४ बैशाख २०८१, मंगलबार

बागलुङमा पर्यटन प्रवद्र्धन गर्न थानापतिको जीर्णोद्धार गरिँदै


थानापति मन्दिर बागलुङ

बलेवा । पौराणिक मान्यता र धर्मसँग जोडिएका पर्यटकीयस्थल बागलुङमा धेरै छन् । सदरमुकामदेखि दूरदराजसम्म रहेका पर्यटकीयस्थलकै कारण यहाँ महिनाअनुसार पुग्ने आन्तरिक पर्यटकको ठूलो लर्को लाग्छ ।

त्यस्तै पौराणिक मान्यता र धर्मसँग जोडिएको मन्दिर हो जिल्लाको बडिगाड गाउँपालिका–५ मा रहेको थानापति मन्दिर । योगीले तपस्या गरेर विलय भएको स्थानलाई पवित्र मानेर यहाँका सर्वसाधारणले पौराणिककालदेखि पूजाआजा गर्दै आएका छन् । सोही मन्दिरको थप व्यवस्थापन गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न गाउँपालिका लागिपरेको छ ।

ऋषिले तपस्यापछि विलय भएको मान्यता रहेको मन्दिर र आसपासको क्षेत्र पर्यटकका लागि आकर्षक भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । साउन महिनामा विशेष पूजाआजा हुने यस मन्दिरमा बागलुङको पश्चिम र गुल्मीको उत्तरी क्षेत्रका सर्वसाधारणको आस्था रहेको छ । यहाँ भक्तजनका हिसाबले पुग्ने धेरै छन् तर पौराणिक मान्यता र प्राकृतिक मनोरम दृश्य हेर्न पुग्नेमा भने प्रचार नपुगेका कारण मन्दिर ओझेलमा छ ।

मन्दिरको जीर्णोद्धार र पर्यटकीय पूर्वाधार निर्माणको काम थालिएको गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले बताए । मन्दिरको जीर्णोद्धार र थप संरचनाको विकास गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न गाउँपालिकाले डिपिआर तयार गरेको छ । डिपिआरअनुसार गत वर्ष रु पाँच लाख खर्चेर संरचना निर्माणको काम गरिएको अध्यक्ष पाइजाले बताए ।

योगीले देह त्याग गरेकाले यस मन्दिरमा मागेको पाइने जनविश्वास छ । वर्षभरि भाकल गरेर राखेका ध्वजा र प्रसाद साउनमा हुने पूजामा चढाउँदा मनोकाङ्क्षा पूरा हुने विश्वास रहेको मन्दिरका पुजारी लीलाधर घिमिरेले बताए । यहाँ पूजाका लागि पुग्ने सर्वसाधारणका कारण वर्षमा एक पटक ठूलो मेला लाग्छ । अन्य समयमा समेत धार्मिक मान्यताका आधारमा यहाँ पूजाआजाका लागि पुग्ने धेरै रहेको स्थानीयवासी बताउँछन् ।

गाउँपालिकाले बनाएको डिपिआरअनुसार काम भएमा थानापति मन्दिर बडिगाडको धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास हुने गाउँपालिकाको विश्वास छ । सङ्घीय, प्रदेश र स्थानीय विभिन्न सङ्घ संस्थाको सहयोगमा यो मन्दिरको जीर्णोद्धारसहितका संरचना बन्ने गाउँपालिकाले जनाएको छ । पर्यटनसँग जोडिने भएकाले आर्थिक उपार्जनको क्षेत्रसमेत यो मन्दिर तथा परिसर बन्ने गाउँपालिकाको अपेक्षा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !