८ मंसिर २०८१, शनिबार

बाटोमा अलपत्र परेकालाई सहयोग गर्न तरुण दलको परिपत्र


तरुण दल

काठमाडौँ, १८ चैत । नेपाल तरुण दलले ‘लकडाउन’का कारण आफ्नो गन्तव्यसम्म पुग्न नपाई बीच बाटोमा अलपत्र परेका व्यक्तिलाई प्रशासनको सहयोगमा गन्तव्यसम्म पुग्न र खान बस्नको व्यवस्थापन गर्न आफ्ना जिल्ला समितिलाई परिपत्र गरेको छ । तरुण दलले आज एक परिपत्रमार्फत लकडाउनका कारण सीमानाकामा अलपत्र नेपालीलाई तोकिएको समय क्वारेन्टाइनमा बस्ने गरी नेपाल भित्रिने सहज वातावरण मिलाउन आफ्ना सम्बन्धित जिल्ला अध्यक्षलाई स्थानीय प्रशासनसँग समन्वय गर्न निर्देशन गरेको हो ।

तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले परिपत्रमार्फत कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेको लकडाउनको अवधिमा दैनिक जनजीवन कठिन हुने र यस्तो अवस्थामा स्थानीय प्रशासनसँग अनुमति लिई नियम क्रियाकलापमा सहजीकरण गर्न सबै जिल्ला अध्यक्षलाई आग्रह गर्नुभएको हो । उहाँले सबै जिल्ला कार्यसमितिलाई बाहिरी मुलुकबाट आएका व्यक्ति क्वारेन्टाइनसम्म पुग्न नसकेका र नपुगेका भए स्थानीय प्रशासनसँग सहयोग लिई गन्तव्यसम्म पुग्ने वातावरणको सिर्जना गरी सहयोग गर्न निर्देशन दिनुभएको छ ।

सरकारले लागू गरेको लकडाउनको पूर्णपालना गर्न र गराउन आवश्यक भूमिका निर्वाह गर्न, देशका विभिन्न भू–भागबाट सबै जिल्लामा बसोबास गर्ने व्यक्तिलाई कुनै समस्या परेको भए त्यसको समस्या समाधान गर्न सहयोग गर्न र दैनिक ज्याला मजदुरी गरी छाक टार्ने वर्गलाई निर्वाहका लागि आवश्यक सहयोग गर्न तरुण दलले आफ्ना जिल्ला समितिलाई परिपत्र गरेको छ । खाद्यान्न, तरकारी, दूध, औषधि, पानीलगायत दैनिक उपभोग्य सामानको खरिद गर्दा भीडभाड हुने भएकाले केही सजगता र एकअर्काबीच दूरी कायम गर्न तथा स्थानीय प्रशासनको समन्वयमा खरिद प्रक्रियामा सहजीकरण गर्नसमेत अध्यक्ष बस्नेतले परिपत्र गर्नुभएको छ ।

तरुण दलले अति आवश्यक कामबाहेक अन्य काममा घर बाहिर ननिस्की सुरक्षित तरिकाले घरमै बसी केही समयलाई समाजिक दूरी कायम गर्न सबैलाई आग्रह गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !