५ मंसिर २०८१, बुधबार

पशुपतिनाथको विधिपूर्वक दर्शन कसरी गर्ने ?


पशुपतिनाथको दर्शन तस्वीर सौजन्य : विजय कुमार श्रेष्ठ

काठमाडौँ । शिवका अनेकौ नामहरुमध्ये पशुपति पनि एक हुन् । ब्रह्माण्ड, चराचर जगतका प्राणीहरुको कल्याण गर्ने भगवान शिव समस्त हिन्दुहरुका आराध्यदेव हुन् ।

पशुपतिनाथको परम अनुकम्पाले आयु, आरोग्य बृद्वि हुन्छ । पापकर्म गर्नेहरुको पापको क्षय गराउँदै धर्मभीरुहरुको उन्नति, प्रगति र सम्बृद्वि गराउन भगवानका वरद् हस्त सदा सर्वत्र फैलिरहेका छन् ।

पशुपतिनाथको मन्दिर र पाशुपत क्षेत्र प्राचीनकालदेखि नै विश्वभरका सनातन हिन्दूको श्रद्धा र आस्थाको केन्द्रबिन्दु एवं पवित्र तीर्थस्थलका रूपमा रहिआएको छ ।

पशुपतिनाथालाई शैव, शाक्त, वैष्णव, बौद्ध, जौन, गाणपत, नाथ, सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूले समान आस्था र श्रद्धाको दृष्टिकोणले हेर्छन् । जन्मदेखि मृत्युसम्मका संस्कार सम्पन्न गरिने यस पावन स्थलमा वागमती नदीले यसको महिमा अझै बढाएको छ ।

हिन्दू धर्ममा आस्था राख्नेहरू पशुपतिनाथलाई केदारनाथको शिरोभाग मान्दछन् । यसैले भारतमा रहेका प्रसिद्ध चार धाम–बद्रीनाथ, केदारनाथ, जगन्नाथ र रामेश्वरम्को यात्रा गरिसकेपछि नेपालमा रहेको पशुपतिनाथको दर्शन गरिएन भने त्यो अपूर्ण हुन्छ भनेर यहाँ दर्शन–पूजनका लागि आउने चलन छ ।

‘पशु’ र ‘पति’ यी दुई शब्दबाट ‘पशुपति’ बनेको छ । पशु भन्नाले ज्ञान, विवेक र चेतनाको अभाव भएको जीवात्मा भन्ने बुझिन्छ । यसैले दुई खुट्टे, चार खुट्टे पशु मात्र होइन सर्वोत्कृष्ट सम्झिएको मानिस पनि अज्ञानताले घेरुञ्जेल ऊ पशु बराबरै हुन्छ ।

भगवान् पशुपतिनाथको पूजा, अर्चना एवं उनीप्रतिको साँचो भक्तिभावले व्यक्तिमा भएको अन्धकार नाश हुन्छ, विवेक जागृत हुन्छ र आत्मसाक्षात्कारको मार्गमा प्रवृत्त हुन्छ भन्ने विश्वास गरिन्छ । पशुपति सम्पूर्ण जीवात्माहरूका पति अर्थात् स्वामी हुन् ।

पशुपतिनाथको पौराणिक कथा

पौराणिक कथानुसार महाभारतको युद्घपछि पाण्डवहरुले भगवान कृष्ण र भिष्मसँग युद्घमा आफूले आफन्तहरुको हत्या गरेकाले गोत्रहत्याको पापबाट मुक्त हुनका लागि के उपाय गर्नु पर्ला भनेर सोधेका थिए । भगवान शिवको दर्शन गरेपछि गोत्रहत्याको पापबाट मुक्त होइन्छ भन्ने कुरा कृष्णले बताएपछि पाण्डवहरु शिवजीको दर्शन गर्न हिमालयमा गए । पाण्डवहरु आएको देखेर शिव भैँसीको रुप लिई भैँसीको बथानमा लुकेका थिए । पाण्डवहरुले भैँसीरुपी भगवान शिवलाई चिनेर दर्शन गर्न नजिकै जाँदा भैँसीरुपी शिव जमिनभित्र अलप भएका थिए । यसरी शिव जमिनमा धसिंदा भैँसीरुपी शिवको पुच्छर पाण्डवले समात्दा केदारनाथमा केदारनाथ भगवान प्रकट भएका थिए । भैँसीरुपी शिवको शिर नेपालमा रह्यो । नेपालको वाग्मती तटमा पशुपतिको रुपबाट शिव प्रकट भए । यसरी पाण्डवहरुले पशुरुपी शिवको पुच्छर स्पर्श गरेर गोत्रहत्याको पापबाट मुक्त भएका थिए । पशुको रुप लिएर प्रकट भएको हुनाले भगवान शिवलाई पशुपतिनाथ भनिएको हो ।

एक अर्को कथा अनुसार भगवान शिवले मृगको रुप लिएर श्लेष्मान्तक वनमा पार्वतीका साथमा विहार गरेका थिए । पछि पार्वतीले तपस्या गरी खोजी हेर्दा नेपालको वाग्मती किनार मृगस्थलीमा शिव मृग रुप रहेर विहार गरेको थाहा पाएपछि ब्रह्मा, विष्णु र इन्द्र तीनै जनाले खोजी गर्दा वाग्मती पारिपट्टी शिवलाई भेटी समात्न खोज्दा मृगवर्ण शिवको सिङ् तीन टुक्रा भएको प्रसङ्गले समेत शिवलाई पशुहरुका मालिक पशुपतिनाथ भनि सम्बोधन गरिएको हो ।

पशुपतिनाथको विधिपूर्वक दर्शन

हामीले पशुपति धेरै पटक दर्शन गरिसकेका छौ । कोही दर्शन गर्न जाने तयारीमा हुनुहुन्छ तर, विधि पुर्याएर कसरी गर्ने भन्नेबारे जानकारी प्रस्तुत गरिएको छ ।

सबैभन्दा पहिलो चोखोनितो भएर पशुपति मन्दिर परिसर पुग्नुपर्छ । त्यहाँ जुत्ता चप्पल बाहिर खोलेर सुरक्षा जाँच गराएर पश्चिम ढोका हुँदै मूल मन्दिर जानुपर्छ ।

मन्दिरको पश्चिम ढोकैमा गुरूको मन्दिर छ । जुन गुरू पूर्णिमाका दिन मात्र खुला हुन्छ । पहिले यसको दर्शन गरेर भित्र जानुपर्छ । पशुपतिका मूल भट्टहरू पनि पहिले गुरूको पूजा गरेर मात्र मन्दिर भित्र प्रवेश गर्छन् ।

त्यसपछि पश्चिम गेट नजिकै रहेको गणेश र स्कन्द कुमारको दर्शन गर्नुपर्छ । त्यसपछि शंकराचार्य मठको दर्शन गर्ने । गणेशलाई दुबो र लड्डु चढाउने ।

धाराभन्दामाथि रहेको चाँगुनारायणको मन्दिरको दर्शन गरेर रूद्रकारेश्वरको दर्शनपछि मात्र पश्चिम मूल ढोलाको दर्शन गर्नुपर्छ ।

त्यसपछि बजरंगबली हनुमानको दर्शन गरिसकेर नटेश्वरको दर्शन गर्ने । त्यसपछि त्रिशूलको दर्शन गर्ने र सँगै रहेको अन्नपूर्ण माताको दर्शन गर्ने ।

त्यसपछि चन्डेश्वरको दर्शन गरेर पूर्व दिशामा रहेको सूर्यको दर्शन गर्ने । अनि लाल गणेशको दर्शन पछि मात्र बासुकीको दर्शन गर्न जानुपर्छ ।

बासुकी नागमा दर्शन गर्न तिल, जौ, दही, दुध, घ्यू र मह चढाउनु पर्छ । त्यसका लागि ११ सयदेखि करौडौंसम्मको विशेष पूजा हुन्छ । विशेष पूजा नगर्ने भक्तजनले सग्लो बेलपात पुजारीलाई भनेर चढाउन पाउँछन् ।

बासुकीको दर्शन पछि दाँयाबाँया बुढानिलकण्ठको दर्शन गर्ने । विष्णुलाई जौ र तिलले पूजा गर्ने । त्यसपछि पूर्वीद्वारको दर्शन गर्ने, भ्रृंगी, अष्ट चिरन्जिबीको दर्शन गरिसकेपछि बागमति नदिको दर्शन गर्ने । त्यहाँ छेउमै रहेको श्रीयन्त्रको दर्शनपछि सन्तानभरेश्वरको दर्शन गर्ने । यहाँ केही बेर आराम गर्ने ।

त्यसपछि श्रीकृष्णको दर्शन गर्ने र ल्याएको नरिवल फुटाउने । पशुपति मन्दिर परिसर भित्र यही मात्र नरिवल फुटाउन पाइन्छ । श्रीकृष्णको दर्शनपछि भैरवको दर्शन गर्ने । त्यसपछि उन्मत्त भैरवको दर्शन गरिसकेपछि शहस्र लिङ्गको दर्शन गर्ने । शहस्र लिङ्गमा बेलपात, तिल, जौ, दही, दुध, घ्यू र मह चढाउनुपर्छ ।

त्यसपछि नवदुर्गाको दर्शन गरेर नवग्रहको पूजा गर्ने । पशुपति मन्दिर दक्षिण–पश्चिम पट्टी रहेको वनग्रहमा तिल, जौ, दही, दुध, घ्यू र मह चढाउनुपर्छ ।

त्यसपछि नन्दिश्वर हनुमान र नन्दीलाई घुम्ने ।

अब दक्षिण ढोकाबाट मन्दिरलाई चिहाउने मात्र फेरि पूर्व जाने, त्यहाँ पनि चिहाउने र दक्षिण हुँदै पूर्वद्वारमा जाने ।

पूर्वद्वारसँगै रहेको तत्पुरूषको दर्शन गर्ने अनि फेरि दायाँहुँदै पश्चिम आउनुपर्छ ।

अब उत्तरमा बामदेवको दर्शन गरिसकेपछि मन्दिरको सिँडी ओर्लिने फेरि पेटीमा नचढ्ने । बाहिरबाटै पूर्वमा गएर पूर्वीद्वारबाट राम्रोसँग दर्शन गर्ने ।

शिवको ध्यान गर्ने नारायणको दर्शन गर्ने, गजुरको दर्शन गर्ने र शिवको साक्षात रूप सम्झिने । यति गरेपछि पशुपति मन्दिर परिसर भित्रको पूजा र दर्शन पूर्ण हुन्छ ।

विशेष गरी शिवरात्री तथा पूर्णिमाको दिन दर्शन गरे पूण्य हुने विश्वास छ । पूर्णिमाको दिन बिहानदेखि बेलुकासम्मै पूजा गरे साक्षात शिवजीको दशर्न पाइन्छ भन्ने विश्वास छ ।

विशेष पूजा नगरेमा बाशुकी र पशुपतिमा नच्यातिएको फूल बेलपत्र लग्यौ मन्दिरमा भट्टका सहायकहरूले चढाइदिन्छन् । पशुपतिको मूल मन्दिर भित्रै पसेर पूजा तथा दर्शन गर्न भट्टबाहेक कसैले पनि पाउँदैनन् । जस्तोसुकै विशेष पूजा भए पनि मन्दिरको मूल ढोकाबाट मात्र दर्शन गर्न पाउने परम्परा छ ।

पशुपति मन्दिरभित्र साढे ५ बजेदेखि ८ बजेसम्म विशेष आरती हुन्छ । यो मन्दिरका भट्टहरूलेनै गर्ने आरती हो । यतिखेर मन्दिरका चारै ढोका खुल्ला हुन्छ । यस्तै पुस महिनामा रातिको समयमा विशेष पूजा हुन्छ । जुन उज्यालो हुँदा सकिन्छ ।

पशुपतिनाथको नित्य आरती

जय शिव शंकर शम्भो जय गिरिजाधीश । शिव जय गिरिजाधीश ।।

जय जय करुणासागर २ पशुपति जगदीश । ॐ हर हर हर महादेव ।।

गिरि कैलाश निवास छ गण छन् सहचारी । शिव गण छन् सहचारी ।।

मुण्ड माला छ गलामा २ रुप छ भयहारी । ॐ हर हर हर महादेव ।।

डमरु त्रिशुल सुसोभित प्रभुका दुइ करमा । शिव प्रभुका दुइ करमा ।।

भूषण नाग विराजित २ बाघाम्बर तनमा । ॐ हर हर हर महादेव ।।

तीन नयनमा थरीथरी ज्योति छ दिव्य सदा । शिव ज्योति छ दिव्य सदा ।।

वाहन वृषभ मनोहर २ सँगमा छन् गिरिजा । ॐ हर हर हर महादेव ।।

भष्म विलेपन सुन्दर शिरमा चन्द्रकला । शिव शिरमा चन्द्रकला ।

कलकल बग्छिन हरदम २ गंगा पुण्यजला । ॐ हर हर हर महादेव ।।

ब्रह्मा विष्णु महेश्वर प्रभुका रुप सबै । शिव प्रभुका रुप सबै ।।

सृष्टि–स्थिति लय सबहुन् २ शुभ लिला प्रभुकै । ॐ हर हर हर महादेव ।।

वेद पुराण थकित छन् प्रभुको वर्णनमा । शिव प्रभुको वर्णनमा ।।

कण कण व्यापक प्रभुको २ महिमा त्रिभुवनमा । ॐ हर हर हर महादेव ।।

सुर नर मुनि सब प्रभुकै निसदिन ध्यान गरी । शिव प्रभुकै ध्यान गरी ।।

परमानन्द मगन भै २ जान्छन् पार तरी । ॐ हर हर हर महादेव ।।

सच्चिदानन्द परात्पर सज्जन हितकारी । शिव सज्जन हितकारी ।।

जय जय साम्बसदाशिव २ जय जय त्रिपुरारी । ॐ हर हर हर महादेव ।।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !