१० मंसिर २०८१, सोमबार

माडीस्थित अयोध्यापुरीमा सीतारामको मूर्ति स्थापना गरिँदै


मूर्ति स्थापनाको तयारी

काठमाडौँ । श्रीरामनवमीका अवसरमा चितवनको माडीस्थित अयोध्यापुरीमा सीतारामको मूर्ति प्रतिस्थापन गरिने भएको छ । प्रतिस्थापनका लागि राम-सीताको मूर्ति रथयात्रासहित हिजो त्यसतर्फ लागेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका ती मूर्तिको रथयात्रा टोलीलाई हिजो बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरेका थिए ।

बिदाइपछि पशुपतिनाथ मन्दिरमा स्वस्तिवाचन र मन्त्रोच्चारणसहित पृथ्वी राजमार्ग हुँदै देवघाटतर्फ पठाइएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालको नेतृत्वमा गएको रथयात्रा समूह बेलुकी देवघाट पुगेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । रथयात्रा समूह हिजो देवघाटमै बास बस्नेछ ।

श्रीरामनवमीका दिन आज बुधबार बिहान गण्डकीमा स्नानसहित पूजा आराधना गरी चितवनको माडीस्थित अयोध्यापुरीतर्फ यात्रा अघि बढ्ने छ । बुधबार मध्याह्न १२ः३० बजे मूर्ति प्रतिस्थापन साइत रहेको उनले सुनाए । प्रतिस्थापनपछि पूजा आराधना, भजनकीर्तन लगायत कार्यक्रम समेत राखिएको जनाइएको छ ।

यात्रामा संस्कृति मन्त्रालयका सचिव यादव कोइराला, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम लगायत कोषका पदाधिकारी सहभागी भएको जनाइएको छ । गत असारमा प्रधानमन्त्री ओलीले ‘रामको जन्मभूमि’ अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति राख्ने घोषणा गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !