२ मंसिर २०८१, आइतबार

रानुदेवी : साङ्गीतिक मोर्चाबाट प्रजातान्त्रिक आन्दोलनमा


रानुदेवी अधिकारी

विराटनगर, १९ वैशाख । रेडियो नेपालकी प्रथम गायिका एवं स्वतन्त्रता सेनानी रानुदेवी अधिकारीको निधनले विराटनगरवासी दुखित भएका छन् । उहाँको ८६ वर्षका उमेरमा गए राति काठमाडौँ सिनामङ्गलस्थित मेडिकल कलेजमा निधन भएको थियो ।

विराटनगर कोइराला निवासका विश्वासिलो पात्र तथा नेपाली काङ्ग्रेसप्रति आस्थावान् अधिकारीलाई चिन्ने, जान्ने एवं सम्बन्ध हुने मानिसहरु उहाँको निधनमा गहिरो दुःखमा छन् । सन् १९३६ नोभेम्बर २७ तारिखमा वीरगञ्जमा जन्मनुभएका अधिकारीको बाल्यकाल भारतमा बितेको थियो । उहाँले विसं २००७ मा कृष्णप्रसाद कोइरालाका छोरा तारिणिप्रसादले विराटनगरस्थित रघुपति जुट मिलमा स्थापना गरेको प्रजातन्त्र रेडियोमा पहिलो गीत गाउने र समाचार वाचन गर्ने काम गर्नुभएको थियो । विराटनगरको आदर्श बालिका विद्यालयमा अध्यापन गर्नुभएका उहाँ अत्यन्त सरल स्वभावका हुनुहुन्थ्यो ।

शास्त्रीय संगीतमा विशेष लगाव राख्नुभएका अधिकारीका नेपाली अघि बढ, हातमा क्रान्ति झण्डा लिई, जागे नेपाली उठे नेपाली, जुनेली रात हजुर लगायत गीत चर्चित छन् । उहाँका ६ गीत प्रजातन्त्र रेडियोमा रेकर्ड भएको बताइएको छ । ती गीतले जहानियाँ राणा शासनविरुद्ध सङ्घर्षरत प्रजातान्त्रिक योद्धालाई आन्दोलनमा रहन उत्साह भरेको थियो ।

निरङ्कुशता विरुद्धको प्रजातान्त्रिक आन्दोलनमा उहाँले कला र साङ्गीतिक मोर्चामा रहेर काम गरेको विराटनगरका साहित्यकार दधिराज सुवेदी बताउनुहुन्छ । अधिकारीको जीवनीमा आधारित ‘मेरो कथा’ नामक पुस्तक पत्रकार शङ्कर खरेलले प्रकाशन गरेसँगै उहाँको थप चर्चा चुलिएको थियो । जनआन्दोलनपछि केही समयका लागि नेपाल महिला संघ मोरङका अध्यक्षसमेत हुनुभएका अधिकारी २०३६ सालको शिक्षक आन्दोलनमा कारागार पर्नुभएको थियो ।
अधिकारीको गए राति नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । स्व अधिकारीका एक छोरा र दुई छोरी हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !