१२ बैशाख २०८१, बुधबार

भारतका लागि उपाध्याय, चीनका लागि पौडेल राजदूत सिफारिस


lilamani-paudel-and-deepkumar-uppdhya

काठमाडौँ : सरकारले भारत र चीनका लागि राजदूत सिफारिश गरेको छ। मन्त्रिपरिषद्को आजको बैठकले भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि लीलामणि पौड्याललाई सिफारिश गरेको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले बताए।

उपाध्याय यसअघि पनि भारतका राजदूत रहेकोमा केपी ओली सरकारले उनलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

पौड्याल पूर्व मुख्य सचिव हुन्। उनी यसअघि ल्हासामा महावाणिज्यदूत पनि थिए। ओली सरकारले चीनमा महेन्द्रबहादुर पाण्डेलाई राजदूत सिफारिश गरेको भए पनि वर्तमान सरकारले नाम फिर्ता लिएको थियो।

दुई देशका मात्र राजदूत सिफारिश गरिएको विषयमा प्रवक्ता कार्कीले भने, निकट भविष्यमा प्रधानमन्त्रीको भारत भ्रमण हुन लागेको छ। चीन र भारतका राष्ट्रपतिको पनि नेपाल भ्रमण हुँदैछ। त्यसकारण नेपालको राजदूत हुन जरुरी भएकोले सिफारिश गरिएको हो।

त्यसैगरी मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ। उनी नेपाल राष्ट्र बैँकका कार्यकारी निर्देशक हुन्।

त्यस्तै प्रधानमन्त्रीका आर्थिक सल्लाहकारमा डा. श्रीराम पौडेल, परराष्ट्र सल्लाहकारमा डा. ऋषि अधिकारी नियुक्त भएका छन्।
बैठकले प्रतिनिधि सभा, प्रदेश सभा र राष्ट्रिय सभा निर्वाचनका लागि विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !