोकारुपि–कामवासना अर्थात् काम, क्रोध र वासनालाई अर्पण गर्नु, चढाउनु पर्दछ भन्ने हाम्रो शास्त्रको भाव हो । तर हामीहरुले बलि भनेपछि पशुहरुलाई काटेर वली दिने गरिन्छ ।

यस दिन ठाउँ-ठाउँमा मेलाहरु लाग्ने गर्दछ । अहिले पनि भारतमा रामलीलाको आयोजन हुन्छ । रावणको विशाल पुतला बनाएर जलाइन्छ । विजयदशमी भगवान रामको विजयको रुपमा मनाइने पर्व हो । दसै पर्वले दश प्रकारका पापहरु काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहंकार, आलस्य, हिंसाको अन्त्य गर्नु पनि हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !