१३ बैशाख २०८१, बिहिबार

आज दशैंको छैटौं दिन, कात्यायनी देवीको पूजा आराधना गरिदै


कात्यायनी

काठमाडौं । आज नवरात्र वा दशैंको छैटौ दिन कात्यायनी भगवतीको पूजाआराधना गरिदैछ । देवी कात्यायनीलाई साहसको प्रतिक र पार्वतीको सौर्य अवतार मानिन्छ । आज आ-आफ्नो घरमा राखिएको जमरा तथा प्रतिस्थापना गरिएको दुर्गा भवानीको पूजा–आराधनाका साथै दुर्गा सप्तशती चण्डी पाठ पनि गरिन्छ ।

कात्यायनीको उत्पत्तिबारे पुराणमा यस्तो कथन पाइन्छ, कात्यायनको ऋषिको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन्। महिषासुर नामक दैत्यको विनाशका लागि ब्रह्मा, विष्णु र महेश्वरको अंशबाट देवी उत्पन्न भइन् । यिनै कात्यायन ऋषिद्वारा पुजित भएकीले यिनको नाम कात्यायनी भएको हो ।

सिंहवाहिनी कात्यायनीले महिषासुरको वध गरेको दुर्गा सप्तशतीमा आउँछ । चार हातमध्ये दुई हातमा तरवार, कमल पुष्प लिएकी र दुई हातले अभय र वरद मुद्रा प्रदर्शन गरेकी छिन्। यिनको आराधनाबाट सम्पूर्ण संकट नाश हुने विश्वास गरिन्छ ।

नवरात्रमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष पूजा आराधना गरिन्छ । कात्यायनीलाई वैज्ञानिक दृष्टिले Nuclear अर्थात् ब्रह्माण्डीय सम्पूर्ण केन्द्र शक्तिको स्वरूप मानिन्छ ।

दसैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाआधाना गर्ने गरिन्छ ।

नवरात्रको अन्यदिन झैं आज पनि गुह्येश्वरी, शोभाभगवती, नक्सालभगवती, भद्रकाली, संकटा, बज्रबाराही, पलाञ्चोक भगवती, दक्षिणकाली, मनकामना लगायत देशभरिका शक्तिपीठहरूमा भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !