७ बैशाख २०८१, शुक्रबार

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै


ब्रह्मचारिणी देवी

काठमाडौं । हिजोबाट बडादशैं शुरु भएको छ । आज नवरात्रको दोस्रो दिन नवदुर्गा भवानीको दोस्रो स्वरुप ब्रह्मचारिणीको पूजा आराधना गर्ने गरिन्छ । आज दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिन्छ ।

नवरात्रको पहिलो दिन हिजो दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो ।

संसारका मुमुक्षु प्राणीलाई सच्चिदाननद रुप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गामध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो । साधकहरु आजको दिन आफ्नो मनलाई माता ब्रह्मचारिणीको चरणमा लगाउँछन् ।

परब्रह्म परमात्मासँग साक्षात् गराउने ब्रह्मचारिणी देवी तीन नेत्रले युक्त हुनुहुन्छ । ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने विधान छ ।

ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ । तपस्याको आचरण गर्ने देवीकाका रुपमा ब्रह्मचारिणीलाई लिइन्छ । ब्रह्मचारिणी देवीको दाहिने हातमा जपको माला र देब्रे हातमा कमण्डलु हुन्छ । माता ब्रह्मचारिणी देवीको कृपाले तपस्वीको सर्वत्र सिद्धि र विजय प्राप्त हुने मान्यता हिन्दू शास्त्रहरुमा उल्लेख छ ।

आज विवाह नभएका कुमारीहरुको पूजा गर्ने प्रचलन छ । कन्याहरुलाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले खाने प्रचलन पनि छ । नवरात्रका अवसरमा यसै गरी महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गरिन्छ । नवरात्रका समयमा जमरा राखिएका दशैंघर तथा शक्तिपीठमा पुगेर देवीको आराधना गर्ने परम्परा छ।

काठमाडौंको गुह्येश्वरी, संकटा, शोभा भगवती, मैतीदेवी, नक्साल भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, ललितपुरको बंगलामुखी काभ्रेको पलाञ्चोक भगवती, बाँकेको वागेश्वरी, गोरखाको मनकामना लगायत शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !