८ बैशाख २०८१, शनिबार

सात बुँदे सहमतिमा १३ र ८ लिने भनिय पनि, कसरी पायो कांग्रेसले १४ मन्त्रालय ?


congress

काठमाडौं : सात बुँदे सहमति हुँदा नै कांग्रेसले १३ र माओवादी केन्द्रले आठ मन्त्रालय पाउने सहमति भएको थियो। त्यही आधारमा माओवादी केन्द्रले आफ्नो नेतृत्वको सरकारमा आठ मन्त्रीको नियुक्ति गरिसकेको छ।

कांग्रेसले १३ मन्त्रालय पाउने भएपछि देउवा पक्षले बैठक बसेर सकेसम्म पौडेल पक्षलाई तीन मन्त्रालय मात्र दिने तयारी थाल्यो। नमानेको खण्डमा चार तथा कृष्णप्रसाद सिटौला पक्ष र खुमबहादुर खड्कालाई एकएक मन्त्रालय दिएर सात मन्त्रालय आफूले राख्ने देउवाको योजना थियो।

पौडेलसँग देउवाले तीन मन्त्रीको नाम मागे। तर पौडेलले आफ्नो पक्षलाई १३ मध्ये छ मन्त्रालय दिनुपर्ने अडान कसे। तीनबाट चारसम्म पुग्ने तयारीमा रहेका देउवाले सुरुमा तीनको सर्त राखेका थिए। उता पौडेले भने पहिले छ मन्त्रालयको दाबी गर्दै बार्गेनिङमा पाँचसम्म झर्ने तयारीमा रहे।

नेपाल विद्यार्थी संघको अधिवेशन भएपछि नेताहरु त्यसमै आ-आफ्नो वर्चस्व स्थापित गर्न लागे। सरकारमा मन्त्रीहरु पठाउने विषय ओझेलमा पर्‍यो।

यही बेला प्रधानमन्त्रीको विशेष दूतका रुपमा उपप्रधानमन्त्री विमलेन्द्र निधि भारत भ्रमणमा गए। उनी फर्किएपछि मात्र मन्त्रीहरुको टुंगो लगाउने र त्यसपछि मात्र सिफारिस गर्ने तयारीमा थिए देउवा। सोमबार भारत भ्रमण सकेर फर्कने कार्यसूची रहेका निधिको राजनीतिक भेटघाट लम्बिएपछि उनी फर्किने मिति एकदिन पर सर्‍यो। उनी मंगलबार मात्र स्वदेश फर्किएका छन्।

भारतीय कांग्रेसका वरिष्ठ नेता करण सिंह नेपाली दूतावासमै आएर भेटेको, भारतीय कांग्रेसका नेता राहुल गान्धीले होटलमै पुगेर भेटेको र अन्य नेताहरुले पनि महत्वका साथ आफूलाई सम्मान दिएको भन्दै उनले नेपालसँगको सम्बन्धमा सुधार आएको संसदीय समितिमा ब्रिफिङ गरे। उनले भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पनि नेपालको संविधान दिवसको समारोहमा सहभागी हुने गरी नेपाल आउने आश्वासन दिएको जानकारी गराए।

त्यसलगत्तै सुरु भयो कांग्रेसमा मन्त्री छनोटको कसरत। देउवा पक्षले आफ्नो भागमा परेका संख्यामा मन्त्रालयको जिम्मेवारी सहितका मन्त्रीहरु सिफारिस गर्ने गरी तयारी थाल्यो।

तर पौडेल पक्ष विगतमा आफूले छ मन्त्रालयको दाबी गरे पनि पाँच मन्त्रालयको अडानबाट टसमस भएन। त्यसमा देउवा पक्ष सहमत भए मात्र मन्त्री छान्ने तयारीमा लाग्यो पौडेल पक्ष। देउवाले चार मन्त्री मात्र बनाउन सक्ने भन्दै त्यति नै संख्यामा नाम सिफारिस गर्न आग्रह गरे।

पौडेल पक्षको छुट्टै भेला पौडेल निवास बोहोराटारमा बस्यो। भेलाले पाँच मन्त्रालय नपाए सरकारमा नजाने भन्दै एक पटक आफू पक्षीय सांसदहरुसँग पनि परामर्श गर्ने निर्णय गर्‍यो।

बुधबार बिहान केन्द्रीय सदस्यहरुको भेला गरेको पौडेल समूहले दिउँसो सांसदहरुको पनि भेला गरेर देउवालाई पाँच मन्त्रालय नपाए सकारमा सहभागी नहुने सन्देश पठायो।

देउवाले साँझ वार्ताका लागि बोलाए आफ्नै निवास बुढानिलकण्ठमा। पौडेलसहित प्रकाशमान सिंह, बलबहादुर केसी, मिनेन्द्र रिजाल लगायतका नेता त्यहाँ सहभागी थिए। उनले प्रष्टसँग भने, ‘तपाईं ५० प्रतिशत हिस्सा दाबी गरेर ४० प्रतिशत लिनुहुन्थ्यो। अहिले हामीलाई अपमानित गर्न खोज्दै हुनुहुन्छ। त्यस अवस्थामा हामी सरकारमा जाँदैनौ तपाईंका मान्छेहरु मात्र सरकारमा पठाउनुहोस्।’

देउवाले उनलाई ‘तपाईं त भागबण्डाको विरोधी हो नि’ भन्दै उक्साउने र व्यङग्य गर्ने प्रयास गरे।

देउवाले ‘तपाईं त भागबण्डाको राजनीति अन्त्य गर्नुपर्छ भन्ने मान्छे। यसरी दाबी गर्न सुहाउँदैन’ भनेपछि पौडेल ‘त्यसो भए तपाईंका मान्छे मात्र सिफारिस गर्नुस्। म दाबी नै गर्दिनँ’ भन्दै झोँक्किए।

त्यसपछि देउवाले ‘सबैलाई मिलाउन मलाई पनि गाह्रो छ। तपाईं चार मन्त्रालय लिएर सरकारमा जाने मन्त्री सिफारिस गरिदिनुस्’ भन्दै आग्रह गरे। तर पौडेलले मानेनन्।

त्यसपछि देउवा पौडेललाई मनाउनेभन्दा पनि अर्को विकल्पतर्फ लागे। देउवाले आफू निकटका नेता तथा कांग्रेसको तर्फबाट सरकारको नेतृत्व गरिरहेका विमलेन्द्र निधिसँग परामर्शमा लागे। निधिले देउवालाई पौडेललाई पाँच मन्त्रालय दिनैपर्ने अवस्थामा एक मन्त्रालय थप गर्नुपर्ने र त्यका लागि आफूले पहल गर्ने बताए।

बिहानै निधि प्रधानमन्त्रीसँग कुरा गर्न बालुवाटारमा पुगे। उनले कांग्रेसमा कुरा नमिल्दा कांग्रेसको मात्र होइन सरकारबारे पनि सकारात्मक सन्देश नजाने भन्दै एक मन्त्रालय कांग्रेसलाई थप आवश्यक हुने बताए। सुरुमा सबैलाई मिलाउन गाह्रो हुने भन्दै असहमत भएका प्रधानमन्त्री प्रचण्डलाई उनले सहमत गराएरै छाडे।

त्यसपछि देउवा निवास पुगेर पौडेललाई पाँच मन्त्रालय नै लिएर सरकारमा सहभागी हुन आग्रह गर्दै मन्त्रीहरुको नाम सिफारिसका लागि आग्रह गरे। ‘हामीले उहाँहरु कुनै पनि हिसाबले सहमत नभएपछि पाँच मन्त्रालय दिएर सहमति गरौं भनेका छौ,’ देउवा पक्षीय केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले भने, ‘तर उहाँहरुले फेरि पनि सहमति जनाउनुको साटो थप छलफल आवश्यक भन्नुभएको छ।’ उनले पौडेलकै कारण कांग्रेसले एक मन्त्रालय थप्न प्रधानमन्त्रीसँग वार्ता गर्नुपरेको बताए।

निधिले यसरी मिलाए
डा. महतका अनुसार आज बिहान निधिले प्रधानमन्त्रीसँग भेटवार्ता गरी कुरा मिलाएका थिए। ‘बिहान निधिजीले वार्ता गरेर मिलाउनुभएको थियो,’ उनले भने, ‘मन्त्रालयहरु विगतमा पाउने भनेर सहमति भएकै हुन्। त्यसमा एउटा थप मन्त्रालय हामीले लिनेछौं।’

यता पौडेल पक्षका नेता बलबहादुर केसीले पाँच मन्त्रालय दिने सहमति भएसँगै मन्त्रीहरुको विवाद मिलेको भन्दै मन्त्रालयका लागि थप छलफल आवश्यक भएको बताए। ‘पार्टीभित्र मन्त्रीहरुको बाँडफाँट मिलेको छ,’ केसील भने, ‘तर अब कांग्रेसले पाउने मन्त्रालय र त्यमा कसले कुन जिम्मेवारी पाउने भन्ने विषय टुंग्याउन थप छलफल गर्नेछौं।’ उनले त्यसका लागि आफ्नो टिम र देउवा समूहसँग थप छलफलपछि विषय टुंगिने जानकारी दिए।

सभापति देउवाले भने आज मन्त्रीहरुको नाम सिफारिस गरेर भोलि सपथका लागि आग्रह गर्ने तयारी गरेका छन्। ‘आज साँझसम्म मन्त्रीहरुको नम सिफारिस गर्ने र भोलि ती मन्त्रीहरुको सपथ हुने गरी सभापतिजीले तयारी गर्नुभएको छ,’ महतले भने। फाइल फोटो : रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !