११ पुस २०८१, बिहीबार

पुर्खाको नासो ‘सिस्नो खोस्ने पर्व’


Nepalpatra

रामबहादुर थापा, बागलुङ, ३० भदौ । ‘रुनासुङ्गे, पुसापु, घुँयाली…’ गीत गुञ्जिइरहेको छ । एकनास बजिरहेछ, ढ्याङ्ग्रो । बारीको देउता पूज्ने ढुङ्गा छेउ टुक्रुक्क बस्नुभएको छ, ८० वर्षीय गुरुबा जङ्गबहादुर रोका । रनवन पुकार्दै उहाँ गीत भट्याउनुहुन्छ, अरु गला मिलाउँछन् । ढ्याङ्ग्रोको तालमा गाइने उक्त गीतलाई ‘वन गन्ने’ पनि भनिन्छ ।

यी शब्द र दृश्य ताराखोला गाउँपालिका–४ तारागाउँको परम्परागत ‘भदोरै सिस्नो खोस्ने पर्व’को हो । पर्वको वर्णन यत्तिकैमा सकिन्न । कथा लामो छ । पूजा र बली दिने ढुङ्गा जसलाई गाउँलेले डम्मरु (उखुरधुम) भन्छन्, त्यसकै आडमा कटुस र अम्रिसोको लिङ्गो गाडिएको छ ।

लिङ्गोलाई स्थानीय भाषामा ‘सितम सेउला’ र ‘बजा सल्ला’ भन्ने गरिन्छ । लिङ्गोमुनि पूजा, धूपबत्ती चलिरहेको छ । गुरुबासँगै पूजारीले बीचबीचमा सगुन पिइरहेका छन् । गीतमा वन गन्दै जाँदा तोकिएको ठाउँमा रोकिएर सगुन लिने (फलाम खाने) चलन छ । गाउँका साँध सीमामा रहेका वन, बुकी, खर्क र गोठलाई गीतमार्फत सम्झिइन्छ ।

गीतलाई बूढापाकाले बाचा बाँधेको रुपमा पनि लिन्छन् । खाम भाषामा गाइने भएकाले जो कोहीलाई गीत बुझ्न कठिन पर्छ । पुर्खा कुलपितृ र देवीदेवतालाई गीतबाटै घुमाएर कुल (हेम्थो) घरमा ल्याएर राखिन्छ । वन गन्दै जाँदा बीचतिर पुगेपछि राँगोको बली दिने बेला हुन्छ । बली दिँदा ढ्याङ्ग्रोको ताल पनि फर्कन्छ ।

जिउँदो राँगोको सात करङ भाँचेपछि मुटु निकालेर कुल घरको सिरानमा चढाउने परम्परा छ । बिहान ४ बजे राँगोको बली दिएपछि पुनः ढ्याङ्ग्रोको तालमा गीत (वन गन्ने) शुरु हुन्छ । गीतबाट घुमाइफिराइ पितृलाई कुल घरमा ल्याएपछि दिउँसोपख सुँगुरको बली दिने बेला हुन्छ ।

कुल घरको पछाडि बारीमा रहेको डम्मरु (उखुरधुम) ढुङ्गामा सुँगुरको बली दिइन्छ । उल्टो पारेर लिङ्गोमा झुण्डाइएको सुँगुरको मुख काटेर रगत देउतालाई चढाउने चलन छ । पूजापाठपछि सुँगुरको मुटुपनि झिकेर लिङ्गोमाथि चढाइन्छ । गीतबाट वन गन्ने, पूजापाठ र बली दिने काम सकिएपछि बल्ल सिस्नो खोस्ने तयारी शुरु हुन्छ ।

बली दिइएको सुँगुरको साँप्रोलाई सिस्नोको मुठाभित्र बाँधिन्छ । एकाथरी ढ्याङ्ग्रो र झ्यालीको तालमा गीत गाउँदै अघि बढ्छन् । पछिपछि सुँगुरको साँप्रो राखिएको सिस्नोको मुठा बोकेका युवा जमात हुन्छन् । समूहमा ‘आयो, आयो..’ भन्दै गीत गाउने गरिन्छ ।

बारीको पल्लो छेउ मौलिक वेशभूषामा सजिएर सिस्नो खोस्न तम्तयार युवतीहरु हुन्छन् । हातमा सिस्नो समातेका युवकहरु युवतीको छेउछाउ पुग्छन्, सिस्नोले हातमा छोइदिन्छन्, जिस्किन्छन् । केटा पक्षले सिस्नोमा बाँधेर ल्याएको सुँगुरको साँप्रो खोस्न होमिन्छन् युवतीहरु । अनि शुरु हुन्छ तानातान र खोसाखोस ।

यो दृश्य निकै नै अनौठो र रोमाञ्चक देखिन्छ । कोही घोडा र शिकारीको भेषमा नाचिरहेका हुन्छन्, कोही सारङ्गी बजाउँदै हिँड्छन् । ढ्याङ्ग्राको ताल झन्झन् जोडले बज्न थाल्छ । युवायुवतीबीच खोसाखोस र ठेलमठेल चलिरहेकै हुन्छ । अन्तिममा एक पक्षले जित्छ । जसले जितेपनि सँुगुरको साँप्रोको मासु प्रसादका रुपमा सबै मिलेर खान्छन् ।

युवतीले जिते युवकहरुले दण्ड तिर्नुपर्ने चलन छ । यसरी नै वर्षौँदेखि तारागाउँका मगर समुदायले भदोरै सिस्नो पर्व मनाउँदै आएका छन् । यसपालि पनि चार दिनसम्म चलेको पर्वलाई गाउँलेले मङ्गलबार बिदा गरे । “भदोरै हाम्रा शाखा, पुर्खा यहाँ आउँदा लिएर आएको पर्व हो,” गुरुबा रोकाले भन्नुभयो – “यो गाउँलेको पूजा हो । गाउँलाई राम्रो होस् भनेर गरेको हो ।”

हरेक दुई वर्षको फरकमा भदौ शुक्ल पक्ष (उजेली पक्ष) पारेर भदोरै पर्व मनाउने गरिन्छ । शनिबारदेखि शुरु हुने पर्वलाई मङ्गलबार अन्त्य गर्ने परम्परा रहेको स्थानीयवासी रविन घर्तीले बताउनुभयो । पहिलो दिन गाउँका बूढापाकाले र दोस्रो दिन अविवाहित युवायुवती तथा बूढापाका मिलेर बाटो सरसफाइ गर्ने चलन छ ।

यस्तै, तेस्रो दिन सोमबार तारागाउँको सरसफाइ गरेपछि भिस्टल्ला भन्ने ठाउँमा मही चढाउने, बाँड्ने र खाने गरिन्छ । सोही ठाउँमा पहिले लेकबाट आएका गोठालाले ठेकीमा नौनी घिउको बिर्को लगाएर मही लिएर आउने गरेको स्थानीयवासी बताउँछन् । “सोमबार साँझदेखि पूजापाठ शुरु हुन्छ र मङ्गलबार बेलुका पर्व सकिन्छ,” घर्तीले भन्नुभयो ।

सोमबार राति ‘सितम सेउला’ र ‘बजा सल्ला’ राख्ने, वन गन्ने (गीत गाउने) काम हेम्थो (कुल) घरकै भित्र हुन्छ । राँगोको बली पनि कुल घरकै आँगनमा दिने गरिन्छ । स्थानीयवासी रिमबहादुर घर्तीको घरलाई गाउँलेले कुल घर मान्दै आएका छन् । घर्तीका बुबा मुखिया भएकाले सोही घरलाई पछि कुल घरका रुपमा लिइएको हो ।

पर्वको अन्तिम दिन मङ्लबार भने पूजापाठ, बली, सिस्नो खोस्ने काम कुल घरकै पछाडिको बारीमा हुन्छ । अन्तिममा कुल घरकै आँगनमा सिस्नो खोसेपछि भदारै पर्वको अन्त्य हुन्छ । यसपालि भदोरै पर्वलाई व्यवस्थित रुपमा सञ्चालन गरिएको मगर समाजका अध्यक्ष झकबहादुर घर्तीले बताउनुभयो ।

“भदोरै सिस्नो खोस्ने पर्व हाम्रो ऐतिहासिक पर्व हो, यसको जगेर्ना हुनुपर्छ भनेर हामी लागिपरेका छौँ,” उहाँले भन्नुभयो । पर्वको आयोजना र व्यवस्थापन मगर समाज तारागाउँले गरेको थियो । छिमेकी गाउँहरुबाटसमेत पर्व अवलोकन गर्न आउने मानिसहरुको घुइँचो लागेको थियो ।

ताराखोला गाउँपालिका–४ र ५ को साझा पर्वका रुपमा भदोरै सिस्नो खोस्ने पर्वलाई लिइएपछि अहिले सिङ्गै गाउँपालिका र जिल्लाकै पहिचानसँग जोडिएको छ । कुलपितृको उद्धार, गाउँलेको भलो होस्, सुख, ऐश्वर्य मिलोस्, रोगव्याधि नलागोस्, अन्नबाली सप्रियोस् भन्ने कामना गर्दै भदोरै पर्व मनाउने गरिन्छ ।

झण्डै ३०० वर्षअघि डोल्पाको ताराभोटबाट आएका मगर समुदायका पूर्वजले पर्वको प्रचलन बसालेका थिए । गाउँलेले पर्वलाई पुर्खाको नासोको रुपमा लिन्छन् । पर्व जोगाउन बूढापाकादेखि युवा पुस्ताको सक्रियता र सहभागिता रहँदै आएको छ । पहिलोपटक सिस्नो खोस्ने खेलमा सहभागी भिमा घर्तीले मौलिक संस्कृति र परम्पराको संरक्षणमा युवा पुस्ता अग्रसर हुनुपर्ने बताउनुभयो ।

सिस्नो खोस्ने पर्वले युवायुवतीबीच भेटघाट हुने, आत्मीयता बढाउने अवसरका रुपमा पनि लिइन्छ । सिस्नो खोस्दा युवायुवतीले आँटेको पुग्ने, वैवाहिक जीवन सफल हुने र परिपक्वता पनि झल्कने विश्वास गरिन्छ । ताराखोला गाउँपालिका–३ हिल र २ अर्गलमा पनि भदौरे जात्रा तथा कुल पूजाका अवसरमा सिस्नो खोस्ने पर्व मनाइन्छ ।

सिस्नो खोस्ने, भुस पोल्नलगायतका मेला र पर्व ताराखोला गाउँपालिकाका ऐतिहासिक संस्कृति हुन् । मौलिक संस्कृति र परम्परा संरक्षणका लागि गाउँपालिकाले सघाउने अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । “मौलिक संस्कृति, पर्व र मेला ताराखोलाका पहिचान हुन्,” उहाँले भन्नुभयो – “स्थानीयवासीसँग मिलेर संरक्षणको काम अघि बढाउँछौँ ।”

गाउँपालिकाले ‘बहुसाँस्कृतिक सङ्ग्रहालय’ निर्माणको योजना पनि अघि सारेको छ । कला, संस्कृति, रहनसहन, मनोरम भूगोल, स्थानीय उत्पादनलगायतले चिनिएको गाउँपालिकाले विसं २०७७ लाई भ्रमण वर्षका रुपमा मनाउने निर्णय गरेको छ । ताराखोला मगर बाहुल्य गाउँ हो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !