७ बैशाख २०८१, शुक्रबार

सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि सुरु हुँदै


सेतो मच्छिन्द्रनाथको रथयात्रा

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु हुँदैछ । रथयात्राका लागि दिउँसो ४ बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिने छ ।

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ । शहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ ।

तीनधारा पाठशालाअघि ३२ हात लामो रथ बनाएर चैते दशैँका दिनदेखि तान्ने गरिएको छ । यो रथलाई नागराजको प्रतीक मानिन्छ । प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने धार्मिक विश्वास छ । रथ दोस्रो दिन असनबाट वसन्तपुरस्थित कालभैरवअघि लगिन्छ । तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ ।

काठमाडौं महानगरपालिकाले आजदेखि आइतबारसम्म काठमाडौंका केही सडकमा सवारी आवगमन प्रभावित हुनसक्ने जनाएको छ । महानगरद्वारा जारी सूचनामा सेतो मच्छिन्द्रनाथको रथजात्राका कारण आइतबारसम्म सवारी आवगमन प्रभावित हुने उल्लेख गरिएको छ । रथयात्रा हुने सडकमा सबै प्रकारका सवारी साधनहरूलाई प्रवेशमा निषेध गरिएको काठमाडौँ महानगरले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !