७ बैशाख २०८१, शुक्रबार

प्रधानन्यायाधीश सिफारिसमा सभामुखको आपत्ति


Onsari-Gharti-Magar Onsari-Gharti-Magar

काठमाडौं : सभामुख ओनसरी घर्ती मगरले नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि आइतवार साँझ बसेको संबैधानिक परिषद्को बैठकको निर्णयमा आफूले कुनै हालतमा हस्ताक्षर नगर्ने घोषणा गरेकी छन् ।
ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा अन्नपूर्णसँग कुरा गर्दै सभामुख घर्तीले आफू विरामी भएर आपतकालीन अवस्थामा उपचाररत रहँदा रहँदै आफ्नु पनि सहमती भनी प्रचार गरेर राखिएको सो बैठक अमानवीय भएको पनि बताइन् । उनले भनिन्,‘म अस्पतालमा छु र यो कुरा प्रधानमन्त्रीज्यूलाई पनि थाहा छ तर पनि बैठक राखियो, मानवीय संवेदनाको रत्तिभर ख्याल गरिएन त्यसैले यो अमानवीय तरिकाले गरिएको निर्णय हो, यसमा मैंले हस्ताक्षर गर्ने वा सहमती जनाउने कुरै हुँदैन ।’

प्रधानमन्त्रीले भेटेर सहमती लिई बैठकबाट निर्णय गरिएको भन्ने प्रकाशित समाचारप्रति असहमती जनाउँदै उनले प्रधानमन्त्रीलाई केही दिनका लागि बैठक सारिदिन आग्रह गरेको बताइन् । उनले भनिन्,‘उहाँ(प्रधानमन्त्री) मलाई भेट्न आउनु भएको थियो, उहाँलाई मैंले केही दिन बैठक सारिदिन आग्रह गरेकी थिएं, सहमती दिएको होइन । एमाओवादीका नेता नारायणकाजी श्रेष्ठ पनि उहाँसंगै हुनुहुन्थ्यो र श्रेष्ठले पनि केही दिन सारिदिऊं न त भन्नु भएको थियो तर प्रधानमन्त्रीले ढिला भइसक्यो भनेर निस्कनु भएको थियो ।’

सभामुख घर्तीले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियाप्रति आफ्नो असहती रहेको पटक पटक दोहोर्‌याइन् । उनले भनिन्,‘सुशीला कार्कीलाई प्रधानन्यायाधीश बनाउने ऐतिहासिक निर्णय गर्दा म आफैं सहभागी हुन चाहान्थे तर मलाई सहभागी गराइएन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने संबैधानिक परिषद्मा सभामुख, प्रधानन्यायाधीश, उपसभामुख र विपक्षी दलका नेता सदस्य रहने संबैधानिक व्यबस्था छ । कानुनअनुसार कुनै एकजनाको अनुपस्थिति भएमा कोरम नपुग्ने भएकाले सो बैठकले निर्णय गर्न सक्दैन । सभामुख घर्तीको असहमतीका कारण आइतवार सांझ भएको नयांप्रधानन्यायाधीशको नियुक्ति सिफारिस विवादमा परेको छ ।
स्रोत:अन्नपूर्ण पोस्ट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !