८ बैशाख २०८१, शनिबार

देवघाटमा स्नान गर्न आउनेको कमी


देवघाट

चितवन । पवित्र तीर्थस्थल देवघाटमा स्नान गर्न आउनेहरुको यसवर्ष कमी आएको छ । गत वर्षका तुलनामा यस वर्ष भक्तजनको सङ्ख्या थोरै नै रहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले जानकारी दिनुभयो ।

अघिल्ला वर्षहरूमा देवघाटमा स्नान गर्न आउने भक्तजन पाँच लाखभन्दा बढी हुने गरेका थिए । यस वर्ष भक्तजन तीन लाख हाराहारी हुने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । देशभर र भारतबाट समेत भक्तजन स्नानका लागि यहाँ आउने गर्दछन् । बुधबार बिहान बेनीमा बाँसको लिङ्गो गाडेर मेलाको शुभारम्भ गरिएको हो । कोरोना कहरका कारण यस वर्ष तीर्थालु भक्तजनको सङ्ख्यामा कमी आएको हो ।

निर्देशक घिमिरेका अनुसार यस वर्ष बजार लाग्ने मेला नगरी स्नानका लागि मात्र मेला गरिएको हो । विभिन्न उपसमितिमार्फत मेला व्यवस्थापन गरिएको जानकारी उहाँले दिनुभयो । देवघाट आउने सवारी साधनलाई ठिमुरा, रामनगर र दासढुङ्गाबाट आउने व्यवस्था मिलाइएको छ भने फर्कँदा तिनले आँपटारीको बाटो प्रयोग गरेका छन् ।

आपत्कालीन उद्धारका लागि सशस्त्र प्रहरी तयारी अवस्थामा छन् भने डुङ्गासहितको उद्धार टोली तैनाथ भएको छ । नेपाली सेना पनि उद्धारमा जुटेको छ । पुलमा लामबद्ध भएर जान र आउनका लागि स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरिएका छन् । नदीमा नुहाउन मिल्ने ठाउँ पहिचान गरी सीमाङ्कन गरिएको छ ।

ज्योतिषशास्त्रानुसार सौरमासको हिसाबले माघेसङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । यस दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामा र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । ‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घ्यू, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोग भइने जनविश्वास छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !