४ जेष्ठ २०८१, शुक्रबार

नेकपाभित्र भुइचालो : प्रधानमन्त्री ओलीले ल्याए आवश्यक परे पार्टी फुटाउन नयाँ अध्यादेश


केपी शर्मा ओली

काठमाडौं, वैशाख ८ । विश्वभर कोरोना भाइरस (कोभीड-१९) को संक्रमणले महामारी लिईरहेको बेला नेपालको राजनीति एकाएक तातेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सत्ताबाट हटाउने आशंका बढेपछि आवश्यक परे नेपाल कम्युनिष्ट पार्टी फुटाउन आफूलाई सजिलो हुने गरी मन्त्रिपरिषद्वाट अध्यादेश पास गरेका छन् ।

उनले संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी सोमबार मन्त्रिपरिषदबाट अध्यादेश पास गराएर राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाएका छन् ।

मन्त्रिपरिषदमा यो अध्यादेशको ३ जना मन्त्रीहरु परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कृषिमन्त्री घनश्याम भुषाल र उर्जामन्त्री वर्षमान पुनले यस्तो गम्भीर निर्णय अहिलेको समयमा गर्नु ठिक हुन्न कि भनेर असहमति जनाएपनि अरू मन्त्रीले मौन समर्थन जनाएको बालुवाटार निकट स्रोतले बताएको छ । उक्त अध्यादेश राष्ट्रपति भण्डारीले आजै जारी गर्ने सम्भावना छ ।

पछिल्लो समय सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीमा दुई अध्यक्षहरु केपी शर्मा ओली र प्रचण्डबीच मतभेद चुलिँदै गएको थियो । पछिल्ला केही दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टीको जिम्मेवारी दिने गरी नेकपामा तयारी भइरहेको सूचना बाहिर सार्वजनिक भएको थियो ।

संसदीय दलका ४० प्रतिशतभन्दा माथि सदस्यको भने प्रधानमन्त्री ओलीलाई साथ रहेको ओली पक्षको दाबी छ । त्यसैले संसदीय दलमा ४० प्रतिशत समर्थन भए नेकपा फुटाएर छुट्टै पार्टी गठन गर्न मिल्ने गरी अध्यादेश ल्याउन लागिएको बालुवाटार स्रोतले बताएको छ । सरकारले ल्याएको अध्यादेश संसदको बहुमतले संसद अधिवेशन सुरूभएको ६० दिनभित्र पास गर्नुपर्ने संविधानको धारा ११४ मा व्यवस्था गरिएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !