१२ बैशाख २०८१, बुधबार

आज सातौ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै


yoga

काठमाडौं । आज सातौ अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । कोरोना महामारीका कारण सार्बजनिक कार्यक्रमको सम्भावना नभएकाले योगका विभिन्न आसन तथा ध्यान लगायतका कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवस मनाउन लागिएको छ ।

भारतको नेतृत्वमा सुरुवात गरिएको योग दिवस मनाउन अभियानलाई संयुक्त राष्ट्र संघको साधारणसभाले ११ डिसेम्बर २०१४ मा मान्यता दिएको थियो । संयुक्त राष्ट्र संघले सन् २०१५ देखि मान्यता दिएसँगै जुन २१ लाई विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरिएको हो ।

अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्र संघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए । प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री स्व‍. सुशील कोइरालाले समर्थन गरेका थिए । यो प्रस्तावलाई हाल विश्वका धेरै देशले समर्थन गरिसकेका छन् ।

बदलिँदो जीवनशैलीका कारण उत्पन्न हुने विभिन्न किसिमका शारीरिक रोग तथा मानसिक तनाव समाधान गर्न योगलाई प्रभावकारी मानिएको छ । पछिल्लो समय देखिँदै आएका कतिपय स्वास्थ्य समस्याहरु योग गरे समाधान हुने चिकित्सकहरु बताउँछन् ।

सहि योगले तरिकाले गरिने योगले शरीरका अंग र ग्रन्थीहरूको व्यायाम हुने र सबै अंगलाई सहज बनाउन सहयोग गर्दछ । साथै रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ । बढ्दो उमेरका बीच पनि योगले स्वस्थ र स्फूर्त बनाउछ ।

साथै योगको अर्को महत्वपूर्ण फाइदा तनाव कम गर्ने हो । त्यस्तै मीठो निद्रा लगाउने, भोक जगाउने र पाचनप्रक्रियालाई सही ढंगबाट चलाउने जस्ता फाइदा नियमित योग गर्नेहरुलाई हुने गर्दछ ।

संस्कृत भाषाको योग शब्दको अर्थ जोड्नु भन्ने हुन्छ । ‘योगश्चित्तवृत्तिनिरोधः’ अर्थात् मनमा आउने विभिन्न विकारलाई हटाउने प्रक्रियालाई नै योग भनिन्छ । योग दिवसका अवसरमा विभिन्न संघ संस्थाले बिहीबार विविध कार्यक्रमको आयोजना गर्दैछन् ।

योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्य क्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्मा बीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्ति लगायतका सकारात्मक गुणको विकास हुन्छ ।

भगवान् शिवले पत्नी पार्वतीलाई पहिलोपटक योग शिक्षा दिएको विभिन्न शास्त्रीय ग्रन्थमा वर्णन गरेको पाइन्छ। शिव र पार्वतीबीचको संवादलाई प्रचारप्रसार गरी योग संसारभर फैलिएको थियो । बीचमा लुप्तप्रायः भए पनि पछिल्लो समयमा अन्तर्राष्ट्रिय एवं राष्ट्रिय योग दिवस मनाउन थालेपछि यसको पुनःजागरण नै सुरु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !